Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
विचार / विमर्श

कस्तो हुन्छ अस्थायी शिक्षक 'गोल्डेन हेण्डसेक' कार्यविधि ?

बुधबार, २६ जेठ २०७३

- डा.हरी लम्साल / शब्दका हिसावले शिक्षा ऐनमा गोल्डेन हेण्डसेक भनिएको छैन, अस्थायी शिक्षकलाई सुविधा दिने भनिएको छ । अस्थायी शिक्षकलाई दिने सुविधाका बारेमा कार्यविधि निर्माण गर्दा, चार वटा विज्ञापनको परिकल्पना गरिएको छ । २०४९ साल सम्मको समूह, ०४९ देखि ०६१ सम्मको अर्को समूह, अनी ०६१ देखि ०६३ सम्मको दरबन्दीमा २०७२ असोज २ गते सम्म आन्तरिक र खुल्ला रुपमा आयोग लड्ने भनेर ४ समूहको परिकल्पना गरिएको छ ।

यसलाई कार्यान्वयनमा जाँदा केही कुरामा ध्यान दिनु पर्छ । असारमै अस्थायी शिक्षकलाई विदा गर्न सकिने देखिदैंन । पहिला हामीले अस्थायी शिक्षकको लगत संकलन गर्नु पर्छ । ऐनमा लेखिए अनुसार - 'यदी आन्तरिक रुपमा छुट्याईको कोटामा शिक्षक साथीहरु नलड्ने हो र सुविधा लिने हो भने त्यो दरबन्दी खुल्लामा जान्छ' भनिएको छ । त्यसैले अस्थायी शिक्षकको ब्यवस्थापन गर्न सबै भन्दा पहिले एउटा निर्णय गरेर आन्तरिक कार्यविधि बनाई सूचना निकाल्नु पर्छ । किन भने सुविधा लिनेले जाँच दिन पाउँदैन । त्यसैले सबै भन्दा पहिले तपाईहरु मध्ये कति जना आन्तरिक रुपमा यो सुविधा लिन चाहनु हुन्छ ? भनेर सूचना निकाल्नु पर्छ । त्यो सूचना अनुसार सुविधा लिन ईच्छुकहरुले हाल्ने निवेदनका आधारमा बाँकी सिट खुल्लामा लैजानु पर्छ । त्यस पछि आन्तरिक र खुल्लाको संगै विज्ञापन गर्छौ । यो तयारीका लागि शिक्षक सेवा आयोग संग बस्नु पर्ने हुन्छ ।

असारमै अस्थायी शिक्षकलाई विदा गर्न त्यति ब्यवहारिक किन पनि देखिदैंन भने, जब सम्म स्थायी शिक्षक कक्षा कोठामा आउँदैन त्यतिबेला सम्म अहिले विदा गर्ने हो भने अर्को अस्थायी नियुक्ति गर्नु पर्ने हुन्छ । त्यसैले हामीले यी दुई प्रकृया संग संगै लैजान्छौं । परीक्षा नदिने अस्थायी शिक्षकको विवरण तयार भए पछि अर्थ मन्त्रालयसंग बजेट मागेर भुक्तानी प्रकृया शुरु गर्छौ । संग संगै स्थायीको पनि विज्ञापन गर्ने हुनाले जुन दिन स्थायीको नियुक्ति गर्छौ त्यो दिन विद्यालयले स्थायी शिक्षक पाउने भए पछि अस्थायी साथीहरुलाई सुविधा दिएर विदाई गर्छौ ।

यसका लागि जारी गर्नु पर्ने सूचना, शिक्षकले बुझाउनु पर्ने कागजात के के हुन् ? भन्ने कुरा नियमावलीमा त चाँहिदैंन ऐन प्रमाणिकरण भएपछि आफैं कार्यान्वयनमा जान्छ तर, आन्तरिक निर्णयबाट एउटा कार्यविधि तय गरी शिक्षक सेवा आयोगसंग छलफल गरेर अघि बढ्नु पर्ने छ । 

(शिक्षा पत्रकार सञ्जालले गरेको अन्तरक्रियामा बोल्दै शिक्षा मन्त्रालयका प्रवक्ता लम्साल)

प्रकाशित मिति २०७३ जेठ २६ गते

प्रतिक्रिया