Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

करार शिक्षकका बारेमा सांसदको प्रश्न, प्रधानमन्त्रीले टारे

मंगलबार, २४ बैशाख २०७६

काठमाडौं - करार शिक्षकको मागका बारेमा सांसदहरुले उठाएको प्रश्न प्रधानमन्त्री केपी ओलीले टारेका छन् । आगामी बर्षको नीति तथा कार्यक्रम माथि संसदमा भएको छलफलका क्रममा सांसदहरुले करार शिक्षकका बारेमा सरकारको धारणा माग गरेका थिए । 

प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सांसद बालकृष्ण खाँड, राजपाका सांसद महेन्द्र राय यादव र नेपाल मजदुर किसान पार्टिका सांसद प्रेम सुवालले करार शिक्षकको आन्दोलन र मागका बारेमा सरकारको धारणा मागेका थिए । तर, उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले भने उक्त प्रश्नलाई कुनै सम्बोधन नै नगरी आफ्नो भनाई टुङ्याएका छन् । 

नीति तथा कार्यक्रमको बचाउ गर्दै उनको लामो भाषण पछि सांसदहरुलाई प्रश्न सोध्ने समय दिईएको थियो । उक्त समयमा सांसदहरुले करार शिक्षकको विषयमा सरकारको धारणा मागेका थिए । 

सांसदको प्रश्नको उत्तर दिन रोष्टममा पुगेका प्रधानमन्त्रीले नीति तथा कार्यक्रम माथि विपक्षी दलका सांसदहरुको प्रश्नलाई आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको संज्ञा दिए पछि विपक्षी काँग्रेसका सांसदहरुले आपत्ति जनाएका थिए । 

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले संसदको गरिमा कायम नगरेको भन्दै काँग्रेस सांसदहरुले उभिएर विरोध गरेका थिए । होहाल्लाकै बीचमा बोल्न शुरु गरेका प्रधानमन्त्रीले निकै संक्षिप्त उत्तर दिएर उक्त प्रश्न टारेका हुन् । होहाल्लाकै बीचमा सभामुख कृष्णबहादुर महराले सांसदहरुका संशोधन क्रमै सँग निर्णयार्थ पेश गरेर नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । गत बर्षको नीति तथा कार्यक्रम भने सर्वसहमतीले पारित भएको थियो । 

संसदको आगामी बैठक शुक्रबार बस्ने छ । अबको बैठकमा बजेटका बारेमा छलफल शुरु हुने महराले जानकारी दिए । 

फाईल फोटो 

प्रतिक्रिया