Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

शिक्षक आएनन् वा आएर पनि पढाएनन् ? गर्नुस् फोन

आइतबार, १२ मंसिर २०७३

काभ्रे - सामुदायिक विद्यालयका शिक्षकहरु समयमा विद्यालय नआउने तथा आएपनि पुरा अवधि नबस्ने गुनासो बढ्न थालेपछि शिक्षकहरुलाई तह लगाउने उपाय स्वरुप जिल्ला शिक्षा कार्यालयले ‘हेलो जिशिअ’ कार्यक्रमको अवधारणा शुरु गरेको छ । गत कात्तिक २७ गते एडुखबरमा प्रकाशित खबर प्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त अवधारणा शुरु गरेको जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङले बताए ।

‘तपाइँहरुले उक्त विद्यालयको कक्षा १० मा पढ्ने एक विद्यार्थीसँग कुरा गरी त्यहाँको पढाइ र शिक्षकहरुको आनीबानीबारे समाचार प्रकाशन गरेपछि हाम्रो ध्यान गएको हो' कार्यक्रम थालनी गर्नुको कारणबारे जिशिअ गुरुङले भने 'सो विषयमा हामी अझै पनि अनुसन्धानमै छौं, त्यही कारण हामीले तत्कालै हेलो जिशिअ कार्यक्रम थालनी गरेका छौं ।’

समाचार सार्वजनिक भएपछि स्कुल प्रशासन, शिक्षकहरुबाट विद्यार्थीलाई स्कुलबाट निकाल्ने सम्मको चेतावनी दिइएको जानकारी आएपछि आफै सो विद्यालयमा पुगेको पनि गुरुङ्ले बताए ।

‘विद्यालयमा पुगेर मैले वास्तविकताका सम्बन्धमा अनुसन्धान गर्ने बताएको छु, तर आइन्दा शिक्षकहरु समयमा आएनन्, आएर पनि पढाएनन्, विद्यार्थीलाई अनावश्यक रुपमा तर्साउने गरे तत्काल मलाई फोन गर्न मैले फोन नम्बर नै दिएर आएको छु’ उनले भने ।

अनुगमनका क्रममा उनले सो विद्यालयका अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी र स्वयम् विद्यार्थीसँग अन्तरक्रिया पनि गरेका छन् ।

‘विद्यालयमा पढाउने शिक्षक समयमा आउँदैनन्, अथवा पढाइ रहँदा काम छ भनेर पढाउनै छाडेर गएको जानकारी पाउने बित्तिक्कै मलाइ नडराइ फोन गर्नु भनेको छु ।’ उनले भने ।

‘गुनासोका लागि कोही पनि विद्यार्थीले मेरो व्यक्तिगत मोबाइल नम्बर 9851021375 मा फोन, एसएमएस गर्न सक्छन् । यतिमात्र नभएर मलाई चिठ्ठी लेख्न सक्छन् ।’ उनले भने । गुनासो आएको चौविस घण्टाभित्र त्यसको सुनुवाइ गर्ने उनले बताए ।

तिमालस्थित नारायणस्थान माविको कक्षा १० मा अध्ययनरत कान्छा स्याङ्बाको विद्यालय तथा पढाइ अनुभव एडुखबरमा प्रकाशित भएको थियो ।

पढ्नुहोस् : पढे पढ, नपढे नपढ !

स्याङ्बाले विद्यालय, शिक्षक र प्रधानाध्यापकको विषयमा वास्तविक कुरा बताएपछि आफूलाई सुरुमा शिक्षकहरुले विभिन्न तरिकाले तर्साए पनि अहिले भने त्यस्तो हुन छोडेको बताएका छन् ।

‘अहिले त सरहरु टाइममै आउनुहुन्छ, पहिलेजस्तै गरी पढे पढन, नपढे नपढ गर्नुहुन्न ।’ उनले खुसी व्यक्त गरे ।

जिशिअ गुरुङ्ले उक्त विद्यालयको मात्र नभएर जिल्लाका अधिकाँश सामुदायिक विद्यालयको पनि अनुगमन र निरीक्षणको क्रममा सबैलाई आफ्नो व्यक्तिगत सम्पर्क नम्बर दिएर गुनासो सुनुवाइको कदमलाई प्रभावकारी बनाउने कामको थालनी गरेको बताए ।

जिल्लाको रोशीपारि, कोशिपारि र डाँडापारिका अधिकांश विद्यालयहरुमा शिक्षकको उपस्थिति ज्यादै न्यून रहेको, विद्यालयका प्रधानाध्यापकहरु जिम्मेवार नभएको, आर्थिक अपचलन भएको लगायतका गुनासो जिल्ला शिक्षा कार्यालयमा आएको श्रोतले जनाएको छ । जिल्लाका ग्रामिण भेगका शिक्षकहरु बनेपा, धुलिखेल, पनौति, भकुण्डेवेंशी, पाँचखाल लगायतका शहरी क्षेत्रमा मात्र बस्ने गरेको समेत जिशिकामा जानकारी आएको जनाईएको छ । सोही गुनासोका आधारमा हेलो जिशिअ कार्यक्रम ल्याइएको बताउँदै उक्त कार्यक्रम प्रभावकारी हुने गुरुङ्को विश्वास छ ।

‘यदि कुनै शिक्षक आएन, आएर पनि पढाएन भने अभिभावकले मात्र नभएर विद्यार्थीले पनि मलाई विभिन्न किसिमले जानकारी दिन सक्छन्’ जिशिअ डा. गुरुङले भने । त्यसको लागि उनले कार्यालयको नम्बर बाहेक स्वयम् आफ्नै निजी नम्बर विद्यालयका अभिभावक र विद्यार्थीलाई दिएका हुन् ।

प्रतिक्रिया