देवता को हो ? : भोलिका शिक्षक र विद्यार्थीले के बुझ्ने ? के बुझाउने ?


व्रह्म नै देवता हो

प्रतिभाषित हुने तत्व नै व्रह्म हो (निरालम्वोपनिषद, पृ. २२३) । प्रतिभाषीले जे छ त्यही देख्छ  । परमात्मा त्यही प्रतिभाषित विन्दु हो । व्रह्म पनि त्यही विन्दु हो । त्यही कुरा बुझ्ने व्यक्ति व्रह्मज्ञानी हो । उसले बुझेको ज्ञान व्रह्मज्ञान हो । लौकिक शव्दावलीमा भन्दा अणुशास्त्रीहरु शरीर ज्ञानी हुन् । मनशास्त्रीहरु मनोज्ञानी हुन् । शरीरीे उर्जा (आत्मा) र व्रह्म उर्जा (प्रतिभाषित हुने तत्व÷परमात्मा) को सहसम्वन्ध बुझ्नेहरु व्रह्मज्ञानी हुन् । यसको अर्थ हो उर्जा देवता । शरीरको उर्जा आत्मदेव हो । व्रह्माण्डीय उर्जा परमात्मदेव हो । परमात्मा हो । अमूर्त देव हो । निरञ्जन देव हो । निराकार देव हो । त्यही निराकार व्रह्म नै परमात्मा हो । समस्त विश्व प्रकाशित गर्ने उर्जा नै भएकोले समस्त विश्वलाई नै व्रह्म भनिएको हो (निरालम्वोपनिषद , पृ. २२३) । कृष्ण यजुर्वेदी सर्वसारोपनिषद्ले भनेको म पनि त्यही व्रह्म हो ।  यसको शब्दमा त्यही परव्रह्म पनि हो । त्यो परव्रह्ममा उर्जा जन्मदैन । मर्दैन । किनकि त्यसमा मन छैन । त्यसलाई चलाउने कर्ता पनि छैन । त्यसको वन्धन पनि छैन । त्यसैले मुक्ति पनि हुँदैन । यही कारणले व्रह्म उर्जालाई अजन्मा भनेको हो । अजर भनेको हो (सर्वसारोपनिषद्, पृ.४२८) ।

आइन्साटाइनले चिनेको ननाशिने उर्जा त्यही हो । क्वान्टाम वैज्ञानिकहरुले पनि त्यही उर्जा वा व्रह्मको खोजी गरेका हुन् । शरीर उर्जा हो भन्ने खोज । व्रह्म उर्जामय छ भन्ने खोज । त्यही उर्जाको उपयोगले मानव जीवन भौतिक, मानसिक तथा आध्यात्मिक रुपमा सुखी बनाउन सकिन्छ कि भन्ने खोज । त्यही उर्जालाई व्रह्मज्ञानीले देवता माने । अर्थात लौकिक शब्दावलीमा उर्जा नै व्रह्मज्ञानीको देवता हो । शरीरको रुपमा आत्मा । व्रह्म उर्जाको रुपमा परमात्मा । लोकलाई बुझाउन परमेश्वर । त्यसैले परमेश्वरलाई अविनाशी भनिएको हो । त्यही अविनाशी उर्जाको ज्ञान नै विद्या हो (अथश्वेताश्वेतरोपनिषद्, पृ.४११) । कृष्ण यजुर्वेदी सर्वसारोपनिषद्का अनुसार उदभव र विनाश भन्दा परको त्यही स्थिर उर्जा चिन्ने तथा चिनाउने चैतन्य भाव नै विद्या हो (सर्वसारोपनिषद्, पृ.४२७) ।

जीव नै देवता हो

आभाषी हुँदा मन जोडिन्छ । कल्पना जोडिन्छ । अविद्या (माया) जोडिन्छ । माया नै अविद्या ग्रस्त चैतन्य हो । यजुर्वेद सम्मत निरालम्वोपनिषद् त्यसै भन्छ । यसको अर्थ हो — प्रतिभाषित व्रह्मले प्रकृतिसंग मिलेर ईश्वर बनाउँछ । अर्थात् ईश्वर भनेकै प्रकृति मिसिएको व्रह्म हो (निरालम्वोपनिषद्, पृ. २२३) । व्रह्मको वुद्धिरुपवाला शक्ति नै प्रकृति हो । मानव आकृतिका बने बनाइएका देवता नै ईश्वर हुन । कल्पना जोडिएका । आभास जोडिएका । मानवलाई पनि  देवता मान्ने चिन्तन त्यही हो । अर्को शव्दमा भन्दा अविद्याग्रस्त चैतन्य पनि त्यही हो । कृष्ण यजुर्वेद सम्मत अथश्वेताश्वेतरोपनिषद् अनुसार नश्वर÷ क्षरणशील ज्ञान जोडिएको (अथश्वेताश्वेतरोपनिषद्, पृ.४११) । महोपनिषद् अनुसार मनको चञ्चलता जोडिएको (पृ. १७०) । यसैलाई कृष्णयजुर्वेद सम्मत स्कन्धोपनिषद् (पृ ४२९) ले जीव भनेको छ । लौकिक अर्थमा बुझदा बुझाउँदा धान भनेको जीव हो । चामल भनेको शिव हो । धानको भुस माया हो । प्रकृति हो । माया निकाल्दा रहने चामल शिव हो (स्कन्धोपनिषद्, पृ. ४२९) ।

