जनप्रतिनिधिलाई पत्र : विद्यालयमा सिसिटिभि र विद्युतीय हाँजिरी कि प्रभावकारी सिकाइ !


देशभरका पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य सबै जनप्रतिनिधि ज्यू,
हार्दिक नमस्कार ! 

शैक्षिक गुणस्तर सुधारको अभियानको थालनी गर्नु भएकोमा सबै प्रति आभारी छु । तर तपाईंहरुले शुरु गरेको सुधारका प्रयास बारेका समाचार पढ्दा मेरो मनमा के के प्रश्न उठिरहन्छन् !

शैक्षिक गुणस्तर सुधारका लागि सिसीटिभि राखेको समाचार पढ्छु र एक छिन घोत्लन्छु यो सिसिटिभि र गुणस्तरको के साइनो रहेछ ? अर्को समाचार आउँछ विद्युतीय हाँजिरी ! रजिष्टरको हाँजिरले गुणस्तर ल्याएन र यो विद्युतीय आएछ कि क्या हो ? मेरो ज्ञानले भेट्दैन ! यो कुरा पर्गेल्न मेरो बुद्धिले भ्याएकै छैन ! 

तपाईंहरु त पक्कै पनि यसले गुणस्तर बढाउँछ भन्नेमा ढुक्क भएरै गर्नुभएको होला । मैले यहाँ तपाईंहरुले गर्नुभएका केही प्रयासहरुको समीक्षा गरेको छु । मेरो आफ्नो बुझाइ अनुसारको धारणा पनि लेखेको छु ।

मैले तपाईंहरुका प्रयास गलत छन् भन्ने प्रमाणित गर्न खोजेको कदापी हैन । शैक्षिक गुणस्तर सुधारको गन्तव्यका लागि हिड्ने बाटो अप्ठ्यारो भयो कि भन्न मात्र खोजेको हुँ ।  

अर्को समाचार पढ्छु – शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सबै विद्यालयमा अङ्ग्रेजी माध्यम ! म त झनै अलमल । कति अल्पज्ञानी भएछु, केही नबुझ्ने ? विश्वविद्यालयको डिग्री कसरी पाएँ ? दिक्षान्तमा कालो कोटमा छत्तरे टोपी लगाएर खिचेको फोटोले भित्ताबाट जिस्काए जस्तो मान्छु । फेरी घोत्लिन्छु, कसैलाई सोधुँ कि ? सोध्नै डर लाग्छ, गँवारै पो भइन्छ कि ! आफैलाई प्रश्न गर्छु, विगत सम्झिने प्रयास गर्छु ।

कहाँबाट कसले ल्याइदियो यो अङ्ग्रेजीको भूत ? हुन त मलाई पनि कहिलेकाँही लाग्छ अङ्ग्रेजी अलि जान्न पाए हुन्थ्यो । तपाईंहरुलाई पनि  पक्कै लाग्छ होला । मलाई के मात्र थाहा छ भने यो संसारका थुप्रै देशहरु समृद्ध र विकसित छन् तर उनीहरु अङ्ग्रेजी जानेर वा पढेर मात्र भएका होइनन् । 

अङ्ग्रेजी आजको हाम्रो सामाजिक चाहना मात्र भएन, सत्ताको बागडोर चलाउनेहरुको पनि भयो । मन्त्रीले अङ्ग्रेजीमा भाषण गर्न नजान्नुलाई आफ्नो कमजोरी सम्झिए, दोभाषेको बारेमा सोचेनन् । कुनै बेला शिक्षा मन्त्रालयको कमाण्ड सम्हालेका मन्त्रीज्यूहरुले नै देशभरका सामुदायिक विद्यालय अङ्ग्रेजीमय बनाइदिने घोषणा गरिदिए । मन्त्रीज्यूको घोषणालाई विद्यालयका प्रधानाध्यापकले त मान्नै पर्यो । 

