Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

विद्यार्थीलाई यसरी पनि दिए मानसिक यातना

मंगलबार, ११ असोज २०७३

काठमाडौं ११ असोज / बाँकेका निजी तथा संस्थागत विद्यालयले शुल्क नियमित नतिरेको भन्दै विद्यार्थीलाई घन्टांै कक्षाबाहिर उभ्याउने तथा विभिन्न प्रकारका मानसिक यातना दिने गरेको पाइएको छ ।

निजी तथा संस्थागत विद्यालयहरूले पर्वलाई बहाना बनाउँदै कात्तिकसम्मको शुल्क, जेनेरेटर, कम्युटर शुल्कलगायतको माग गर्दै अभिभावकलाई पठाएको शुल्कको पत्र राजधानीलाई प्राप्त भएको छ । शिक्षा नियमावलीअनुसार शिक्षण शुल्कबाहेक अन्य शुल्क कुनै पनि बाहानामा उठाउन पाइँदैन । तर, जेनेरेटर, पानी, बस, कम्प्युटरलगायतको शीर्षकमा अभिभावकसँग चर्को शुल्क असुल्ने गरेको पाइएको छ ।

नेपालगन्जको सल्यानी बंगलामा रहेको गोल्डेन एबीसी माविले अग्रिम शुल्क माग गरी अभिभावकलाई पठाएको रसिदमा जेनेरेटर र कम्प्युटरसमेतको शुल्क जोडिएको छ । असोज र कात्तिकमा झन्डै डेढ महिना पर्व बिदा हुने परम्परा छ, तर विद्यालयले बिदाको बेलामा पनि अभिभावकसँग चर्को रकम असुल्ने गरेको प्रमाण भेटिएको हो ।

विद्यालयले तोकेको पोसाक नलगाएको भन्दै छात्रालाई घर फर्काएको गोल्डेन एबीसी माविले विद्यालय बन्द हुने समयमा पुनः जेनेरेटर तथा कम्प्युटरसमेतको नाममा अग्रिम शुल्क लिन थालेपछि अभिभावकले आक्रोश व्यक्त गरेका छन् ।

विद्यालयबाहिर भेटिएकी नाज्मा हल्वाईले भनिन्, ‘कहिले पोसाकको निहुँ बनाएर हाम्रा केटाकेटीलाई घर फर्काउँछ । कहिले अग्रिम शुल्क मागेर हामीलाई पत्र पठाउने अनि शुल्क आएन भनेर हाम्रा केटाकेटीलाई घन्टांै कक्षाबाहिर वा प्रार्थनाको समयमा लाइन छुट्ट्याएर घन्टौं उभ्याउने गरेको छ ।’

उनले नजिक आउँदै गरेको दसैं र दीपावलीको अवसरमा विद्यालय करिब एक महिनादेखि डेढ महिनासम्म बन्द हुने जानकारी आएको बताउँदै प्रश्न गरिन्, ‘बन्दको बेलामा पनि हामीले जेनेरेटर र कम्प्युटरको शुल्क किन तिर्ने ? पढाइ नै नहुने महिनाको किन तिर्ने ?’ उनले आक्रोशसाथ भनिन् ।

अर्का अभिभावक वृजलाल साहू आफ्ना दुई बच्चा सो विद्यालयमा अध्ययन गर्दै रहेको बताए । विद्यालयले आफूलाई कुनै जानकारी नै नगराई अग्रिम शुल्क नतिरेको भन्दै करिब ३ घण्टा बच्चालाई कक्षाबाहिर उभ्याएकाले मेरो बच्चालाई किन कक्षाबाहिर उभ्याएको ? भनेर सोधेको हुँ,’ उनले भने ।

विद्यालयका सञ्चालक विकास सिंहले वर्षको ६ महिना प्रतिविद्यार्थी महिनाको सय रुपैयाँका दरले जेनेरेटरको इन्धन खर्च लिने विद्यालयको नियमअनुसार उठाएको दाबी गरे । उनले भने, ‘अत्याधिक गर्मी र लामो समयको लोडसेडिङको कारण ८ लाखमा जेनेरेटर खरिद गरी मासिक १ सय उठाउने गरेका छौं ।’ विद्यालयको कर्मचारीको तलबका लागि असोज र कात्तिकको शुल्क लिने गरेको उनले बताए । नेपालगन्जको गुलरिया रोडमा रहेको स्टार फयुचर स्कुलले शुल्क नतिरेको भन्दै टर्मिनल परीक्षाबाट बाहिर निकालेको अभभिावकले गुनासो गरेका छन् । एकैपटक धेरै रकमको माग गर्दै विद्यालयले विभिन्न खाले यातना दिँदा सजिलै शुल्क उठ्ने भएको कारणले विद्यार्थीलाई अनावश्यक मानसिक यातना दिने गरेको अभिभावकको गुनासो छ ।

निजी तथा संस्थागत विद्यालय सञ्चालकको संस्था प्याब्सन, बाँकेका अध्यक्ष ऋषिकेश जीसीले कुनै पनि बहानामा अग्रिम शुल्क र शिक्षण शुल्कबाहेक अन्य शुल्क लिन नपाइने कुरा स्पष्ट पार्दै प्याब्सनको नीतिमै नभएको कुरा नगर्न सबै प्याब्सनसँग सम्बन्धित विद्यालयलाई अनुरोध तथा जानकारी गराएको बताए । जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापाले शिक्षण शुल्कबाहेक अतिरिक्त शुल्क लिन नपाउने अवस्थामा विद्यालयले अग्रिम शुल्क मागेर विद्यार्थीलाई मानसिक यातना हुने गरी कुनै पनि विद्यालयलाई छुट नभएको बताए । उनले प्रमाणसहित अभिभावक आएमा नियमविपरीत गर्ने विद्यालयलाई आफूले कारबाही अघि बढाउने बताए ।

रुद्र सुवेदीले अग्रिम शुल्क माग्दै विद्यार्थीलार्य मानसिक यातना शिर्षकमा राजधानीमा लेखेको खबर ।

प्रतिक्रिया