प्रकृति र मानव वेदका देवता हुन्

ऋग्वेदले विभिन्न देवताहरुको नाम लियो । तलको तालिकाले ती देवहरुको नाम देखाएको छ :

माथिको तालिकाले भन्छ — वेदले मूलतः प्रकृतिलाई नै देवता मानेको छ । कहीँ व्यक्तिमा प्रकृतिलाई आरोपित गरेकोे छ । कहीँ व्यक्तिलाई देवता मानेको छ । तर सबैमा एउटा कुरा साझा छ — त्यो हो देवत्वकरण । प्रकृतिको देवत्वकरण । व्यक्तिको देवत्वकरण । व्रह्म उर्जाको देवत्वकरण ।  

वैदिक शास्त्रमा उर्जा देवता हो । प्रकृति देवता हो । असल कार्य गर्ने पनि देव तुल्य हो । उर्जा, प्रकृति, तथा असल कार्य गर्ने व्यक्ति सबैलाई देवत्वकरण गर्ने हाम्रो परंपरा पनि हो । यस क्रममा व्राह्मणले सात्विक देव भनेर अग्नि, सूर्य, सावित्री र विष्णुको पूजा गरे । क्षत्रीले राजसी देव भनेर इन्द्र, वरुण, सोम, रुद्र, पर्जन्य, प्रकृति, यम, इशानको उपासना गरे । वैश्यले वसु, रुद्र, विश्वदेव, तथा मरुतको पूजा गरे । शुद्रले पुषन,

आदित्य, तथा स्थानीय देवदेवीको पूजा गरे । वर्णाश्रमीय चिन्तनमा बनेको देवपूजन रक्त मिश्रण पछि बदलिएको छ । अहिले सबैले सबैका देवता पूज्ने गरेका छन् ।

देव पूजनका तरिका

देव पूजनका तीन तरिका छन् । कीर्ति गायन वा गाथा गाउने । प्रार्थना गर्ने । उपासना गर्ने । कीर्ति गायन गर्दा वा गाथा गाउँदा निर्गुणी तथा सगुणी तरीका अपनाइन्छ । यजुर्वदको २ः१०,१६ः१५, २५ः१३ अथर्ववेदको १०ः७ः३२—३४ तथा १०ः ८ :१ निर्गुणी स्तुतीका उदाहरण हुन कीर्ति गायनका तरीका हुन । प्रार्थना पनि सवल र दुर्वल हुन्छन् । यजुर्वदको १८ः२९, १९ः९, ३२ः१४, ३४ः१ः६, ३४ः१८, ४०ः२, ४०ः८, ४०ः१६ तथा ऋग्वेदको १ः३९ः२ ले सबल प्रार्थना सिकाउँछ । सवल प्रार्थनाले आफू र जगत बलियो होओस् भन्ने कामना गर्छ । दुर्वल प्रार्थनाले अरुको नाश होस् भन्छ ।

उपासना भनेको नजीक पुग्नु हो ।  यजुर्वेदको ३०ः३ ले उपासनाको तरिका सिकाउँछ । मानस पूजालाई सर्वाेपरि ठान्छ (अथर्ववेदसम्मत साण्डिलोपनिषद्, पृ .२८० र २८१) । नाम स्मरण गर्ने र ध्यान श्लोक पाठ गर्ने तरिका सिकाउँछ । आत्मपूजनोपनिषद्ले त्यही कुरा भनेको छ । सामवेदी जावलदर्शनोपनिषद्ले चाहिँ श्रेष्ठ कर्मलाई नै ईश्वर पूजा भनेको छ । यजुर्वदको ४०ः९ ले सचेत गराएको छ —सम्भूति (मूर्ति) पूजनले अन्धकारमा लैजान सक्छ । मूर्ति साधन मान्नेले चाहिँ मूर्तबाट अमूर्तमा जाने बाटो सुझाएका छन् । यी वैदिक प्रावधानहरुको विश्लेषणबाट बुझ्न सकिन्छ कि गुणको गाथा गाउने हाम्रो सस्कार हो । आधुनिक शब्दावलीमा appreciative inquiry । प्रशंशा । निख्रिएर भन्दा गुणको प्रशंशा । गुणीको प्रशंशा । गुणी जन्माउने निर्गुणीको प्रशंशा । त्यसैको उपासना । संझना । ध्यान । गुणगान । पूजा ।

