Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

कहिले आउँछ कक्षा ११ को 'रिजल्ट' ?

मंगलबार, २१ पुस २०७२

भक्तपुर - हिजो आज उच्च माध्यामिक शिक्षा परिषद्को फ्रण्ट डेक्समा रहेको टेलिफोनको घण्टि बज्नासाथ कर्मचारी एक आपसमा मुखामुख गर्छन् ! उनीहरु लख काट्छन् 'यो पनि पक्कै कक्षा ११ को रिजल्ट कहिले आउँछ भन्ने फोन हो !' धेरै बेर फोन बजेपछि बल्ल तल्ल फोन उठाएका कर्मचारीको बनिबनाउ उत्तर हुन्छ – 'तयारी हुँदै छ छिट्टै हुन्छ ।'

विद्यार्थी र अभिभावकको प्रश्नको उत्तर दिदाँ दिदाँ परिषद्का कर्मचारी हैरान भईसकेका छन् ।

फोन उठाउने कर्मचारीलाई पनि शायद थाह छैन त्यो 'छिट्टै' कहिले आउँछ । र उनीहरुलाई यो पनि थाह छैन रिजल्ट किन ढिलो भईरहेको छ ।

परीक्षा भएको ९० दिनमा नतिजा सार्वजनिक गर्नु पर्ने नियम भएपनि परीक्षा भएको ६ महिना सम्म नतिजा सार्वजनिक नहुँदा विद्यार्थी र अभिभावकले चासो राख्नु स्वभाविक हो ।
गत असार १ गते देखि कक्षा ११ को परीक्षा भएको थियो । भूकम्पका कारण रोकिएको सात जिल्लाको परीक्षा भने असार २४ गते देखि भएको थियो । यस अनुसार गत असोजमै नतिजा सार्वजनिक हुनु पर्ने थियो ।

कर्मचारीको हैरानी देखेपछि थप बुझ्न एडुखबर सम्बाददाता निमित्त नियन्त्रक सन्तोष अर्यालको कक्षमा पुग्दा उनी पनि मोवाईल फोनमा परीक्षाको नतिजा सार्वजनिक गर्ने काम 'अन्तिम चरणमा' रहेको बताउँदै थिए ।
'नतिजा प्रकाशनको प्रकृयागत काम चलिरहेको छ, यसका विभिन्न प्राविधिक चरण हुन्छन् त्यो काम जारी छ' उनी भन्छन्, 'प्राविधिक काम हो, आजै सकिन पनि सक्छ भोलि सकिन पनि सक्छ तर उक्त चरण सकिनासाथ हामी रिजल्ट गरिहाल्छौं ।'

अहिले कम्युटरमा रुजु गर्ने काम भईरहेको परीक्षाका एक कर्मचारीले बताए । 'मिसिङ् रुजु गर्ने काम भईरहेको छ, रुजु गर्नु पर्ने धेरै भएन भए तत्काल सकिन सक्छ धेरै आयो भने केही दिन लाग्न पनि सक्छ' उनले भने ।

परीक्षामा ३ लाख ४६ हजार ५ सय ६७ जना विद्यार्थी सहभागि रहेकने परिषद्ले जनाएको छ । 

प्रकाशित मिति २०७२ पुस २१ गते
 

प्रतिक्रिया