Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

कहाँ सजिलो छ र असल शिक्षक बन्न !

शनिबार, ०६ कार्तिक २०७३

शिक्षक हुनु भनेको विद्यार्थीको मन मस्तिष्कलाई प्रज्ज्वलित पार्नु हो । अनुशासन, नैतिकता, सत्मार्ग सिकाउने शिक्षकहरू सधैँ सहनशील, धैर्य, समानतावादी, सरल, शिष्ट एवं नम्र हुनुपर्छ । किनकी शिक्षकको व्यवहार हेरेर विद्यार्थीले शिक्षकको अनुशरण गर्छन् ।  विद्यार्थीलाई शिक्षाप्रतिको भोक पनि शिक्षकले नै जगाउनु पर्छ । त्यसपछि जिज्ञासाको भोक मेटाउने काम पनि शिक्षककै हो । शिक्षण विधि केवल तथ्य स्मरण गराउने खालको मात्रै नभई व्यवहारिक एवं प्रयोगात्मक हुनु पर्छ ।

सामान्यतया आफूले जानेको बुझेको कुरा अरुलाई सिकाउने व्यक्ति शिक्षक हो । तर आप्mनो ज्ञान, सीप, कलादेखि आप्mनो आदर्श एवं मूल्य मान्यता पनि प्रष्टसँग व्यावहारिक रूपमा सिकाउन सक्ने व्यक्ति मात्रै असल शिक्षक बन्न सक्छ । केवल पाठ्यपुस्तकमा भएको वाक्य एवं हरफहरू पढेर सुनाउने काम मात्रै शिक्षण कार्य होइन । विषयवस्तुसँग सम्बन्धित विभिन्न उदाहरणसहित विषयवस्तुको गहिरो अध्ययन गरेर विद्यार्थीको रुचि, स्तर एवं क्षमता अनुसारको व्यावहारिक ज्ञान दिनु पनि शिक्षकको कर्तव्य हो ।

पढाउँदा मात्रै नभइ शिक्षकले आप्mनो बोली, व्यवहार, आचरण एवं पहिरनमा सधैँ नै विशेष ख्याल राख्नुपर्छ । शिक्षकको बोली सरल, प्रष्ट, नम्र एवं नेतृत्वदायी हुनु पर्छ । विद्यार्थीलाई समान बोली र व्यवहार प्रदर्शन गनुपर्छ । शिक्षकको काम पढाउने, कक्षाकार्य गराउने, गृहकार्य गराउने अनि उत्तरपुस्तिका परीक्षणमा मात्रै सीमित नगरी विद्यार्थी एवं अभिभावकलाई पनि अनुशासन, नैतिकता, चरित्र, आचरण र सत्मार्ग सिकाउन सक्नुपर्छ । शिक्षक आफै बलेर प्रकाश छर्ने व्यक्ति हो । भनाईको तात्पर्य शिक्षकले अरुको आचरण परिवर्तन गर्नु अघि आफैँ उदाहरण बन्नुपर्छ । भनिन्छ संसारलाई बदल्नु छ भने शुरु आफैँबाट गनुपर्छ । त्यसैगरी शिक्षकको जवाफदेहिता अभिभावक र समुदायप्रति रहनै पर्छ । त्यसैगरी समाजमा ज्ञान, सीप बाँड्ने शिक्षकहरूलाई समाजले पनि उचित आदर सम्मान गर्न कञ्जुस्याँई गर्नु हुँदैन ।