व्यवस्थापन समितिका पदाधिकारीलाई पनि नयाँ के गर्ने त ? अङ्ग्रेजी माध्यम । अङ्ग्रेजी भाषालाई माध्यम किन बनाइएको छ, मलाई थाहा छैन । किन विद्यालयहरूमा नेपाली बोल्न प्रतिबन्ध लगाइन्छ, त्यो पनि मलाई थाहा छैन । नेपाली बोल्न प्रतिबन्ध लगाएका विद्यालय निर्वाध कसरी चलेका छन् ? अमेरिका र अष्ट्रेलियाका फुटबल क्लबका नाम राखेर स्कुलकले अनुमति कसरी पाए, धेरै बुझ्न सक्दिन । मेरो मनमा मात्र आउँछ, तपाईंहरुलाई कसले भन्यो अङ्ग्रेजी माध्यम गुणस्तर हो भनेर ? मलाई थाहा छैन ? सबै मलाई थाहा हुनैपर्छ भन्ने पनि भएन ? कुनै शिक्षाविद्ले भन्नु भयो होला कि ! 

खै, जे होस्, माध्यम जे बनाउनुस् तर अङ्ग्रेजी माध्यमको पठन पाठनलाई गुणस्तर सुधारको उपाय नभनौं । अभिभावकका चाहना पूरा गर्न भनौँ ? कुनै बेलाका मन्त्रीका रहर पूरा गर्न भनौँ ? अङ्ग्रेजीमा गुणस्तर देख्नेहरुलाई देखाउनका लागि भनौँ । तपाईंहरुले हो कि समाचार बनाउने ले हो, त्यो पनि थाहा छैन मलाई, तर मैले यति भन्न सक्छु, गुणस्तर सुध्रने विग्रने माध्यमले होइन, कक्षा कोठाको क्रियाकलापले हो । शिक्षणको माध्यम गुणस्तर होइन, गुणस्तर त २ सय २० दिन विद्यालय आएको विद्यार्थीले के सिक्यो के जान्यो भन्ने पो हो त ! 

म जस्तो साधारणर सानो मान्छेले तपाईंहरुलाई सम्बोधन गरेर आग्रह गर्ने हैसियत राख्छु वा राख्दिन, त्यो गर्न मिल्छ वा मिल्दैन मलाई थाहा छैन । हुन त कानुनले थाहा नपाएर गरे पनि अपराधको छुट दिदैँन क्यारे, तै पनि मैले यो दुस्साहस गरि नै हाले । 

तपाईंहरुले विद्यालयमा विद्युतीय हाँजिरी राख्नुभयो । हाँजिरी रजिष्ट्रर फालिदिनु भयो । तपाईंहरुले नै भन्नु भएको हो कि समाचार लेख्नेले हो तर मैले पढ्दा गुणस्तर सुधारका लागि भन्ने पढे । विद्यालय समयमा नआउनेका लागि विद्युतीय हाँजिरले समयमै ल्याउला र गुणस्तर सुध्रेला ? यस्तै विश्वास गरेरै होला सरकारी कार्यालयमा विद्युतीय हाँजिरी शुरु भएको दुई चार वर्ष नै भयो क्यारे, तर खै सार्वजनिक सेवामा सुधार भएको छैन । यो त तपाईंहरुले पनि अनुभव गर्नुभएकै होला । अधिकांश मालपोत, नापी, प्रशासन कार्यालयमा विद्युतीय हाँजिरी छ तर जनताको सास्ती उस्तै त छ । शिक्षक समयमा विद्यालय आउनु जरुरी छ र पर्छ तर स्कुल आएर त्यो अङ्ग्रेजीमै थ्याङ्क यु भन्ने मेसिनमा औला थिचेर मात्र भएन । शिक्षकले पोखिनु पर्छ कक्षामा । औला थिचेर कुर्सिमा होइन, बस्नु र पस्नुपर्छ कक्षामा । औला थिचेर राजनीतिका चर्का वहसमा होइन, पाठ्यपुस्कका चिम्सा अङ्क र अक्षरमा होमिनु पर्छ शिक्षक । नेताका, मन्त्रीका, सचिवका, इकाइ प्रमुखका, नगर प्रमुखका गुण दोष केलाउन होइन, कक्षाका विद्यार्थीका कमजोरी र सक्षमता केलाउन खर्च हुनुपर्छ । अभिभावकका वास्तविक अवस्था पहिचान गर्नमा केन्द्रित हुनुपर्छ । 

