Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

कक्षा कोठामै आवश्यक पाक शिक्षा

बुधबार, १२ असोज २०७३

संसारभरीकै तथ्याङ् विश्लेषण गर्ने हो भने प्रत्येक वर्ष ३० लाख बालबालिकाको ज्यान कुपोषणकै कारण जाने गर्छ । त्यसमा पनि अधिकांश बालबालिकाहरु अफ्रिकी मुलुक तथा दक्षिण एसियाका मुलुकहरुका हुन्छन् । यसको मुख्य कारण खानपान सम्बन्धि शिक्षाको कमि हो । अधिकांस मानिसलाई लाग्ने रोगको प्रमुख कारण नै खानपान र जीवनशैली हो । यसमा कुनै दुबिधा छैन । त्यसमाथि बालबालिकाहरुको हकमा भने यो बिषय झन् महत्वपुर्ण हुन्छ । किन भने रोग प्रतिरक्षाको हिसावमा उनीहरुको शरीर कमजोर हुन्छ । त्यसैले उनीहरुलाई खानपान बारे उचित शिक्षा दिनु अभिभावकको पहिलो जिम्मेवारी हो ।

विकसित भनिएका देशहरुमा पनि पछिल्लो समयमा बालबालिकाको स्वास्थ्य स्थितिलाइ मध्यनजर गरेर विभिन्न क्षेत्रका खाद्य विज्ञहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । जलवायु परिवर्तन अनि विभिन्न प्रदुषणबाट गुज्रिएको हाम्रो समाजमा खानपान शिक्षा स्वास्थ्य र जीवनशैलीसंग जोडिएको बिषयबस्तु भएकाले अझ यो अपरिहार्यता भएको हो ।                  

हाम्रा कक्षा कोठाहरुमा सैद्धान्तिक पठन पाठन मात्रै हुँदै आएको छ । शिक्षालाई ब्यवहारिक रुपमा रुपान्तरण गर्न कक्षा कोठाहरुमा फरक ढाँचा भित्र्याउनु आवश्यक छ । जसको शुरुवात पाक शिक्षाबाटै गर्न सकिन्छ । किन भने देशका नागरिक स्वस्थ्य भए भने देशको जनशक्ति सक्षम र योग्य हुन सक्छ । अनी बल्ल अन्य विकासको आधार बलियो बन्न सक्छ ।

त्यसो त पाक शिक्षा सैद्धान्तिक शिक्षा मात्र नभई पूर्णतः स्वास्थ्य जीवनशैलीसंग जोडिएको बिषय भएकाले बालबालिकालाई प्रयोगात्मक सन्तुलित आहार–व्यहार सिकाउनु पर्छ । बाल्यकालमा पर्ने असर या प्रभाबले नै भविष्य निर्धारण गर्ने हुनाले सानै उमेरबाट खानपान सम्बन्धि शिक्षा दिन सकियो भने कुपोषणबाट हुने मृत्युदरलाइ कम गर्न मात्रै हैन मानव समाजको स्वास्थ्यको अवस्थालाई थप सुदृढ बनाउन मद्दत पुग्छ ।

हाम्रै घर वरपर प्राकृतिक रुपमा फलाइएका तरकारी, फलफुल, अन्य खाद्यान्नहरुलाई नै विभिन्न परिकार बनाएर खान सकिन्छ । बालबालिकाहरुमा सलाद अनि सुप खुवाउने बानि बसाल्नु पर्छ जस्तै फर्सी, गेडागुडी, गाजर, ब्रोकौली, काउली आदि । प्रत्येक बालबालिकाले खाने प्रत्येक खाना शरीरको लागि इन्धन अनि औषधिको रुप हो भन्ने कुरा हामीले बुझ्न र बुझाउन जरुरी छ ।

प्रोसेस गरेर बनाइएका आधुनिक नाम दिइएका खानाहरु र चिनी मिश्रित खानाहरुप्रति बालबालिकाहरु अकर्षित हुनु स्वाभाविक हो । तर अभिभावकहरुले यस्ता खानाहरुलाई उच्च सतर्कतामा राख्नु पर्छ । अहिले विश्वभरिनै चिनीको उपयोगलाई लिएर टाउको दुखाइको बिषय बस्तु बनेको छ । खाद्य विज्ञहरु चिनीलाइ अल्कोहल अनि नशा जन्य पदार्थहरु संग तुलना गर्छन्, त्यसमाथि बालबालिकाहरुको हकमा भने हामीले सोच्नै पर्छ । बरु गुलियो खानाका विकल्पमा बालबालिकालाई मह, फलफुल, दुध आदि खुवाउन सकिन्छ र यो सुरुवात हामी आफै अभिभावकबाट सुरु गर्नु पर्छ अनि उनीहरुले सिको गर्दै जाने छन् ।        

