शिक्षकको पेशागत विकास : जापानिज प्रविधि


नेपाल सरकारले बर्षेनी करोडौ रकम शिक्षकहरुको पेशागत विकासका लागि  खर्च गर्दै आइरहेको छ, तर त्यसको उपलब्धी लगानीको अनुपातमा निकै कम रहेको छ । विद्यार्थी उपलब्धीको राष्ट्रिय परीक्षणका नतिजाहरुले प्रत्येक बर्ष विद्यार्थीको सिकाइ स्तर खस्कदै गएको कुरा पुष्टि गर्दछ । शिक्षकको पेशागत विकास मार्फत शिक्षण सिकाइमा सुधार ल्याई विद्यार्थीको सिकाइ उपलब्धी वृद्धि गर्ने उद्देश्यले  शिक्षकको पेसागत विकास र तालिमको खर्चमा वृद्धि गरिएको होला । तर हामीले शिक्षकको पेसागत विकास गर्नका लागि भनेर सञ्चालन गर्ने तालिमलाई शिक्षकले त्यसरी नै बुझेको जस्तो देखिदैन । 
 
शिक्षक तालिमका सन्दर्भमा मेरो अनुभव - हामी शिक्षकहरुलाई तालिममा बोलाउँछौ र आउनुहुन्छ पनि । तालिम अबधि भर बस्नुहुन्छ र तालिममा गराउने क्रियाकलापमा सहभागीता पनि जनाउनुहुन्छ । तालिमको समापन सत्रमा सहभागीहरुको प्रतिनिधित्व गरी तालिमको समिक्षा सहित मन्तव्य दिँदा तालिम असाध्यै राम्रो भयो, तालिम त यस्तो पो हुनुपर्छ, प्रशिक्षकहरुले असाध्य राम्रो गरी सहजिकरण गर्नु भयो,यहाँ सिकेका ज्ञानका कुराहरुलाई कक्षाकोठा सम्म पुर्याउन प्रतिवद्ध छौं भन्नुहुन्छ । तर कक्षाकोठाका अभ्यास र प्रति बर्ष विद्यार्थीहरुको सिकाइ उपलब्धीलाई हेर्ने हो भने उहाँहरुले तालिम केन्द्रमा गरेको प्रतिबद्धता बोलीमा मात्र सीमित रहेको जस्तो देखिन्छ । अनि सरकारी लगानी बालुवामा पानि हाले जस्तै भइरहेको छ ।
 
मेरो विचारमा शिक्षक तालिमलाई दुई आयामबाट हेर्नु पर्ने हुन्छ । पहिलो तालिमको आवश्यकता र गुणस्तर र दोस्रो शिक्षकको पेशागत इमान्दारीता । तालिमका विषयवस्तुहरु शिक्षकहरुको मागमा आधारित हुनु पर्नेमा सो अनुरुप भए नभएको मूल्याङ्कन गरिनुपर्छ । शिक्षकका माग अनुरुपको विषयवस्तु र तालिममा गुणस्तर कायम गर्न नसकेमा हाम्रा तालिम केन्द्रहरुखाजा खाएर गफ गर्ने थलोको रुपमा परिणत हुने कुरा निश्चित नै छ र केही हदसम्म भइरहेका पनि छन् । शिक्षकको पेशागत इमान्दारीताको कुरा गर्दा सबैले आ आफ्नो जिम्मेवारी बहन गर्दा कुनै ठूलो विषय हैन तर त्यसो नहुँदा यो निकै गम्भिर मुद्दाको रुपमा रहेको छ । यी दुवै विषयमा के गर्दा सुधार गर्न सकिन्छ यो अनुसन्धानको विषय बन्ला ।
 
