Edukhabar
विहीबार, १५ चैत्र २०८०
विदेशमा शिक्षा

अष्ट्रेलियन एडु फेयर : घुम्न मात्रै हैन बुझ्नै चाहने धेरै

आइतबार, ०९ असोज २०७३

काठमाडौं - अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै आयोजित शैक्षिक मेला सफलतापूर्वक सम्पन्न भएको आयोजकले दावी गरेको छ । मेलामा आउने हरेक विद्यार्थीले अष्ट्रेलियाको शैक्षिक कार्यक्रम र आवश्यक तयारीबारे गम्भिर भएर कुरा बुझेको पाईएकोले मेला सफल भएको आयोजकले दावी गरेको हो ।

अक्सर यस्ता शैक्षिक मेलामा समय विताउन र घुमघाम गर्न मात्रै आउने विद्यार्थीको संख्या धेरै हुने गरेकोमा यसपटक कुरै बुझौं भन्ने उद्धेश्यले आउने विद्यार्थी धेरै पाएको आयोजक नेपलिज एसोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ्स् (नायर) का अध्यक्ष तथा प्रोफेशनल एजुकेशन कन्सल्टेन्सिका कार्यकारी निर्देशक एस के श्रेष्ठले बताए ।

शनिबार देखि शुरु भएको मेलाको पहिलो दिन शनिबार अकस्मात परेको झरी र दोश्रो दिन आईतबार बन्दको हल्लाका कारण सोचे जति विद्यार्थी नआएको उनले बताए । मेलामा ३ हजार विद्यार्थी आउने अपेक्षा गरिए पनि २ हजार हाराहारीमा मात्रै आएको अनुमान छ ।

'संख्या ठूलो कुरा हैन, मुख्य कुरा मेलामा आउने विद्यार्थी घुम्ने हिसावमा मात्रै आएको देखिएन'  एडुखबरसंग श्रेष्ठले भने, 'राम्रै संग बुझ्ने र नबुझेका कुरा पटक पटक सोध्ने गरेको देख्दा मेला गुणस्तरका हिसावले सफल भएको हाम्रो ठहर हो ।'

अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिँदै आएका परामर्शदाताहरुको संगठन नायरको आयोजनामा भएको मेलामा ३० स्टल र अष्ट्रेलियाका विभिन्न ५ विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।

अष्ट्रेलिया अध्ययनसँग सम्बन्धित विषयवस्तुहरुको बारेमा विद्यार्थीलाई सम्पूर्ण जानकारी दिन मेला सफल भएको मेला संयोजक तथा यूनिक्याम्पसका प्रवन्ध निर्देशक विज्ञान श्रेष्ठले बताए । नायर, अष्ट्रेलियाका शिक्षण संस्था र अष्ट्रेलियन अध्यागमन विभागसँग नजिक रहेर काम गर्दै आएको संस्था हो ।  

मेलाबाट अष्ट्रेलिया अध्ययनसँग सम्बन्धित विषयवस्तुहरुको बारेमा विद्यार्थी र अभिभावकले सम्पूर्ण जानकारी पाएको मेला ब्यवस्थापक वान अप इभेन्ट्स एण्ड मिडिया सोलुसनका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले दावी गरे । मेलाको सफलताले आउँदा दिनमा पनि यस्ता मेला गर्न थप उत्साह मिलेको उनको भनाई छ ।

प्रतिक्रिया