Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

तीन सय उत्कृष्ट विश्वविद्यालय भित्र त्रिवि

आइतबार, २९ बैशाख २०७६

काठमाडौं - दलगत राजनीतिक स्वार्थले 'थिलोथिलो' पारेको आरोप लाग्दै आएको दशेकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय एशियाका तीन सय उत्कृष्ट विश्वविद्यालय भित्र पर्न सफल भएको छ । बेलायत स्थित द टाइम्स् हाइयर एजुकेशनले सार्वजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको स्तर निर्धारण सूचीमा त्रिविको स्थान २५१ माथि देखि ३०० मुनिको स्तरमा सूचीकृत रहेको उल्लेख छ । 

विश्वविद्यालयले पहिलो पटक एसियाका विश्वविद्यालयहरुको स्तर निर्धारणका लागि गरिने सूचीकरण प्रक्रियामा भाग लिएको थियो । यस अघि गतवर्ष यहि संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयहरुको स्तर निर्धारण मुल्याङ्कनमा त्रिवि ८ सय भन्दा माथि र १ हजार मुनिको  स्थानमा परेको थियो । 

४ बर्ष अघि ४ हजार २ सय स्थानमा रहेको त्रिवि सन् २०१७ मा वेभ र्याङ्कले गरेको मापनमा ३ हजार ८ सय ४१ औं स्थानमा थियो । यही प्रतिस्पर्धामा विश्वविद्यालयले आफूलाई सन् २०३० भित्र उत्कृष्ट एक हजारमा पार्ने लक्ष्य तय गरेको थियो । तर, साविकका संस्थाहरुबाट मापन हुन छाडेर त्रिवि गत बर्ष देखि टाईम हाईयर एजुकेशनबाट मापन हुन थालेको थियो । गत बर्ष सार्वजनिक  स्तरमा त्रिवि विश्वका एक हजार भित्र परेको थियो । 

पढ्नुहोस् : अर्कै प्रणालीबाट मापन, लक्ष्य भन्दा पहिल्यै सफलता !

पहिले पहिले हुने गरेका सर्वेक्षणहरु वेभसाईटमा आधारित हुने र त्यहाँ विश्वविद्यालयको कुनै पनि सहभागिता नहुने भए पछि गतबर्ष देखि त्रिविले आफ्ना तथ्याङ्कहरु उपलब्ध गराएरै मापनमा भाग लिन शुरु गरेको त्रिविका पदाधिकारीले बताउँदै आएका छन् ।  

उक्त संस्थाले विश्वविद्यालयमा रहेका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहहरुमा अध्ययनरत विद्यार्थी संख्या, छात्राको संख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालय भित्र भएका अनुसन्धानहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेख, रचना, जर्नलहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेखमा गरिएका साइटेशनका आधारमा मूल्याँकन गर्छ । विश्वविद्यालय भित्र अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या, अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधि प्रदान गरिएको संख्या लगायतलाई मुख्य सूचक मान्छ । सोही सूचक अनुसार सन् २०१९ का लागि त्रिविले उपलब्ध गराएको तथ्याङ्ककका आधारमा उक्त मुल्याङ्कन भएको हो । 

उक्त उपलब्धि पछि 'थप उत्साह मिलेको' उल्लेख गर्दै विश्वविद्यालयले विज्ञप्ति जारी गरेर त्रिविले हासिल गरेको अन्तर्राष्ट्रिय मान्यताबाट आफ्ना विद्यार्थीलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरुमा  अध्ययन, अध्यापन र अनुसन्धानमा थप पहुँच प्राप्त हुने दावी गरेको छ । विश्वव्यापीकरणको युगमा विश्वव्यापी प्रतिष्पर्धाका लागि, प्रतिष्पर्धात्मक अनुसन्धानका लागि समेत विश्वस्तरीय सूचीकरणको ठुलो भुमिका रहने भन्दै विश्वविद्यालयले सम्वद्ध सबैलाई अझै इमान्दारी पूर्वक क्रियाशिल रहन आव्हान पनि गरेको छ । 

 

प्रतिक्रिया