२१ औ शताब्दीको सिकाइ अनुसन्धानमा आधारित हुनु पर्ने मान्यता रहि आएको छ । शिक्षकहरुको पेशागत विकासका लागि गरिने कार्यक्रम पनि अनुसन्धानमुलक हुन पर्दछ । त्यही मान्यतालाई आत्मसाथ गर्दै शिक्षकको तालिम अनुसन्धानमा आधारित रहेर गर्ने एउटा प्रविधि Lesson Studyहुन सक्दछ । उन्नाइसौ शताब्दीको अन्ततिरजापानमा प्राथमिक तहको शिक्षण सुधारका लागि प्रयोग गरिएको Lesson Study लाई अहिले सम्म पनि निकै महत्वका साथ निरन्तरता दिइएको छ । जापानमा अहिले शिक्षकको पेशागत विकासका लागि Lesson study लाई मूख्य रणनीतिका रुपमा लिदै विद्यालय स्तर वा नगर स्तर वा क्षेत्रीय स्तरमा समेत आयोजना गरिदो रहेछ । हाल जापानको सहयोगमा विभिन्न देशले यसलाई शिक्षकको निरन्तर पेशागत विकासका लागि उत्तम विकल्पको रूपमा प्रयोग गर्दै आएको पनि पाइन्छ । यसलाई अनुसन्धान पाठ (research lesson) समेत भन्ने गरिन्छ । 
 
के हो त Lesson study ?
 
Lesson Study शिक्षण सिकाइमा प्रभावकारीता ल्याउने एउटा प्रविधि हो । जापानिज भाषाको Jugyo Kenkyu बाट आएको Lesson study मा शिक्षण सुधारमा प्रतिवद्ध शिक्षकहरुको सानो समुहले सहकार्यमा आधारित भइ कार्यको शुरुवात गर्दछन् । यसमा शिक्षकहरुले शिक्षण समस्या सम्बन्धी विषयमा छलफल गरी सिकाइ उद्देश्यको निर्धारण देखि शिक्षण योजनाको निर्माण, वास्तविक कक्षा शिक्षण, शिक्षण योजनाको प्रभावकारीता मुल्याङ्कन र पुर्नयोजना सम्मको काम समुहमा गर्छन । यसले शिक्षकको शिक्षण कौशलतामा वृद्धि भई शिक्षण सिकाइमाप्रभावकारीता आई विद्यार्थीहरुको सिकाइ उपलब्धी बढाउन सहयोग गर्दछ ।
 
प्रतिबद्ध शिक्षकहरूको सानो समूह (३ देखि ६ जना सम्म उपयुक्त मानिन्छ) ले आफ्नो शिक्षण सिकाइ प्रक्रियामा परिवर्तन ल्याइ प्रभावकारी कक्षाकोठा शिक्षणका लागि Lesson study को अभ्यास गर्छन । सर्वप्रथम शिक्षकहरूले समूहमा छलफल गरी शिक्षण योजनाको निर्माण गर्दछन् । शिक्षण योजनाको निर्माण पश्चात वास्तविक कक्षाकोठामा गई शिक्षण गर्दछन् । समूहका एक सदस्यले शिक्षण गर्दछन् भने अन्य सदस्यहरूले सूक्ष्म रूपमा अवलोकन गर्दछन् । अवलोकन गर्दा समूहमा निर्माण गरिएको शिक्षण योजनाले कक्षाकोठामा कसरी काम गरिरहेको छ, विद्यार्थीहरूले कसरी सिकिरहेका छन् वा कसरी सिक्दा रहेछन् भनी सूक्ष्म रूपमा हेरिन्छ । कक्षा शिक्षण पश्चात पहिलेको जस्तै समूहमा बसी शिक्षण योजनाको प्रभावकारीता बारेमा सूक्ष्म विश्लेषण गरिन्छ । 
यस प्रक्रियामा पढाउने शिक्षकको स्वःप्रतिविम्वन (Self- Reflection), समूहको पृष्ठपोषण (Team Feedback) र विद्यार्थीको पृष्ठपोषण (Student Feedback)लिइन्छ । यसलाई गहन छलफल सेसन(Debriefing Session)भनिन्छ । कक्षा शिक्षणमा देखिएका कमजोरीहरूलाई सुधार गरी माझिएको तथा सुधारिएको शिक्षण योजना तयार गरी पुनः शिक्षण गरिन्छ । यो प्रक्रिया चक्रिय रुपमा हुन्छ र पहिलेको जस्तै एक सदस्यले कक्षा कोठामा शिक्षण गर्दछन् भने अन्य सदस्यहरूले अवलोकन कर्ताको भूमिका निर्वाह गर्दछन् । कक्षा शिक्षणको समाप्ती पश्चात् पहिलेको जस्तै गहन छलफल सेसन सञ्चालन गरिन्छ । शिक्षणका क्रममा भए गरेका कमजोरीहरू हटाई उत्कृष्ट खालको अर्थात निखारिएको शिक्षण सिकाइ क्रियाकलाप वा शिक्षण कौशल वा शिक्षण रणनीति पत्ता लगाइन्छ । समूहका सबै सदस्यहरूले आफुले शिक्षण गर्ने विद्यालयहरूमा यसै विधिअनुसार शिक्षण गर्दछन् भने यस कार्यमा सहभागी नभएका शिक्षकहरूले पनि यस कार्यको नतिजाबाट फाइदा लिन सक्दछन् । 
 