समयमै विद्यालय जानु यान्त्रिक दायित्व हो भने समयमै कक्षा कोठामा जानु, सबै विद्यार्थीको अवस्थाका जानकारी लिनु, गृहकार्य दिनु, परीक्षण गर्नु, नजान्नेलाई सघाउनु, नगर्नेलाई गर्न उत्प्रेरीत गर्नु, नगर्नुको कारण पहिचान गर्नु, आफुले ४५ मिनेट घोटीएर पढाए पछि विद्यार्थीले नबुझ्दा आफ्नै शैली माथि प्रश्न गर्नु, कार्यालय कक्षमा कक्षाका कुरा गर्नु, बाटामा अभिभावकसँग विद्यार्थीको पढाइको कुरा गर्नु पेशागत दायित्व हुन । जब शिक्षकमा पेशागत दायित्व र इमान्दारिता भरिन्छ त्यस पछि विद्यालयमा विद्युतीय मात्र होइन कुनै पनि हाँजिरी नराखे पनि हुन्छ । पेशागत इमान्दारीता विकास नहुँदासम्म र विकास नर्गदासम्म गर्ने सिसिटिभिको जडान र विद्युतीय हाँजिरी यान्त्रिक मात्र हुन्, यसले हामीले चाहेको गुणस्तर ल्याउँदैन ।

आजको दिनको सामुदायिक विद्यालयको समस्या शिक्षक उपस्थिति होइन, उपस्थित भएर, कक्षामा गएर पनि विद्यार्थीलाई सिकाउन नसकेको हो । विद्यार्थीलाई सिकाउने काममा असफल भएको हो । यसका धेरै कारण होलान् । धेरै कथा व्यथा होलान् तर यदि शिक्षक साँच्चिकै सक्षम हुने हो भने र पेशागत इमान्दारीता हुने हो भने धेरै समस्या समाधान हुन्छन् र नेपाली उखान जस्तै अरु सबैको हजार चोट, शिक्षकको एक चोटमा सुधार हुन्छ । 

शिक्षकको गुणस्तर भन्दा शिक्षाको गुणस्तर माथि हुन सक्दैन भन्ने भनाईलाई आत्मसाथ गर्दै शिक्षकसँग हातेमालो, साझेदारी र सहकार्य नगरी सुधार त कठिन मात्र होइन, निकै कठिन छ । सुधार चाहिएको र सुधार गर्ने कर्ता एउटै देखिएको छैन । कर्ता एउटै होइन, शिक्षकले र प्रअले विद्यालयमा गर्ने सुधारले मात्र सुधार हुन्छ, न कि नगरपालिका वा गाउँपालिकाले गर्ने गोष्ठी र सेमिनारले । 

गत साता अर्को एउटा समाचारले मलाई निकै सोच्न बाध्य बनायो, गुणस्तर सुधारका लागि ग्रेड वृद्धि !

परीक्षा एउटा विधि र पद्धितमा हुनुपर्छ तर कक्षा १ का विद्यार्थीको उत्तरपुस्तिका अर्को विद्यालयका शिक्षकलाई परीक्षण गराएर मात्र हामीले चाहेको सुधार हुँदैन । ग्रेड वृद्धि परीक्षाले पनि विद्यार्थीको सिकाइमा सुधार ल्याउने होइन, यो त केवल अर्को र फरक प्रश्नको उत्तर लेख्न सकेको मात्र हो । मेरो सम्पर्कमा रहनुभएका करिब ३० जना स्थानीय तहमा कार्यरत मित्रहरुलाई कक्षा ८ को नतिजाको वास्तविक तथ्याङक पठाउन आग्रह गरेँ तर कसैले पनि पठाउनु भएको छैन । हुन त मैले माग्दैमा दिनु  पर्छ भन्ने केही छैन र दिनु पर्ने पनि होइन । मैले नैतिक परिधि भित्र रहेर केहि तथ्याङ्क विश्लेषण गर्न चाहेको थिएँ तर पाएको छैन । समाचार अनुसार ५०, ६० नम्बर ग्रेस मार्क दिएर कक्षा उत्तीर्ण गराइएको छ । वास्तविक प्राप्ताङ्कका आधारमा हेर्दा कक्षा ८ को उत्तीर्ण प्रतिशत ५, ७, १२, २० २५, ३५ सम्म भएको अनौपचारिक सूचनाहरु दिनु भएको छ । 