शिक्षकहरूसँग विवेक विचार र ज्ञानको शक्तिशाली हतियार हुन्छ । तर असल शिक्षक बन्न शिक्षक आफैँ निरन्तर जिज्ञासु हुनुपर्छ । निरन्तर सिक्नु, ज्ञान प्राप्त गर्नु, सिकेको ज्ञान सीप र कलालाई निरन्तर बाँड्न, विस्तार गर्नु परिमार्जन गर्नु र झन् उन्नत र परिस्कृत ज्ञानराशी निर्माण गर्नु एउटा शिक्षकको चरित्रगत एवं पेशागत धर्म हो । आप्mना विद्यार्थी समाज अनि राष्ट्रका लागि आवश्यक ज्ञान विज्ञान र प्रविधिमा शिक्षकको अधिकार रहनै पर्छ । विषयवस्तुको यथेष्ट जानकारी, पेशाप्रतिको लगाव, पेशागत अनुशासन, कक्षा व्यवस्थापन, विद्यार्थीको रुचि, क्षमता एवं स्तरको राम्रो जानकारी राखेर पढाउन सक्ने शिक्षकहरू नै सफल शिक्षक मानिन्छन् । परम्परागत रूपमा केवल घोकाउने, रटाउने, विद्यार्थीलाई शारीरिक सजाय मात्रै बढी दिने, तर्साउने अनि विद्यार्थीलाई मानसिक तनाव दिने शिक्षक वास्तविक शिक्षक नभई शिक्षक नामधारी व्यक्तिमात्रै हुन् ।

तथ्य स्मरण गराउनै पर्ने भएपनि विभिन्न सुत्रहरू बनाएर सजिलो गरी विद्यार्थीको क्षमता अनुसार रमाइलो वातावरणमा गर्न सकिन्छ । समय सापेक्ष शिक्षण गर्न शिक्षकलाई समय समयमा पुनर्ताजगी तालिम दिईनु पर्छ र त्यस्तो तालिम लिन शिक्षक पनि अग्रसर बन्नुपर्छ ।

शिक्षकले जातीय समानता, लैङ्गिक समामनता, वैचारिक समानता, वर्गीय समानता जस्ता विषयमा संवेदनशील भएर बोल्न र व्यवहार गर्न पर्छ । शिक्षकहरूले नेताले जनतालाई दिने फुस्रो आदर्श र भाषण गरेजस्तो झुटो बोली र व्यवहार गर्नु हुँदैन । मुखले जे कुरा विद्यार्थीका अघि भनिन्छ त्यही कुरा आप्mनो वास्तविक जीवनमा हरहमेशा लागु गर्न शिक्षक तयार रहनुपर्छ । शिक्षकले विद्यार्थीलाई म जे भन्छु त्यो नगर भनेर आदर्शको ढोङ देखाउने काम गर्नु हुँदैन । रूपान्तरणको कुरा गर्नेले जात जातीय र भाषिक राज्यको वकालत गरेर निश्चित समुदायको मात्रै पृष्ठपोषण गर्ने काम शिक्षकले कहिल्यै गर्नुहुँदैन । हामी शिक्षकहरूले पढाउँदा गर्ने कुराहरू सधैँ सम्झेर वास्तविक जीवनमा लागु गर्न सक्नु पर्छ । शिक्षकले सधैँ मैले पढाएको, सिकाएको, भनेको कुरा अनि काम र मैले गरेको व्यवहारमा के कति भिन्नता छ भनेर स्व मूल्याङ्कन गनुपर्छ ।

असल शिक्षकहरूले नै असल नेता, शासक, प्रकाशक जन्माउन सक्छन् । त्यसैगरी विद्यार्थीहरूको रुचि, इच्छा, क्षमता अनुसार पढाउन सक्ने व्यक्ति मात्रै शिक्षण पेशामा सफल हुन सक्छ । पहिले पहिले ज्ञान, सीप र कलालाई सबैको पहुँच र अधिकार क्षेत्र भित्र पु¥याउन शिक्षकले मात्रै महत्वपूर्ण भूमिका निभाएका हुन्थे तर विज्ञान र प्रविधिको विकास र विस्तारले वस्तु र सेवा मात्रै उत्पादन गरिरहेका छैनन् । हिजोआज इन्टरनेटको सहायताले ज्ञानको भण्डारलाई सबैका निम्ति सहज, सरल र सुगम पनि बनाइदिएको छ ।  

एकजना शिक्षकले हजारौँ डाक्टर पाइलट, इञ्जिनियर, व्यापारी उत्पादन गर्छ तर हजाराँै डाक्टर, पाइलट अनि व्यापारीहरूले एकजना पनि असल शिक्षक उत्पादन गर्न सक्दैनन् । तसर्थ समाज रूपान्तरण गर्न शिक्षकले अहम् भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

( गुरागाई शिक्षक हुन् )

प्रतिक्रिया