सुक्ष्म शिक्षण र Lesson Study बीच तुलना
 
झट्ट हेर्दा सुक्ष्म शिक्षण जस्तै देखिए पनि Lesson study र सुक्ष्म शिक्षणमा बीच फरक रहेको छ । सुक्ष्म शिक्षणको उद्देश्यकुनै विधि वा विषयवस्तुको अभ्यास गर्नु रहेको हुन्छ भने Lesson study को उद्देश्य वास्तविक कक्षा शिक्षणमा सुधार गर्नु रहेको हुन्छ । तालिम केन्द्र वा विश्वविद्यालयमा सहकर्मीहरुलाई विद्यार्थी मानेर (simulation) सुक्ष्म शिक्षण गरिन्छ भने Lesson study मावास्तविक कक्षाकोठामा नै शिक्षण गरिन्छ । सुक्ष्म शिक्षणको अभ्यासकर्ता शिक्षकतयारी कोर्षका सहभागी हुन र  सुक्ष्म शिक्षणलाई तालिमको एक अङ्गको रुपमा प्रयोग पनि गरिन्छ भने Lesson study लाई नियमित कार्यतालिकाको रुपमा विद्यालयमा अभ्यास गर्न सकिन्छ । सुक्ष्म शिक्षणमा अभ्यासकर्ताका कमजोरी औल्याएर पृष्ठपोषण दिने गरिन्छ भने Lesson study मा अभ्यासकर्ताको कमजोरी भन्दा पनि शिक्षण योजनाले कसरी कार्य गरिरहेको छ विद्यार्थीहरुले कसरी सिकिरहेका छन् शिक्षकको कुन क्रियाकलापमा विद्यार्थीहरुले कस्तो प्रतिक्रिया दिइरहेका छन् भनि सुक्ष्म विश्लेषण गरी पृष्ठपोषण दिइन्छ ।अझ भन्नु पर्दा Lesson study मा अभ्यासकर्ताको मूल्याङ्कन भन्दा पनि शिक्षण योजना र यस अनुरुपका क्रियाकलापको मूल्याङ्कन गरिन्छ ।
 
कार्यमूलक अनुसन्धान र Lesson study बीच तुलना 
 
कार्यमूलक अनुसन्धान र Lesson study बिच धेरै समानता पाइन्छ । दुवै कार्य वास्तविक कक्षाकोठा भित्र गरिन्छ । दुवैको अभ्यासकर्ता शिक्षक नै हुन् । कार्यमूलक अनुसन्धान र Lesson studyदुवैचक्रीय हुन्छन् । कार्यमूलक अनुसन्धानमा योजना (Plan), कार्यान्वयन (Act), अवलोकन (Observation) र प्रतिविम्बन (Reflection) गरी चारचरण हुन्छ भने Lesson study मा योजना (Plan), कार्य(Do), हेर्नु (See) गरी तिन चरण हुन्छ । तर मुख्य फरक भनेको कार्यमूलक अनुसन्धान उत्पादनमुखी(Product Oriented)हुन्छ भने Lesson studyप्रक्रियामुखी(Process Oriented)हुन्छ । जस्तै
 
