Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

खुला विश्वविद्यालयले आम सञ्चार पनि पढाउने, एनपीआई र विश्वविद्यालय बिच सहमती

सोमबार, १६ बैशाख २०७६

काठमाडौं - नेपाल खुला विश्वविद्यालयले आम सञ्चार विषयमा पठन पाठन गर्ने भएको छ । उक्त विषयको पठन पाठनमा नेपाल प्रेस इन्स्टिच्यूट (एनपीआई) ले सहयोग गर्ने गरी दुई संस्था बिच सहमती भएको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरियो । दुबै संस्थाका प्रतिनिधि सम्मिलित विषय समिति निर्माण गर्ने र कोर्ष तय गर्ने समेत सहमती भएको छ । 

'इन्स्टिच्यूटले विश्वविद्यालयको नियम र प्रकृयाको अधिनमा रही कोर्ष सञ्चालनमा सहयोग पुर्याउने छ' दुवै संस्थाका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, 'श्रोत व्यक्ति, प्रविधि तथा अन्य भौतिक पूर्वाधारहरु इन्स्टिच्यूटले उपलब्ध गराउने छ ।' 

विश्वविद्यालयका उपकुलपतिको संयोजकत्वमा विश्वविद्यालय र इन्स्टिच्यूटबाट तीन तीन जना रहने संयुक्त संयोजन समिति गठन गर्ने दुई संस्थाबिच सहमती भएको छ । इन्स्टिच्यूटले हासिल गरेको आम सञ्चार सम्बन्धि ब्यवहारिक ज्ञानको संयोजन गरी यस विधामका दक्ष जनशक्ति तयार पार्ने उद्धेश्यले सहमती गरिएको जनाईएको छ । 

पत्रकारिता तथा आम सञ्चार संकायबाट उच्च माध्यमिक शिक्षा पुरा गरेकाले स्नातक र सोही संकायमा स्नातक गरेकाले स्नातकोत्तरमा भर्ना हुन पाउने छन् । अन्य विषय पढेकाहरुको हकमा पूर्व तयारी कोर्ष पुरा गरे पछि मात्रै भर्ना हुन सकिने छ । उक्त पूर्व तयारी कोर्ष र पढाईको शुल्कका बारेमा चाँडै नै निर्णय गरिने बताईएको छ । 

आगामी असोज भित्र पहिलो सेमेष्टरको अध्ययन प्रारम्भ गर्ने गरी काम शुरु भएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माले जानकारी दिए । 

विविध कारणले पढाई छुटेका व्यक्तिहरुलाई लक्षित गरी नयाँ कोर्ष पठन पाठन गर्न लागिएको इन्स्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीले बताए ।

'हामीले धेरै पहिले देखि विभिन्न तालिम दिदैं आएका थियौं त्यसलाई शैक्षिक रुपमा पनि विस्तार गर्न खोजिएको हो' उनले भने, 'बिचमै पढाई छुटेका, काम गर्दै गरेका र पत्रकार हुन चाहने तीनै थरीलाई यो कोर्ष उपयोगी हुने छ ।'

ईण्टरनेटका माध्यामबाट घरमै वा आफूलाई पयाक पर्ने ठाउँमै बसेर पनि पढ्न सकिने गरी खुला विश्वविद्यालयले कक्षा सञ्चालन गरिरहेको छ । अहिले सम्म विभिन्न १६ विषयमा विभिन्न कार्यक्रमका कक्षा सञ्चालन भईरहेको शर्माले बताए । विश्वविद्यालयका सामाजिक शास्त्र तथा शिक्षा संकायका डीन प्रा.डा. रामचन्द्र पौडेलले हरेक दिन बेलुकी ६ देखि ९  वा ७ देखि १० बजे सम्म कक्षा सञ्चालन भईरहेको  बताउँदैं विश्ववद्यालयले सञ्चालन गर्ने कक्षाको बारेमा विस्तृत जानकारी दिए ।

२०४१ सालमा स्थापना भएको इन्स्टिच्यूटले १० महिने, ३ महिने सहित छोटा अवधिका पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ । विश्वविद्यालयमा पत्रकारिताको औपचारिक पठन पाठन नहुने समयमा इन्स्टिच्यूटका तालिम निकै प्रभावकारी मानिन्थ्यो । अहिले सम्म १० महिने तालिमबाट ३५ ब्याज तयार भईसकेका छन् । 

प्रतिक्रिया