Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

धार्मिक पुस्तक धेरै बिक्री

मंगलबार, ११ असोज २०७३

काठमाडौं ११ असोज / ‘सफलताका लागि पुस्तकसँग प्रेम’ सन्देशसहित भृकुटीमण्डपमा जारी राष्ट्रिय पुस्तक मेलामा धार्मिक पुस्तक धेरै बिक्री भएको छ । चाडपर्वको बेला भएकाले पाठकले धार्मिक पुस्तक बढी किनेको मेला संयोजक पुण्यप्रसाद प्रसाईंले बताए ।

भदौ ३० मा सुरु प्रदर्शनी दैनिक करिब ५÷७ हजार जनाले अवलोकन गर्ने गरेको आयोजक डिकुरा पब्लिकेसनले जनायो । ‘दिनहुँ करिब ५ लाख रुपैयाँ बराबरका पुस्तक बिक्री भइरहेको छ,’ संयोजक प्रसाईंले भने, ‘सबैभन्दा बढी धार्मिक त्यसपछि जीवनी, आत्मकथा (सेल्फहेल्प) र फिक्सन बढी बिक्री हुने गरेका छन् ।’ बालसाहित्य पनि मेलामा राम्रै बिक्री भइरहेको उनले बताए । पाँचपोखरी प्रकाशनको स्टलमा रहेका आइते लामाका अनुसार पनि जीवनी र प्रेरणात्मक पुस्तक पाठकको नजरमा बढी पर्छन् । चाणक्य ऐतिहासिक उपन्यास, आइ एम मलाला, स्टिभ जब्सजस्ता पुस्तक बढी बिक्री भएको उनले सुनाए ।

पाटनबाट प्रदर्शनीमा आएका लक्ष्मीभक्त श्रेष्ठले स्वस्थानीको पुस्तक लिन आएको बताए । ‘घरमा किताब त छ, तर अध्याय लामा छन्,’ श्रेष्ठले भने, ‘अहिलेको स्वस्थानी किताबमा छोटा अध्याय र बुझ्ने शैलीमा कथा छन् भनेर मेलाबाट लैजाउँ भनेर आएको हुँ ।’ मेलामा आइपुगेकी गोंगबुकी शर्मिला तामाङले आफू किताबको पारखी नै नभए पनि त्यहाँ आएपछि पढैं पढौं लागेर पुस्तक छान्न लागेको बताइन् । उनी कुन पुस्तक पढौं भनेर अलमलमा थिइन् । ‘म नयाँ पाठक भए पनि साहित्यमा चासो राख्छु,’ उनले भनिन्, ‘पुस्तक छान्दै छु, यसपाली दसैंमा दुईचारवटा ज्ञानवद्र्धक पुस्तक पढ्ने योजनामा छु ।’

मेलामा ६ वटा स्टल छन् । आयोजकले बताएअनुसार एक सयभन्दा बढी प्रकाशनका पुस्तक मेलामा राखिएका छन् । मेलामा प्रवेश शुल्क लाग्दैन भने पुस्तक खरिदमा प्रकाशन हेरी १५–३५ प्रतिशत छुटको दिइएको छ । मेला असोज १५ सम्म चल्नेछ ।

खिलक बुढाथोकीले नागरिकमा लेखेको खबर ।

 

 

प्रतिक्रिया