१. १० –७= ? कार्यमूलक अनुसन्धान
 
२.  ? - ? = ३ Lesson study
 
पहिलो उदाहरणमा विद्यार्थीले १० बाट ७ घटाउँदा कति हुन्छ भन्ने जानेन भने कपीमा १० वटा धर्का तानेर ७ वटा काट्ने हो वा १० वटा ढुङ्गाका टुक्रा वा अनाजका दाना ल्याएर त्यसबाट ७ वटा हटाउने हो देखाई सिकाइन्छ । जसरी हुन्छ १० बाट ७ घटाउन सिकाइन्छ । दोस्रो उदाहरणमा विद्यार्थीलाई घटाउ प्रक्रिया सिकाइन्छ । घटाउ भनेको हटाउने हो भन्ने धारणा दिइसकेपछि विद्यार्थी आफैले१० बाट ७ मात्र हैन अरू घटाउ सम्बन्धी समस्या हल गर्न सक्षम हुन्छन् । कार्यमूलक अनुसन्धान कुनै एउटा समस्यामा केन्द्रित भई गरिन्छ भने Lesson study प्रक्रियामा केन्द्रित हुन्छ । प्रक्रिया सबै जानेको छ भने समाधान गर्न कठिनाइ हुँदैन तर एउटा समस्याको समाधान मात्र जानेमा अन्य समस्या सजिलै गर्न सकिन्छ भन्ने अवस्था नहुन सक्छ ।
 
नेपालको सन्दर्भमा Lesson Study  
 
शैक्षिक तालिम केन्द्र सुनसरीमा रहँदा यसको अभ्यास शिक्षकको पेशागत तालिममा गरिएको थियो । तत्पश्चात शिक्षकको पेशागत विकास तालिम अन्तर्गत माध्यमिक तहको गणित विषयको पहिलो चरणको तालिम सामग्री निर्माण गर्ने क्रममा Lesson Study लाई परियोजना कार्यको रुपमा स्वीकार गरिएको थियो  । यस विषयको प्रशिक्षक प्रशिक्षणका क्रममा विभिन्न तालिम केन्द्रका विशेषज्ञहरुलाई यसको प्रयोगात्मक अभ्यासमा समेत सहभागिता गराइएको थियो भने कार्यान्वयन के कति भयो अनुसन्धानको विषय होला । Lesson Study बाट गरिएको कार्यलाई शिक्षकको वृत्ती विकासमा जोड्न सकेमा शिक्षकहरुले अपनत्व महशुस गर्दछन् । शिक्षक तालिम केन्द्र वा नगरपालिका / गाउँपालिकाका विज्ञहरुको उपस्थिती तथा सहयोगमा यस्ता कार्यलाई अगाडी बढाउन सकिन्छ । यस कार्यले शिक्षाका अधिकारी तथा विज्ञहरुको विद्यालय अनुगमन तथा निरीक्षणको मात्रा बढ्न गई अनुगमन प्रभावकारी बनाउन सकिन्छ । 
 
Lesson Study को महत्व नेपालको सन्दर्भमा देहायका बुँदाहरुबाट स्पष्ट पार्न सकिन्छ ।
 
- समुह कार्यबाट उत्तम शिक्षण विधि र रणनीतिको पहिचान गरी कक्षाकोठा शिक्षणमा सुधार गर्न सकिने भएकाले विद्यार्थीको सिकाइमा गुणस्तर कायम गर्न सकिन्छ ।
 
- सानो समुहमा प्रतिवद्ध शिक्षकहरुबाट शुरु गर्न सकिने भएकाले प्राथमिक तहमा विद्यालय स्तरमा र कक्षा ६ – १० सम्म गाँउपालिका वा नगरपालिका वा हालको स्रोतकेन्द्र स्तरमा गर्न सकिन्छ ।
 
- समुहमा कार्य गरिने भएकाले शिक्षक तथा शिक्षाका विज्ञहरुमा आपसमा सहयोगात्मक भावनाको विकास भइ शिक्षकहरुमा उर्जा पैदा हुन्छ ।
 
- समुहका सबै सदस्यहरुको उत्तिकै जिम्मेवारी र उत्तरदायित्व हुनेभएकाले निःस्वार्थरुपमा सहकार्य भइ राम्रो संस्कृतिको विकास हुन्छ ।
 
- अनुसन्धानमा आधारीत क्रियाकलाप भएकाले विद्यार्थीहरुको सिकाइ समस्याहरु पत्ता लगाइ समाधान गर्न  सकिन्छ ।
 