गुणस्तर केलाई मान्ने ? यसमा विवाद पनि छ । परीक्षाको अङ्क गुणस्तर होइन भन्नेमा विवाद पनि छ तर संसार भर परीक्षाको उपलब्धि एउटा सूचक हो भन्नेमा सहमति पनि छ । न्यूनतम स्तरको सिकाइ त हुनैपर्छ । पाँच कक्षामा पढ्ने विद्यार्थीले वाक्य पढ्न सक्दैन भने गुणस्तर खोज्न अन्त कतै नडुलौँ, उसलाई पढ्न सक्ने बनाऊ । संभव छ भने, नगरपालिका गाउँपालिकाका सबै विद्यालयको वार्षिक परीक्षाको नतिजा विश्लेषण गरौँ । कक्षा १, २ मा पठन सिप र गणितीय सिप परीक्षण गरौँ । अनि समस्या खोजौँ, विकल्प खोजौँ, भूमिका खोजौँ, जिम्मेवार बनौँ अथवा बनाऊँ अनि शुरु गरौ । शिक्षकले के गर्ने ? प्रअले के गर्ने ? विव्यसले के गर्ने ? अभिभावकले के गर्ने ? स्थानीय सरकारले के गर्ने ? जिम्मेवारीबोध र जवाफदेहिता कायम गरौँ ।

सबै स्थानीय तहको अवस्था एउटै नहोला, सन्दर्भ अनुसार हामीलाई चाहिएको के हो ? हाम्रा समस्या के हुन् ? हाम्रो आवश्यकता के हो ? हाम्रा संभावना के हुन् ? भौतिक सुविधा नपुगेर नतिजा ७ प्रतिशत भयो ? शिक्षक नपुगेर भयो ? विद्यार्थी नआएर, गृहकार्य नगरेर हो ? अभिभावकले ध्यान नदिएर हो ? शिक्षकको सुविधा कम भएर हो ? समस्या पनि त्यहीँ खोज्ने ? समाधान पनि त्यही खोज्ने ? कसले के गर्ने भनेर पनि त्यही खोज्ने ? नगरे के गर्ने ? त्यो पनि त्यही खोज्ने ? मेरो बुझाइमा ठूला कुरा, आर्दशका कुरा, सिद्धान्तका कुराले कामै गरेन । व्यवहारका र साना कुराबाट खोज्ने कि, भन्ने लाग्छ । तपाईंहरुलाई जे लाग्छ, त्यही अनुसार अगाडि बढ्नुहोला ।

सामुदायिक विद्यालयमा थेगिनसक्नु विद्यार्थी, प्रअका मोबाइल अफ भन्ने समाचार पनि आए । ती विद्यालय कसरी यो अवस्थामा पुगे ? कसले सुधार गरेको हो ? तत्कालीन जिशिकाले, कुनै आरपि वा विनिले ? वा शिक्षक, प्रअले । खोजि गरे थाहा भैहाल्छ । विद्यालय सुधार शिक्षक र प्रअले मात्र गरेर हुने हो, अरुले कुरा गर्न सकिन्छ, वहस गर्न सकिन्छ तर काम गर्न सकिदैँन । 

त्यसैले स्थानीय सरकारका सम्पूर्ण तपाईंहरुलाई गर्ने अनुरोध एउटै मात्र छ, कृपया विद्यालयमा सक्षम प्रअको व्यवस्था गर्नुस् । शिक्षक प्रअसँग सहकार्य गर्नुस् । क्षमता विकास र क्षमता भएकालाई प्रयोग गर्नुस् । उत्प्रेरीत गर्नुस्, विश्वस्त बनाउनुस । र हातेमालो गर्नुस् । शिक्षक र प्रअलाई अगाडि लगाएर पछि हिड्नुस्, उनीहरुलाई पछि लगाएर तपाईहरु अगाडी हिड्नुभयो भने गन्तव्य निकै जटिल हुनेछ । 

तपार्ईंहरुले गर्नु भएको सुधारका प्रयासले निरन्तरता पाइरहोस् । 

शुभकामना । धन्यबाद ।