शिक्षामा अनुसन्धान निर्देशित नीति नियम र पाठ्यक्रमको खाँचो


- डा. रामहरि लामिछाने, महानिर्देशक, कोलम्बो प्लान स्टाफ कलेज

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् सिटिईभीटीले कोलम्बो प्लान स्टाफ कलेज मनिलासंगको सहकार्यमा प्राविधिक शिक्षाको अनुसन्धानलाई चुस्त र बलियो बनाउने उद्देश्यले कार्यक्रम शुरु गरेको छ ।

एसिया प्यासिफिक अन्र्तगत १७ देश आवद्ध कोलम्बो प्लान स्टाफ कलेजका महानिर्देशक लामिछाने सिटिईभीटीका पूर्व सदस्य सचिव भएका नाताले पनि प्राविधिक शिक्षाको विकास र विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । उक्त कार्यक्रमका लागि नेपाल आएका लामिछानेसंग प्राविधिक शिक्षाको अवस्था र अनुसन्धानको खाँचो बारे प्रमुख सम्वाददाता हरिसुन्दर छुंकाले गरेको कुराकानी :

  • कोलम्बो प्लान स्टाफ कलेजले सिटिईभीटीसंगको सहकार्यमा गरिरहेको यो पाँचदिने तालिमको खाँचो किन पर्यो ?

कोलोम्बो प्लान स्टाफ कलेज र सिटीइभिटी मिलेर प्राविधिक शिक्षाको क्षेत्रमा कृयाशिल जनशक्तिलाई टिभेट क्षेत्रमा आवश्यक अनुसन्धान र विकास विषयमा जानकारी दिन र सक्षम बनाउन यो कार्यक्रम गरिएको हो । रिर्सच डिजाइन, रिसर्च कसरी गर्ने, अनुसन्धानलाई अझ कसरी चुस्त बनाउने भन्ने विषयमा क्षमता अभिवृद्धि गर्ने विषयमा यो ताालिम केन्द्रीत छ ।

यसको मुख्य उद्देश्य भनेको हामी विभिन्न भोकेशनल ट्रेनिङहरु चलाउँछौं तर अहिले जहाँ पनि मुख्य मुद्धा के भएको छ भने दक्ष प्राविधिक जनशक्तिको माग र आपूर्ति बिच तालमेल मिलेको छैन ।  त्यो ग्याप किन भयो भने प्राविधिक विषयका हाम्रा पाठ्यक्रमहरु अनुसन्धानमूलक छैनन्, हामी त्यहीँ चुकिरहेका छौं । बजार अनुसन्धान गर्ने, कस्तो खाले जनशक्तिको आवश्यकता बढ्खो छ ? तिनीहरुको माग बढिरहेको छ कि घटिरहेको छ ? भन्ने कुराको प्रभावकारी अध्ययन नै भएन ।

जस्तै हामी मेकानिकल टे«निङ दिन्छौ भने सँधै एउटै खाले कार्यक्रम भएको छ । हामीले हाम्रै देशमा रहेको जनकपुरको रेलको लिक बनाउन सकेका छैनौं, सल्ल्यानको खुकुरी बनाउने एउटा बुढो मरेपछि त्यहाँको खुकुरी कसले बनाउने भन्ने सम्मको हामीकहाँ समस्या छ । खोइ त त्यता तिरको हाम्रो अध्ययन र अनुसन्धान ?

हामीकहाँ त्यो अभ्यास हुन सकेको छैन । यसकारण जुन देशमा कार्यक्रम गर्दैछौं, त्यही देशको बजार र ग्लोबल मार्केटलाई अध्ययन गरेर हरेक वर्ष पाठ्यक्रममा सुधार गर्नुपर्छ भन्ने मान्यतामा यो कार्यक्रम गरिएको हो । 

  • दक्षिण एसियमा सिप विकास र जनशक्ति उत्पादन र खपत सम्बन्धमा नेपालको अवस्था कस्तो छ त ?

