Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

अनसनको तयारीमा रहेका अस्थायी शिक्षक प्रहरी हिरासतमा

विहीबार, २१ चैत्र २०७५

काठमाडौं - अस्थायी शिक्षकको आन्तरिक प्रतिस्पर्धामा छुटाएको भन्दै आन्दोलनरत छुट अस्थायी शिक्षकलाई प्रहरीले फक्रेको छ । उक्त प्रकृयामा आफूहरुलाई छुटाएको विरोधमा बिहीबारबाट २४ घण्टे रिले अनसन शुरु गर्ने तयारीमा रहेका शिक्षकलाई प्रहरीले माईतीघर मण्डलाबाट पक्राउ गरेको हो । 

दिउँसो १ बजेबाट उनीहरुले औपचारिक रुपमा अनसन बस्ने तय गरेका थिए । तर त्यस अघि नै प्रहरीले विहान साढे १० बजे तिरै पक्रेर अनामनगर वृत्तमा राखेको संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले जानकारी दिए । 

'हामी कार्यक्रमको तयारी गर्दै थियौं, साथीहरु जम्मा हुने क्रम शुरु हुँदै थियो, अकस्मात प्रहरीले हामीलाई भ्यानमा कोचेर अनामनगर ल्याएको छ' प्रहरी हिरासतबाटै टेलिफोनमा उनले भने, 'यस अघि नै हामीलाई शिक्षा मन्त्रालयले  विभेद गरेको थियो, अब त प्रहरी प्रशासन लगाएरै धरपकडमा उत्रिएको छ, राज्यको धरपकडप्रति हाम्रो आपत्ति छ ।' 

आफू सहित १२ जनालाई प्रहरीले हिरासतमा राखेको उनले बताए । 

शिक्षा ऐनको आठौं संशोधनमा गरिएको ब्यवस्था अनुसार २०७२ असोज २ गते पछि नियुक्त अस्थायी शिक्षक प्रतिस्पर्धामा सहभागी हुन सक्दैनन् । तर उक्त व्यवस्थाले आफूहरुलाई मर्का परेको भन्दै एउटा समूहले संघर्ष समिति बनाएर विरोध गर्दै आएको छ । 

ऐनको व्यवस्था अनुसार शिक्षक सेवा आयोगले गत असारमा लिएको परीक्षाका सबै प्रकृया पुरा गरेर पास भएका १४ हजार अस्थायी शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरिसकेको छ । 

प्रतिक्रिया