राजनीति र विद्यालय मध्ये एउटा रोज्न शिक्षकलाई दवाव, चोर औंलो ठड्याएर नेतालाई प्रश्न !


काठमाडौं - विद्यार्थीले धमाधम विद्यालय छाड्न थाले ! बाँकी रहेका २ जना मध्ये एक जना हेडसरको छोरा र अर्को गिट्टी कुटेर छाक टार्न बाध्य मजदुरकी छोरी !

टाई, बेल्ट सहित चिटिक्कको ड्रेसमा ठाँटिएर अँग्रेजी गीत गाउँदै नजिकैको बोडिङ् स्कुल गएका साथी भाईको फूर्तिफार्ति देखेर छक्क परेका उनीहरु पनि भोली देखि नआउने टुङ्गोमा पुगे !

...

सामुदायिक विद्यालयका हेडसरकै छोरो भोलिदेखि बोडिङ् जान नपाए पढ्नै नजाने घुर्कि लाउँदै छ !

श्रीमतीबाट छोराको घुर्कि सुनेका हेडसरको चिन्ता भने छुट्टै छ – विद्यालय सुधार्न अभिभावकको भेला बोलाउँदा पनि नआए पछि उनी दिक्क मान्छन् !

श्रीमती भन्छिन् – न बेलामा तलब पाउँछौं, न साथ ! किन सुधार्न पर्यो त्यो स्कुल ?

तै पनि हेडसरले हिम्मत हारेका छैनन् – अरुले गरेनन् भन्दैमा गती छाड्नु भएन त !

...

सामुदायिक विद्यालयमा गतिलो पढाई नभए पछि निजीमै भए पनि सन्तान पढाउने योजना बनाएका अभिभावकको चिन्ता स्कुलको शुल्क सुनेर झन् थपिन्छ !

बोडिङ्मा पढाउन सकिन्न सरकारीको ताल यस्तो छ !

संविधानले शिक्षालाई अधिकारका रुपमा गरेको व्यवस्थाको भेऊ नपाएर उनीहरु हैरान छन् ।

संविधानले विद्यालय शिक्षा सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिएको छ, तर आफ्ना समस्याका बारेमा ध्यान नदिएको भन्दै अभिभावकको तिव्र असन्तुष्टि मेयरसँग छ ।

उनीहरु प्रश्न गर्छन् – हाम्रा सन्तान कहाँ पढाउने ?

मेरो अपाङ्ग सन्तानलाई कसरी विद्यालय लैजाने ?

मेयरको सिधा उत्तर छ – ऐन छैन, एक हातले मात्रै ताली बज्दो रैन्छ !

...

यत्तिकैमा चुनाव आउँछ, शिक्षकलाई विद्यालय सुधारको भन्दा ज्यादा चिन्ता चुनावको हुन्छ । चुनावी प्रचारको अग्रमोर्चामा जुटेका शिक्षकहरु आफ्नो पार्टिले जित्यो भने हाईड्रो देखि सडक सम्म विकास हुने भन्दै गाउँलेलाई फकाउन व्यस्त हुन्छन् ।

विडम्वना उनीहरुको चुनावी एजेण्डामा शिक्षा पर्दैन !

अब त अति भयो ! गाउँलेलाई झ्वाँक चल्छ ! विद्यार्थी पढाउन छाडेर चुनावी प्रचारमा जुटेका शिक्षकलाई घेर्छन् र भन्छन् – कि राजनीति छाड कि स्कुल !

दलगत राजनीतिका कारण सामुदायिक विद्यालयको पठन पाठन ध्वस्त भए पछि आजित अभिभावकले शिक्षकलाई र्याख्र्ख्याती पार्छन् !

अभिभावकको आक्रोश मुख्य दलका नेताहरु तर्फ सोझिन्छ ।

उनीहरु नेता सहित सिंहदरवार, स्थानीय सरकारका जनप्रतिनिधि लगायत सत्ता सञ्चालकहरु तर्फ चोर औंलो ठड्याउँदै चिच्याएर भन्छन् – धनिले मात्रै पढ्न पाउने ? गरिवले पढ्न नपाउने कस्तो व्यवस्था हो ?

यत्तिकैमा वत्ति निभ्छ, दर्शक दिर्घाबाट पर्रर्रर्र ताली बज्न थाल्छ ।

...