हामीले टेक्निकल र व्यावसायिक तालिम र सीपको कार्यक्रम सुरु गर्दा हाम्रा पूर्वाधार र संरचनाको हिसावमा अन्य देशको तुलनामा अघि नै थियौं । हामी कहाँ पछाडि छौं भन्दा हामीले समय अनुसार अपडेट गर्न सकेका छैनौं । हामीभन्दा पछि सुरु गर्ने कति देशले निक्कै फड्को मारिसकेको अवस्था छ ।

यसको मुख्य कारण हामीले नयाँ कुरा इनोभेसन र रिसर्चमा मतलवै राखेनौं । हामी जे थियौं, त्यसैमा रमाइरह्यौं, यसले गर्दा बजारले हामीलाई छोड्दै गयो । समयको प्रवाह अनुसार हामी चल्न सकेनौं । मार्केटमा हामी अग्रणी हुँदाहुँदै मार्केटले हामीलाई छोडिसकेको छ ।

  • अन्य देशमा कस्तो हुँदो रहेछ ?

मुख्य कुरा पाठ्यक्रम हो । त्यहाँको पाठ्यक्रम हाम्रो जस्तो समय सान्दर्भिक नभएको छैन । साउथ कोरियाले प्रत्येक वर्ष त्यस्ता कोर्समा रिभाइज गर्ने गरेको छ, किनभने  अहिलेको समय भनेको आइटीको समय भइसकेको छ । आइसिटी र टेक्नोलोजीले गर्दा अहिले सिकाएको कुरा ६ महिनापछि आउटडेटेड भइसकेका हुन्छन् ।

भर्खरै युनेस्कोले् एउटा अध्ययन प्रतिवेदन  सार्वजनिक भएको छ । त्यो रिसर्चले के देखाएको छ भने हामी यही टे«ण्डमा गयौं भने सन् २०२० मा ५५ प्रतिशत मान्छेहरु बेरोजगार हुनेछन् । किनभने अबको ५ वर्षपछि आउने स्किल र अहिले सिकिरहेको स्किल म्याच नै हुँदैन । अहिलेको ज्ञान इन्फमेसन बेस, टेक्नोलोजी बेस भइरहेको छ ।

हामी चाहिँ आजभन्दा बीस वर्ष अघिको कोर्स पढाइ रहेका छौं । यसले हाम्रो लगानी पनि खेर जान्छ, उत्पादित जनशक्ति बजारमा अपत हुन सक्ने अवस्थै हुन्न । हेर्दा, मान्छे उत्पादन भएको देखिन्छ, तर खपतनै हुन्न । किन भन्दा त्यहाँ टेक्नोलोजी, स्किल ग्याप भइसकेको हुन्छ ।

अहिले टेक्निकल, डिजिटल, एन्टरप्रेरिनियर र सोसियल, चारवटा स्किल सिकाउन सकिएन भने त्यहाँबाट उत्पादित विद्यार्थीले काम पाउँदैनन् । जस्तो अहिले मध्यपूर्वमा मान्छे गइरहेका छन्, त्यहाँ गएका मान्छेले त्यहाँको भाषा, नयाँ टेक्नोलोजीमा र अलिकति पढेलेखेको मान्छे पठाउन सकिएन भने नेपालीहरुलाई अरुले विस्थापित गर्नेछ । अहिले ती देशहरुमा रहेका नेपालीहरुलाई क्रमशः श्रीलंका, बंगलादेश, फिलिपिन्सलगायतका देशका कामदारले विस्थापित गरिरहेको अवस्था छ । यसको लागि पनि रिसर्च हुनु जरुरी छ । बजारको माग कस्तो छ ? पत्ता लगाएर अनुसन्धानमा आधारित पाठ्यक्रम बनाउनुको विकल्प छैन ।

  • त्यसो हो भने नेपालमा अनुसन्धान मूलक पाठ्यक्रम निर्माणको अवस्था कस्तो छ त ?

