Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

पास बनाइदिनु भन्दै उत्तरपुस्तिका भित्र यस्ता पत्र

शुक्रबार, ०७ असोज २०७३

उच्च तहमा पढ्ने केही विद्यार्थी अझै पनि जाँचको उत्तरपुस्तिका मार्फत् दयाको भिख माग्दै गरेको भेटिन्छन् । उत्तर पुस्तिकामा चिठी लेखेर हालेमा परिक्षकले केही अंक थपी पास गरी दिन्छन् भन्ने मानसिकताले उनीहरुलाई छाडेको छैन ।

त्यसैले उत्तरपुस्तिकामा कहिले काँही अंकको भिख मागेका यस्ता चिठिहरु भेटीन्छन । एसएलसी र १०+२ को विद्यार्थीको पत्रहरु पढ्दा त्यति आश्चर्य र दुःख लाग्दो कुरो नहुन सक्छ । किनकी उमेरगत हिसावमा तिनीहरुको अपरिपक्वतालाई हेर्दा त्यो सामान्य मान्न सकिएला ।

तर जब, उच्च तह अर्थात स्नातक र स्नातकोत्तर तहका विद्यार्थी नै उत्तर लेख्न छाडेर आफ्नो उत्तर पुस्तिकामा चिठी लेख्न थाल्छ त्यो भन्दा दूर्भाग्य के हुन सक्छ ?

यो शैक्षिक क्षेत्रमा भएको प्रगति होइन दुर्गती हो । यस्ता कार्यहरु रोक्न हरेक शिक्षकले विद्यार्थीलाई सम्झाउन पर्छ ।

मैले हालसम्म यस्ता धेरै पत्रहरु भेटाएको छु । त्यस मध्ये केही पत्रहरु उनीहरुकै भाषा शैली र शब्दहरु जस्ताको तस्तै :

  • पत्र नं १    

Please help me sir. Just 35 number. This paper is my life. This exam is my last.

  • पत्र नं २

कृपया सर ! 3rd year मा एउटा मात्र विषयमा फेल भएकोले सकेसम्म खुुला दिलबाट अंक दिनुहुन अनुरोध गर्दछु । यो विषय पास भएमा मैरो एम एड पर्ने सपना साकार हुने छ ।    

  • पत्र नं ३

सर नमस्कार !
हजुरलाई चोट लागे, मलाई पनि दुख्छ      
धेरै नम्वर चाहिदैन, पासमार्क मात्र भए पुग्छ ।

  • पत्र नं ४

गुरु प्रणाम, मैले यो विषय बाहेक सबै विषय पास गरीसकेको छु । यत्ति विषय बाँकी छ । मलाई जस्ट ३५ अंक दिनुहोला । आउँदो मंसीर महिनामा मेरो एक लडकी से शादी करने वाला छु । उसले भनेकी छ तिमीले विएड पास नगरे सम्म तिमिसँग शादी हुन सक्दैन । तसर्थ हाम्रो वैवाहिक सम्बन्ध जोड्ने के लिए हजुरले पास नंम्वर दिनै पर्छ । हजुरको जय होस् ।

मलाई लाग्छ, उत्तर पुस्तिका भित्र भेटीने यस्ता पत्रहरुकै कारण कुनै पनि परीक्षकले अंक थपेर कुनै पनि विद्यार्थीलाई पास गराउँदैनन ।

कमसेकम म त यस्ता पत्र देखेपछि उल्टो उनीहरुकोे वौद्धिक क्षमताको अवमुल्यन ठान्छु ।

यस्ता कुराले विद्यार्थीको लेखाई ठिक्क पास अंक सम्म आउने देखिन थालेछ भने पनि परीक्षकको दृष्टिकोणमा अयोग्य ठहरीने खतरा हुन सक्छ । तसर्थ चिठी लेखेर अंकको याचना गर्नु भूल मात्र हैन महाभूल हो ।
अन्तमा, यस्ता पत्रहरु लेखेर पास भइन्छ भने सोच राख्ने विद्यार्थी भाइ बहिनीहरुलाई यस्तो सोच सधैको लागि त्याग्न विनम्रता साथ अनुरोध गर्दछु ।

(लामो समय त्रिविमा प्राध्यापन गरेर निवृत्त भएका शर्मा, विद्यार्थी फेल हुने कारण र समाधानको अभियानमा सकृय छन् ।)

प्रतिक्रिया