Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

ग्रिटिङ कार्डले फेरियो चाँगुमन्दिर परिसर

बुधबार, १२ असोज २०७३

भक्तपुर । चारैतिर टेको लगाएको चाँगुनारायण मन्दिर, भूकम्पले क्षतविक्षत बनाएको ऐतिहासिक महत्वको चाँगु परिसर । त्यही परिसरमा बुधबार भक्तपुरका एकदर्जन विद्यालयका करिब ३ सय विद्यार्थीहरु भेला भए ।

ती तीनसय विद्यार्थीहरुमध्ये कोही किलेश्वर मन्दिरको छेउमा बसे, कोही मठको, कोही छिन्नमस्ता मन्दिरको छेउमा, अझ कोही कोही त टेको लगाएको चाँगुनारायण मन्दिरकै पेटीमा पनि बसे ।

तिनीहरु त्यत्तिकै त्यो ऐतिहासिक ठाउँमा पुगेका होइनन र त्यत्तिकै आफूलाई पायक पर्ने ठाउँमा बसेका होइनन् । उनीहरु हातमा विभिन्न रंगीचंगी कागज, कलर, कैंची, डट्पेन लगायतका सामग्रीहरुका साथमा त्यहाँ बसेका हुन् ।

आफूलाई पायक परेको ठाउँमा बसेका उनीहरुले त्यहाँ दुई घन्टा समय बिताए र बनाए विभिन्न शुभ अवसरमा एकआपसमा दिइने ग्रिटिङ कार्ड ।

संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुरले आयोजना गरेको ग्रिटिङ कार्ड प्रतियोगिताअन्तर्गत ती विद्यार्थीहरुले भिन्नभिन्न प्रकारका कार्डहरु बनाएका थिए ।

विद्यार्थीहरुको सिर्जनशीलतार्ला उजागर गर्नका लागि आयोजना गरेको उक्त प्रतियोगिताको संयोजन चाँगुकै चम्पक विद्यालश्रमले गरेको थियो । प्रतियोगितामा भक्तपुर इताछेंको हिमालयन ग्लोरी स्कुलकी छात्रा सविना सुवाल प्रथम भइन् ।

विजया दशमी, दीपावली, छठको अवसरमा दिइने शुभकामना कार्डहरुबाट विद्यार्थीहरुको सिर्जनशीलता प्रस्फुटन गराउने उद्देश्यले आयोजित विद्यालयव्यापी प्रतियोगितामा छात्रा सुवालले आर्कषक मात्र नभएर सिर्जनशीलता समेत राम्ररी पोखेर कार्ड बनाएकी थिइन् । प्रतियोगितामा प्रभात सेकेन्डरी स्कुलका क्रिश कोजू द्वितीय र हिमालयन ग्लोरी तृतीय स्कलर होमका इन्दु कुम्पाखले सान्त्वना भएकी छिन् ।
प्रतियोगितामा विभिन्न विद्यालयका ३७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट कार्ड बनाएका विद्यार्थीहरुलाई बुधबारै सम्पन्न एक कार्यक्रमका बीच जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले पुरस्कार वितरण गरेका थिए  ।

सो अवसरमा सहायक जिशिअ पुष्पराज ढकाल, इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा र सदस्य उकेश कवां, प्रभात उमाविका प्राचार्य राम कासुला, चाँगुनारायण मन्दिरका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायलगायतले विद्यार्थीहरुले बनाएको आर्कषक कार्डले मन छोएको बताउँदै विद्यार्थीहरुको सिर्जनशीलतालाई बढावा दिने कार्यक्रमको आवश्कताबारेमा बोलेका थिए ।

 

प्रतिक्रिया