नेपाल वास्तवमै अनुसन्धानमा पछाडि नै छ । हामी रिसर्च बेस काम गरिरहेकै छैनौं । यहाँ (सिटीइभिटीमा) मात्र होइन, अन्य क्षेत्रमै पनि हामी कमजोर छौं । प्राविधिक मात्रै हैन अन्य अनुसन्धानका निकायहरुको अवस्था हेर्दा पनि थाह हुन्छ । त्रिभुवन विश्वविद्यालयको अनुसन्धान गर्ने निकाय सेरिडको  विजोग बाटै त्यो पुष्टि हुन्छ । अध्ययन अनुसन्धान गर्ने निकायमा अनुसन्धान हुन्न, त्यहाँ त मान्छे लगेर थन्क्याउने ठाउँजस्तो भइरहेको छ ।

  • प्राविधिक शिक्षा भन्नाले गरीखाने अथवा भनौ आत्म निर्भर हुने शिक्षा, हाम्रा दलका नीति, नेताका भाषण, कार्यक्रमका नारामा प्राविधिक शिक्षाका कुरा कमजोर छैनन् । तर काम भईराखेको छैन, अव के गर्ने त ?

पहिलो कुरा राज्यले अध्ययन अनुसन्धानका लागि लगानी गर्नुपर्यो, लगानीका लागि रिसर्च गर्न सक्ने जनशक्ति तयार गर्नुपर्यो, टेक्नोलोजी दिनुपर्यो, रिसर्च रिपोर्टको आधारमा नीतिगत निर्णय हुनुपर्यो । विश्वका अन्य मूलूकको शिक्षाका नीति नियम हेर्दा अनुसन्धानले निर्देशित गर्दो रहेछ  । जुन कुरा मैले पनि अहिले थाहा पाएको छु । हामी कहाँ रिसर्च गर्ने नाम मात्रको भइरहेको छ । त्यसैलाई नसुधारी हुन्न । यसको लागि सबैले प्रयास गर्नु जरुरी छ ।

शैक्षिक संस्थामा न्यूनतम पनि कूल बजेटको १० प्रतिशत बजेट अध्ययन अनुसान्धालाई दिनुपर्छ । हामीकहाँ त शुन्य वा शुन्य दशमलव एक प्रतिशत पनि छैन, रिसर्चको लागि । दुईलाख, तीन लाख दिएर उही झारा टार्ने, टेण्डर निकाल्ने, तीन लाखको कोटेशन लिएर  रिसर्च ग¥यौं भनेर त रिसर्च हुन्न नि । रियल रिसर्च बेस्ड (अनुसन्धानात्मक) भएर पाठ्यक्रम डिजाइन गर्यौं भने सफल हुन्छ ।

  • अहिले तपाईहरुले गर्नु भएको यो पाँचदिने गोष्ठीबाट अनुसन्धानको क्षेत्रमा कस्ता खाले जनशक्ति तयार हुन्छन् त ?

कम्तीमा पनि सिटीइभिटीको अनुसन्धान सहित अरु विभागहरु र प्राविधिक शिक्षा दिने टेक्निकल स्कुलहरुका ब्यपक्तहरुले आआफ्नो ठाउँमा गएर अनुसन्धान गर्न जान्ने सिप सिक्नेछन् । उनीहरुले प्रपोजल बनाउने,  टुल कसरी बनाउने, डिजाइन कसरी बनाउने, रिपोर्ट कसरी लेख्ने तरिका सिक्नेछन् ।

अबको पाँच वर्षमा नेपाललाई कस्तो खाले जनशक्ति चाहिएला, पाँच वर्षपछि यहाँ कतिजना प्लम्बर चाहिन्छ, नर्स कति चाहिन्छ भन्ने कुरा हचुवाको भरमा भन्दा बजार हेरेर उनीहरुले गर्ने अनुसन्धानबाट आएको तथ्यले पक्कै यथार्थ बाहिर आउँछ । त्यतिमात्र होइन, प्राविधिक विद्यालयहरुलाई दिने सम्बन्धनको पुष्टि पनि उनीहरुले गर्ने अनुसन्धानले पत्ता लगाउन सक्छ ।