विवादको टुंगो

द्वैत र वहुदेवले विवाद ल्यायो । अद्वैतले विवाद टुंग्यायो । अद्वैत भनेको अविनाशी उर्जा हो । शुक्लयजुर्वेदीय अध्यात्मोपनिषद् त्यसै भन्छ । कृष्णयजुर्वेदीय अवधूतोपनिषद् त्यही भन्छ (पृ२९) । त्यही सत्य सदाशिव हो (पृ. २४) । कृष्णयजुर्वदीय एकाक्षरोपनिषद्ले भनेको देवी पनि त्यही हो (पृ. ४०) । ऋग्वेदले भनेको परम पुरुष त्यही हो । न्यायदर्शनले भनेको परमात्मा त्यही हो । सांख्य दर्शनले भनेको पुरुष त्यही हो । वैशेशिकाले भनेको व्रह्म त्यही हो । वैष्णवले भनेको चेतन त्यही हो । ऋग्वेदसम्मत आत्मोपनिषद्ले भनेको कृष्ण पनि त्यही हो (पृ ३३) ।  

यसको अर्थ हो हामी नाम भेदमा अल्झिएका रहेछौं । शाखा भेदमा अल्झिएका रहेछौं । शाखा भेद नजान्दा वहुदेव भनेछौं । नाम भेद नजान्दा सम्प्रदायमा फसेछौं । त्यसैमा अहं जोड्दा फलानो र तिलानो धर्मको भनी बखेडा झिकेछौं ।

यस स्थितिमा के भोलिका शिक्षकले हिन्दूका देवताहरु चिनाउन सक्छौं त ? के व्रह्मउर्जा पो तिनका मूलदेव रहेछन नि भन्न सक्छौं त ? ती त गुण पूजक पो रहेछन् भन्न सक्छौं त ? गुणपूजक हुँदा प्रकृति र यदाकदा व्यक्ति पूजा गरेका रहेछन् भन्न सक्छौं त ? मूर्तिपूजा भन्दा मानस पूजालाई पो श्रेष्ठ मान्दा रहेछन् भन्न सक्छौं त ? तेत्तीस कोटी देव भनेका त आठवटा वसु रहेछन् । एघारवटा रुद्र रहेछन् । बाह्रवटा आदित्य रहेछन् । एउटा इन्द्र रहेछन्   । एउटा प्राण रहेछ । कुल तेत्तीस किसिमका देवता भए पो भनेका रहेछन् । आठवटा वसु भनेको पृथ्वी, अग्नि, वायु, अन्तरिक्ष, आदित्य, द्युलोक, चन्द्रमा, र नक्षत्र पो रहेछ ।  एकादश रुद्र भनेको ५ ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिव्रो र छाला) र ५ कर्मेन्द्रिय (बोली, हात, खुट्टा, मलद्वार तथा मूत्रद्वार) तथा मन पो रहेछ । इन्द्र भनेको त गर्जन रहेछ । एकदेव भनेको प्राण रहेछ (शुक्लयजुर्वेदीय वृहदारण्यकोपनिषद्, पृ. २९६ र २९७) जस्ता वैदिक जानकारी दिन सक्छौ त ?

यस अर्थमा हिन्दूहरु गुणग्राही पो रहेछन् भन्न सक्छौं त ? शिक्षकले यसरी भन्न सक्ने तागत राख्ने हो भने भोलिको विद्यार्थी ज्ञानको गहिराईमा पुग्छन् । पूख्र्याैली ज्ञानको अर्थ बुझ्छन् । ताने तन्काइएका र गलत आशयले भन्ने भनाउने बेइमानहरुको भण्डाफोर गर्न सक्छन् । देवता छ र छैन भन्ने गफलाई विज्ञानी भाषामा बुझ्न र बुझाउन सक्छन् । तिनलाई प्रकृति छ भने ईश्वर छ भन्न र भनाउन सक्छन् । उर्जा छ भने आत्मा र परमात्मा छ भनाउन सक्छन् । आत्मा तथा परमात्मा भनेको त्यही उर्जा हो भन्न सक्छन् । जीवमा हुँदाको उर्जाको नाम आत्मा भने पुर्खाले भनी बताउन सक्छन् । व्रह्म उर्जासंग व्यक्तिको उर्जा चार्ज गराउन सक्नेहरुको उर्जा परमात्मामा मिल्यो भन्न सक्छन् । जीवितमै । निर्जीव भए पछि ।

प्रश्न हो —भोलिको शिक्षकलाई कसरी दीक्षित गर्ने ? भोलिको विद्यार्थीलाई कसरी शिक्षित गर्ने ? अहिलेको अपराधी दीक्षा र शिक्षा हो देवता छन् र छैनन् भन्ने अनावश्यक विवाद । आत्मा र परमात्मा छन् वा छैनन् भन्ने असान्दर्भिक संवाद । भोलिका शिक्षक तथा विद्यार्थीलाई नास्तिक, आस्तिक, आत्मावादी, परमात्मावादी भनेर पढाउनुको सट्टा पुर्खाले केलाई देवता भने ?  केलाई आत्मा भने ? केलाई परमात्मा भने ? कुन स्थितिलाई वहुदेव भने ? कुन स्थितिलाई तेत्तीस कोटी भने ? कुन स्थितिमा द्वैत भने ? कुन स्थितिमा अद्वैत भने ? यी र यस्ता प्रश्नको उत्तर खोजाउने कि ? भविष्य हाम्रै हो ।