Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

अस्थायी शिक्षक १३ दिनदेखि आमरण अनशनमा

विहीबार, ०२ जेठ २०७६

काठमाडौं २ जेठ / अस्थायी शिक्षक विभिन्न माग राखी १३ दिनदेखि आमरण अनशनमा बसेका छन् । शिक्षक सेवा आयोगले स्थायीका लागि लिएको परीक्षामा अनुत्तीर्ण भएपछि विस्थापित नगर्नलगायतका माग राखी शान्तिवाटिकामा अनशन बसेका हुन् । अस्थायी शिक्षकलाई कुनै पनि बहानामा विस्थापित नगर्न र पुनः आन्तरिक परीक्षाको व्यवस्था गरी स्थायीको प्रक्रियामा लैजानुपर्ने उनीहरूको माग छ । पर्साकी नितु सिन्हा र जुम्लाकी राधा रावत २० वैशाखदेखि आमरण अनशनमा बसेका छन् । अनशनका कारण उनीहरूको स्वास्थ्यमा समस्या आएको छ । उपचारका लागि उनीहरूलाई वीर अस्पताल लाने/ल्याउने गरिएको छ । 

शिक्षा ऐनको नवौँ संशोधनअनुसार आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकले स्वतः अवकाश पाउने व्यवस्था छ । अनुत्तीर्ण भएका शिक्षकले अहिले रोजगारीको निरन्तरता हुनुपर्ने माग गरेका छन् ।अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिका वरिष्ठ उपाध्यक्ष गोपाल बस्नेतका अनुसार परीक्षाका लागि फारम भरेका करिब २६ हजारमध्ये १२ हजारभन्दा बढी अनुत्तीर्ण भएका छन् । उनले सरकारले संविधानले व्यवस्था गरेको रोजगारीको हकको समेत उल्लंघन गरी शिक्षकलाई अवकाश दिएको आरोप लगाए ।

ऐनअनुसार परीक्षामा अनुत्तीर्ण शिक्षकले समेत ‘गोल्डेन हेन्डसेक’ दिने व्यवस्था गरेको छ । बस्नेतले आफ्ना अनुभवलाई पैसामा किनबेच हुन नदिने बताए । संघर्ष समितिका सदस्य बिगु साहले नतिजामा समेत अनियमितता भएको आरोप लगाए । उनले वर्षौँसम्म पढाएका शिक्षकलाई अवकाशपत्र दिँदा तीनजनाको हर्ट अट्याकबाट मृत्यु भएको दाबीसमेत गरे । अस्थायी शिक्षकको आन्दोलनमा ऐक्यबद्धता जनाउन पर्साबाट काठमाडौं आएका नेपाल शिक्षक महासंघ बहुदरमाई नगरपालिकाका अध्यक्ष रामजी चौहानले सरकारले माग पूरा गर्नुपर्ने बताए ।

नयाँ पत्रिकाबाट 

प्रतिक्रिया