प्रज्ञा भवनमा मञ्चन गरिएको प्रतिध्वनी नाटकको उक्त विवरण पढिसक्दा तपाईं पक्कै पनि कुनै गाउँ र त्यहाँ रहेको सामुदायिक विद्यालय सम्झदैं हुनुहुन्छ होला । ति विद्यालयका शिक्षक र गाउँलेको अनुहार पनि तपाईको मानसपटकमा छर्लङ्ग भएको हुनु पर्छ । अर्थात् नाटककार अशेष मल्लको निर्देशनमा सर्वनामका कलाकारले गरेको यो अभिनय नेपालमा सार्वजनिक शिक्षाको हविगत देखाउन काफि छ ।

सार्वजनिक शिक्षाको खस्कदैं गएको अवस्था प्रति राज्य सञ्चालकहरुलाई झक्झक्याउन भन्दै शिक्षाका लागि राष्ट्रिय अभियान एनसीई नेपालले गरेको सार्वजनिक शिक्षा सुदृढिकरणका लागि सिर्जनात्मक खबरदारी अन्र्तगत उक्त नाटक मञ्चन गरिएको हो ।

राजनीतिक प्रतिवद्धता विना सार्वजनिक शिक्षा सुधार असम्भव भएको निष्कर्श साथ मुख्य दलका शिर्षस्थ नेताहरुलाई अघिल्तिर राखेर यसका पक्षमा प्रतिवद्धता लिन भन्दै आयोजना गरिएको कार्यक्रममा सत्ताधारी दलका नेताले भने चासो दिएनन् । सत्ताधारी दल नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा विशेष सम्बोधन गर्ने भन्दै प्रचार गरिएको उक्त कार्यक्रममा दाहाल भने सहभागी भएनन् ।

महासचिव डिल्लिराम सुवेदीले दाहाल बालुवाटारबाट हिँडेका खबर आएको भन्दै दिउँसो साढे २ बजे शुरु गर्ने तय भएको उक्त कार्यक्रम साढे तीन बजेतिर शुरु गरेका थिए । झण्डै साढे २ घण्टा चलेको कार्यक्रमको अन्तिम सम्म पनि सुवेदीले दाहाल 'आउने आशा बाँकी नै रहेको' बताउन भने छाडेका थिएनन् ।

उक्त नाटक सहित सार्वजनिक शिक्षा सुदृढिकरणको पक्षमा कार्यक्रममा प्रस्तुत विभिन्न सर्जकका गीत र कविता सत्ताधारी दलका नेताले सुन्नु पर्ने खालका रहेको भन्दै प्रमुख विपक्षी दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कार्यक्रममा प्रचण्डको अभाव महशुस भएको बताए ।

म त झापामा थिएँ, कार्यक्रममा प्रचण्ड जी आउनु हुन्छ भन्ने थाह पाएर आएको हुँ,  उहाँ भएको भए उपयुक्त हुन्थ्यो, उनले भने, 'सत्तामा भएको दलका नेताले हेर्नु पर्ने ठाडो प्रश्न नाटकबाट आएको छ ।'

अरुले भनेको भन्दा आफूले अनुभत गरेको कुरा प्रभावकारी हुने भन्दै उनले सार्वजनिक शिक्षाका पक्षमा यहाँ उठेका कुरा सत्ताधारी दलका नेताले सुन्नु पर्ने दोहोर्याए । 

कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले संसारका नाम चलेका पूँजिवादी देशले समेत सार्वजनिक शिक्षा सुधारलाई ध्यान दिएको अवस्था चित्रण गर्दै यसमा सुधार नभए सम्म नेपालले अपनाएको समाजवाद उन्मुख कुराको अर्थ नहुने बताए ।

'सार्वजनिक विद्यालयबाट विद्यार्थीको भागाभाग छ, के को समाजवाद ?' प्रश्न गर्दै उनले भने, 'देशको सपना पुरा गर्ने माध्यम सार्वजनिक शिक्षा मात्रै हो, यस तर्फ राजनीतिक दल र नेताहरुले सोच्नु पर्यो ।' 

कार्यक्रममा समाजवादी पार्टिका उपमहासचिव डम्बर खतिवडाले सार्वजनिक शिक्षा नसुधारे सम्म बाँकी कुरा हावादारी हुने तर्क प्रस्तुत गरे ।  शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले सुधारका काम हुँदै नभएको भन्दा पनि गर्नु पर्ने काम बाँकी रहेको रुपमा बुझ्नु पर्ने भन्दै बचाउको प्रयास गरे ।