हाम्रो समाजमा भएको अर्को भ्रमको पाटो भनेको चिल्लो पदार्थ जसको कारण मोटाईन्छ  अनि रोगि भईन्छ भन्ने तर खाद्य विज्ञहरु भन्छन् मोटोपन चिनीको कारण बढ्छ   ।

चिल्लो पदार्थ बरु हाम्रो स्वस्थकर खानामा नभई नहुने तत्व हो । हाम्रो शरीरलाई चाहिने भिटामिन ए, डी, ई र केलाई सोस्न चिल्लो पदार्थ नभई हुँदैन । प्राकृतिक तेल, नरिवलको तेल, तिलको तेल, भटमासको तेल, माछा, आवोकाडो आदिको तेलबाट प्राप्त हुने चिल्लोलाई हामी अनस्याचुरेट चिल्लो भन्छौं जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

त्यसैगरि बालबालिकालाई सिकाउनु पर्ने अर्को पाटो भनेको खानाको हाइजिन प्रक्रिया हो, जुन पोषण संगसंगै गरिने नियम पालना हो । बालबालिकाको व्यक्तिगत सरसफाई त छदै छ, तापक्रम अनुसारको काँचो या पकाएर खाने खाना र तिनको व्यवस्थापन लगायत समय अनुकुल खाने तरिकाको शिक्षा दिनु पर्छ । जस्तै काँक्रो, गाजर, गोलभेडा, अनि सबै जसो सिजन अनुसारको सलादहरु, फलफूलहरु ठिक्कको चिसोमा राख्नु पर्छ । जसलाई काँचै खाँदा पनि फरक पर्दैन । यसैगरि केही खानाहरु तात्तातो नै खानु पर्छ । विशेष गरि बच्चाहरुको हकमा बासी त कहिले खुवाउनै हुदैन ।        

अब, केहि पोषण तथ्यको पनि कुरा गरौँ । बालबालिकाहरुको शारीरिक अनि वौद्धिक विकाशका लागि प्रोटिन, भिटामिन,  खनिज आदि तत्व आवस्यक हुन्छ । जस्तै प्रोटिन बालबालिकाहरुको शारीरिक अनि वौद्धिक वृद्धिका लागि हो । जुन दुध,  कुखुराको मासु, अण्डा, दहि आदिमा पाइन्छ । सोडियम, क्याल्सियम, आइरन जस्ता खनिज पदार्थ पनि शरीरको लागि अत्यन्त आवश्यक भएकोले बालबालिकालाई हरियो सागसब्जी, बन्दा, दाल, भटमास, च्याउ, ओखर, दुध, माछा, गहुँ, जौ ....आदि खुवाउन प्रेरित गर्नु पर्छ ।

त्यसैगरी शरीरलाइ सन्तुलित अनि संरचनात्मक राख्न भिटामिन ए, बि १२, बि ६, सी, डी, इ, के .. आदिको आवस्यकता पर्छ जुन प्राकृतिक खाद्यान्न, माछा, अण्डा, दुग्ध जन्य परिकार  आदिमा पाइन्छ ।  
कार्वोहाइड्रेट र चिल्लो प्रकारको खानाले मोटाइन्छ भन्ने आम बुझाई भए पनि बालबालिकाहरुलाई केहि मात्रामा यो आवस्यक पर्छ । जसले शरीरलाई शक्ति दिन्छ । जस्तै  फलफुल, तरकारी, ग्रैन, काजु, ओखर, आवोकाडो, माछामा पाइने तेल, विभिन्न वियाँ, शुद्ध प्रशोधित तेलहरु आदि तर माथि उल्लेख गरेझैं यसलाई खाने तरिका र सन्तुलन भने अपनाउन जरुरी हुन्छ ।

अन्ततः  खानपानसंग सम्बन्धित बिषयबस्तु बिशेष गरि बालबालिकाहरुको हकमा स्वास्थ्यको हिसावले अत्यन्तै महत्वपुर्ण भएकाले उनीहरुलाई व्यवहारिक साथ साथै सैद्धान्तिक शिक्षा दिनु आजको आवस्यकता हो ।

(खानाका विषयमा जानकार परियारसंग अन्र्तराष्ट्रिय स्तरका पाँचतारे होटलहरुमा सेफ भएर काम गरेको अनुभव छ ।)

प्रतिक्रिया