- विद्यालयस्तरमा गर्न सकिने र सामान्य सामग्री बाहेक अरुमा खर्च नहुने हुँदा हालको तालिम सञ्चालनमा गरिएको खर्चमा भारी कटौती भइ राज्यको स्रोत साधनको वचत हुन्छ ।
 
- नियमितरुपमा विद्यालयस्तरमा नै गर्न सकिने हुँदा शिक्षकहरु तालिममा जाँदा विद्यार्थीहरुको अध्यापनमा देखिने समस्या न्युन हुन्छ । शिक्षण योजनाको निमार्ण विद्यालय समय भन्दा बाहेकको समयमा पनि गर्न सकिन्छ ।
 
- प्रतिवद्ध शिक्षकको सानो समुहबाट गरिने हुँदा शिक्षकहरु विद्यार्थीहरुको सिकाइ प्रति सधै क्रियाशिल र सचेत रहन्छन् । 
 
- २१ औ शताब्दीको तालिम अनुसन्धानमा आधारीत हुनु पर्ने मान्यता रहदै आएकाले यसको सान्दर्भिकता रहेको छ ।
 
निचोड :
 
सरकारी तथ्याङ्कहरु अनुसार सामुदायिक विद्यालयका शिक्षकहरुमध्ये ९५ प्रतिशत भन्दा बढी तालिम प्राप्त रहेको अवस्था छ । शिक्षकको पेशागत विकास तालिम वा कार्यमुलक अनुसन्धानको तालिम वा निरन्तर विद्यार्थी मुल्याङ्कन तालिम वा ICT तालिम वा व्यवस्थापन तालिम होस् जे जे नामका तालिम कार्यक्रम भए पनि त्यसमा सरकारी लगानी हुँदै आएको छ । विदेशी दाता हुन वा गैर सरकारी संस्थाहरु हुन् शिक्षकहरुको तालिमका लागि लगानी बढाइरहेको अवस्था छ तर उपलब्धी ? अब शिक्षक तालिमका लागि रकम माग गर्दा दाताहरुले एक पटक सोच्ने गर्छन् होला यतिको लगानीको तालिम कहाँ गएको छ ॽ
 
पेसाप्रति प्रतिबद्ध शिक्षकहरुको सानो समुहले आफ्नो शिक्षण सिकाइ प्रक्रियामा परिवर्तन ल्याइ प्रभावकारी कक्षाकोठा शिक्षणका लागि Lesson Study को अभ्यास गर्न सक्दछन् । समुहमा छलफल गरी शिक्षण योजना निमार्ण, वास्तविक कक्षाकोठामा शिक्षण र शिक्षण सिकाइका क्रममा भएका वा हुने गरेका कमजोरीहरुलाई हटाइ निखारिएको शिक्षण सिकाइ क्रियाकलाप निर्माण गरी सुधारीएको शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सहयोगी भएकाले Lesson Study ले शिक्षकको निरन्तर पेशागत विकासमा टेवा पुर्याउँछ भन्न सकिन्छ ।Lesson study बाट पेसागत विकास र त्यसको अभ्यासलाई शिक्षकको वृत्तिविकासमा जोड्न सकेमा शिक्षकहरुमा यस प्रति अपनत्व सृजना भइ विद्यार्थीहरुको सिकाइस्तरमा सुधार हुने निश्चित जस्तै छ । त्यसैले शिक्षकहरुले नै अपनत्व लिने र उनीहरु आफैले अभ्यास गरेर सिक्ने ढाँचाका पेसागत विकासका विधि अपनाउनु आवश्यक छ । विज्ञले राम्रो भनेर शिक्षकले स्वीकार नगरी लागू गरिएका व्यवस्था सिद्धान्तमा मात्र राम्रा भएका छन् । निरन्तर विद्यार्थी मूल्याङ्कन यस्तै भएको छ । अवको शिक्षक पेसागत विकासको ढाँचा अभ्यास/अनुसन्धानमा आधारित बनाउनु आवश्यक छ । 
 
- शिक्षा मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रका गणित प्रशिक्षक ढकाल, हाल जापानको नारुतो विश्वविद्यालयमा अध्ययनरत छन् ।