Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

विद्यालयबाट भागेर भारत

शनिबार, ०६ कार्तिक २०७३

काठमाडौं ६ कात्तिक / सुरज गिरी ८ कक्षा पढ्थे । विद्यालयबाटै भागेका उनी एक वर्षपछि भारतमा भेटिएका छन् । अहिले उनी १५ वर्षका छन् । ७ कक्षा पढदै गरेका १४ वर्षीय टीकाराम पुरी पनि विद्यालय गएका बेला उनीसँगै भागेका थिए । त्यस दिन दैलेख दुल्लुका चार जना किशोर नेपालगन्ज हुँदै भारत पसेका थिए ।

सुरज र टीकारामको उद्धार गरिए पनि अन्य दुई किशोर सम्पर्कमा छैनन् । पैसा कमाएर रमाइलो गर्न पाइने प्रलोभन दिएर किशोरहरूलाई भारत लगिएको पाइएको छ । पढ्न भनेर घरबाट हिँडेका दुल्लुकै १४ वर्षीय सुन्दरवन संन्यासी विद्यालयबाटै हराए । हराएको ६ महिनापछि भारतको होटेलमा काम गर्दै गरेको अवस्थामा भेटिएपछि उद्धार गरेर नेपालगन्ज ल्याइएको छ । बुबा दलवन संन्यासीलाई छोरा खोज्न ६ महिना लाग्यो ।
सुन्दरको खोजी गर्दै जाँदा सुरज र टीकाराम पनि भेटिएका हुन् । ‘छोरा हराएपछि खोजीका लागि स्थानीय प्रशासन र बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थामा उजुरी गरे । खोज्दै गर्दा छोरासँगै गाउँका दुई जना किशोर भारत बिहार मुजफरपुरस्थित निर्देश बालगृहमा भेटिए,’ छोरासहित तीन किशोरको उद्धार गरी शुक्रबार नेपालगन्ज आइपुगेका दलवनले कान्तिपुरसँग भने, ‘मैले यसरी छोराको खोजी नगरेको भए यी दुई जनाको अवस्था पनि सार्वजनिक हुने थिएन ।’ उनीहरूलाई गाउँकै दाइ नाता पर्ने व्यक्तिले आर्थिक प्रलोभनमा पारी भारत पुर्‍याएका हृुन् ।
उमेर नपुगेका नेपाली किशोरलाई होटेलमा काम गरेको भेटाएपछि भारतीय प्रहरीले उद्धार गरी बालगृहको जिम्मा लगाएको थियो । डोटी घर बताउने नेपालीले छोराको अवस्थाबारे जानकारी गराएको दलवनले बताए । ‘छोराले त्यो व्यक्तिलाई घरको नम्बर बताएपछि मलाई खबर आयो र उद्धार गर्न सम्भव भयो,’ उनले भने, ‘बिहारको निर्देश बालगृहमा अझै पनि ३२ बालबालिका छन् ।’ नेपालगन्जका सानु सोनु र वीरगन्जकी ६ वर्षीया बालिका पनि त्यहाँ रहेको उनले जानकारी दिए ।
मध्यपश्चिमका बालबालिका पढाइ छोडेर भारत पस्ने प्रवृत्ति बढदै गएको छ । कतिपयलाई प्रहरीले सीमामा रोक्ने गरे पनि बालबालिका हराउने क्रम रोकिएको छैन । गत आर्थिक वर्षमा ४९ बालक तथा ४६ बालिका हराएको जिल्ला प्रहरी बाँकेको तथ्यांक छ । उनीहरूमध्ये अधिकांश पढाइ छोडेर भारत गएको प्रहरीको आशंका छ । बालबालिका उद्धारमा सहयोग गर्ने संस्था सामाजिक सेवा केन्द्रका अध्यक्ष हिरासिंह थापाले बालबालिका सहजै प्रलोभनमा पर्ने भएकाले हराउने क्रम बढेको बताए ।
‘भारतमा राम्रो कमाइ हुन्छ । पैसा कमाएपछि मोबाइल किन्न पाइन्छ । रमाइलो गर्न पाइन्छ भनेर बालबालिकालाई प्रलोभन दिइन्छ,’ उनले भने, ‘त्यसपछि बालबालिका विद्यालयबाटै भागेर भारत जाने प्रवृत्ति बढेको छ ।’
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले पारिवारिक कलह, आर्थिक समस्या, लहैलहैका कारण महिला तथा बालबालिका घर छोड्ने गरेको बताउँछन् । उनका अनुसार हराएकाहरू मजदुरी गर्न भारत पस्ने क्रम बढ्दो छ ।
ठाकुरसिँह थारुले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया