Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा अस्ट्रेलिया

अष्ट्रेलियामा नेपाली विद्यार्थी पुरस्कृत, मन चाँही नेपालमै

शुक्रबार, १४ असोज २०७३

काठमाडौं - अष्ट्रेलियन सरकारले दिने पुरस्कारका लागि छनौट भएका नेपाली विद्यार्थी रत्न पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको छ । गत बुधबार एक समारोहका विच त्यहाँको शिक्षा मन्त्रालयका प्रतिनिधि डाई विड डेलले पौडेललाई पुरस्कार प्रदान गरिन् । १० हजार अष्ट्रेलियन डलर अर्थात् झण्डै ९ लाख रुपैंयाको ‘अष्ट्रेलियन अवार्ड फर युनिभर्सिटी टिचिङ’ पुरस्कार उनको क्षमता अभिवृद्धिका लागि दिईएको हो ।

पुरस्कार प्राप्त गरेपछि एडुखबरसँग भाईवर मार्फत् कुरा गर्दै पौडेलले पुरस्कार लिदैँ गर्दा  देशलाई नै सम्भिएको बताए । त्यति भव्य समारोहमा गाउँबाट आएको केटो पुग्नु भनेकोे ब्यक्तिगत खुसी मात्रै नभई देशकै प्रतिष्ठासंग जोडिएको ठानेको उनले बताए । 'पुरस्कार थाप्दै गर्दा मेहेनत गर्यो भने हरेक नेपालीले अन्र्तराष्ट्रिय स्तरका पुरस्कार प्राप्त गर्न सक्षम छन् जस्तो लाग्यो' उनले भने 'राम्रो शैक्षिक वातावरण, नियम कानूनको सही पालना हुने हो भने नेपालकै शिक्षा क्षेत्रको सुधारमा कृयाशिल हुन सकिन्थ्यो जस्तो लागिरह्यो ।'

शिक्षाको माध्यमबाट विद्यार्थीलाई आत्मनिर्भर बनाउन मद्दत पुर्याएको, रोजगारका लागि सहयोग पुर्याएको, विद्यार्थी केन्द्रित शिक्षा प्रदान गरेको भन्दै उनलाई पुरस्कार दिइएको अष्ट्रेलियाको शिक्षा विभागले जनाएको छ । उनले गर्दै गरेको विद्यावारिधिको विषय पनि गरीबी निवारणमै केन्द्रित छ ।

पुरस्कार वितरण कार्यक्रममा शिक्षा मन्त्री साइमन वर्मिङ्घमले पठाएको लिखित सन्देशमा पौडेल सहित पुरस्कृत सबैलाई देशको छवी उच्च राख्ने गरी कार्य गर्न आग्रह गरिएको छ । पुरस्कृत प्राध्यापकहरुबाट शिक्षण सिकाइमा उल्लेख्य सुधार गर्ने गरी नतिजामूूलक काम हुने आशा गरेको उनको सन्देशमा उल्लेख छ ।

देशका विभिन्न विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापकहरु मध्येबाट पौडेल छनौट भएका थिए ।

उनी युनिभर्सिटी अफ द सनसाईनकोष्टमा एकाउन्टिङ बिषयका प्राध्यापक हुन् । कार्यक्रममा विभिन्न विश्वविद्यालयबाट पुरस्कारका लागि छनौट भएका १ सय ९ जना मध्ये पौडेल एक्ला नेपाली हुन् । उनले यस अघि अष्ट्रेलियाकै युनिभर्सिटी अफ साउदर्न क्विन्सल्याण्ड र युनिभर्सिटी अफ वेष्र्टन सिड्नीमा अध्यापन गराइसकेका छन् ।

विभिन्न विश्वविद्यालयमा प्राध्यापन गर्नेहरुको क्षमता अभिवृद्धिका लागि अष्ट्रेलियन सरकारले दिने पुरस्कारका लागि ४ महिना अघि उनले आवेदन हालेका थिए । देशरभका ३ दर्जन धेरै विश्वविद्यालय मध्ये उनको विश्वविद्यालयबाट मात्रै १५ जना प्राध्यापक प्रतिस्पर्धामा थिए ।

रसुवाको कालिकास्थानका पौडेल देशमा जारी राजनीतिक अस्थिरताका कारण भविष्य खोज्दै अष्ट्रेलिया गएका थिए । शंकरदेव र केही निजी कलेजहरुमा पढाउँदै आएका उनी सन् २००७ मा अष्ट्रेलिया गएका हुन् ।

पढ्नुहोस् : पुरस्कार छनौट सम्बन्धि उनको खबर

यस अघि अष्ट्रेलियाकै विभिन्न विश्वविद्यालय र निकायबाट आधा दर्जन पुरस्कार र सम्मान पाईसकेका पौडेल आफ्नै गाउँको शिक्षाको गुणस्तर सुधार र शिक्षकहरुको क्षमता अभिवृद्धिमा समेत कृयाशिल छन् । २०७२ सालको भूकम्पका कारण दुख पाएका रसुवावासीलाई उनले केही सहयोग समेत जुटाएका थिए । रोटरी क्लव मार्फत् शिक्षाको गुणस्तर सुधारमा समेत सकृय उनी पछिल्लो समय जिल्लाका विद्यार्थी र शिक्षकलाई अष्ट्रेलिया र अष्ट्रेलियाका विज्ञलाई जिल्लाका विद्यालयसम्म लैजाने अभियानका पनि सकृय छन् ।

प्रतिक्रिया