Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

प्रअ तालीमको पाठ्यक्रम र ढाँचामा परिवर्तन

सोमबार, १३ मंसिर २०७३

काठमाडौं - शिक्षा मन्त्रालयले प्रधानाध्यापकहरुलाई दिँदै आएको तालीमको पाठ्यक्रम र ढाँचामा परिवर्तन गर्ने भएको छ । विद्यालय सञ्चालनका मुख्य मियोका रुपमा रहेका प्रअहरुलाई यसभन्दा अघि दिँदै आएको तालीमको पाठ्यक्रमदेखि स्वरुप र शैलीमा पनि परिवर्तन गर्न लागेको शैक्षिक जनशक्ति विकास केन्द्रले जनाएको हो ।

प्रअहरुलाई दिईदैं आएको नेतृत्व क्षमता विकास तालीमको खाकालाई एक महिनाको बनाइएको छ । खाका अनुसार १५/१५ दिनको गरी दुई चरणमा दिइने तालीममा पहिलो चरणमा १० दिन फेस टु फेस तालिम र बाँकी ५ दिन भने परियोजना कार्यका लागि छुट्याइएको छ ।

३० सत्रमा विभाजित तालीमको पहिलो चरणमा विद्यालय व्यवस्थापन र नेतृत्वका नीतिगत तथा कानूनी प्रावधानहरु र मुद्धाहरु, विद्यालय व्यवस्थापन र नेतृत्वका अभ्यासहरु, शैक्षिक योजना, पेशागत मर्यादा, जिम्मेवारी र उत्तरदायित्व, विद्यालय शिक्षामा स्रोत व्यवस्थापन, शैक्षणिक व्यवस्थापन, शिक्षामा अनुसन्धान तथा विकास, समसामयिक मुद्धाहरु, शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग, परियोजना कार्य र तालिम मूल्यांकनका क्षेत्र निर्धारण गरी ती क्षेत्रसँग सम्बन्धित विषयमा तालीम दिइने छ ।

अर्को ३० सत्रकै दोस्रो चरणको तालीमका लागि प्रधानाध्यापकका पेशगात गुण, भूमिका र सीपहरु, शैक्षिक योजना, विद्यालय सञ्चालन र व्यवस्थापन, शैक्षिक सुपरीवेक्षण, शिक्षक व्यवस्थापन र विकास, शैक्षणिक व्यवस्थापन, व्यावहारिक सिकाइका लागि विद्यालय भ्रमण, शिक्षाका समसामयिक मुद्धाहरु, शिक्षामा सूचना तथा सञ्चार प्रविधि र परियोजना कार्य र तालीम मूल्यांकनका क्षेत्र छुट्याइएको छ ।

प्रअहरुले तालिम लिने तर त्यो तालीमको उपयोगिता नगर्ने भन्ने विषयलाई सम्बोधन गर्ने गरी केन्द्रले तालीममा सहभागितादेखि कार्यक्षेत्रमा त्यसको प्रयोगलाई समेत प्रअको बढुवाको आधार बनाएको छ । त्यस्तै तालीम अन्तर्गत गर्नुपर्ने परियोजना कार्यलाई पनि बढुवाको लागि मूल्यांकनको आधार बनाइएको छ ।

शिक्षा मन्त्रालयको कार्यक्रम शाखाका उपसचिव नारायणकृष्ण श्रेष्ठले बदलिएको परिवेशका साथै एक्काइसौं शताब्दीको शिक्षाको उद्देश्यलाई पूरा गर्नका लागि तालीमको आवश्यकता रहेको बताउँदै समग्र विद्यालय सञ्चालनका नेताका रुपमा रहेका प्रअलाई दिँदै आएको तालीममा सुधारको आवश्यकतालाई मध्यनजर गरी तालीमको पाठ्यक्रम र ढाँचामा सुधार गर्नुपर्ने बताए ।

शिक्षकहरुलाई तालीम दिँदै आएको शैक्षिक जनशक्ति विकास केन्द्रले शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यालय क्षेत्र विकास कार्यक्रम(एसएसडीपी) सुरु भएपछि प्रधानाध्यापलाई दिँदै आएको तालीममा पनि फेरबदलको आवश्यकता भएको केन्द्रका उपनिर्देशक ईश्वरीप्रसाद पोखरेलले बताए ।

मुलुकको संविधान, ऐन, कानून, तथा शिक्षा नीतिका प्रावधानको कार्यान्वयनबाट सामुदायिक विकासमा सहभागिताका लागि प्रधानाध्यापक नै विद्यालयको मुख्य जिम्मेवार र उत्तरदायी भूमिका वाहक पद भएकोले एसएसडीपीको लक्ष्यअनुसार प्रधानाध्यापकको क्षमता विकास गर्नुपर्ने भएकोले तालीम मार्फत् प्रअको क्षमता विकासमा सहयोग पुग्ने पाठ्यक्रम र ढाँचाको खाका तयार गरिएको उपनिर्देशक पोखरेलले बताए ।

‘विगतका तालिमले नतिजामा गर्व गर्न नसक्ने स्थिति आएको अवस्था विद्यमान भएको बेलामा अबको यो पाठ्यक्रम र खाकाले विद्यालय सुधार गर्न र गुणस्तरीय शिक्षाको लागि मद्दत पु¥याउँछ ।’ मन्त्रालयका उपसचिव श्रेष्ठले थपे ।

उनले प्रअहरुलाई दिइने तालीमलाई अझ परिस्कृत गर्नका लागि शैक्षिक जनशक्ति विकास केन्द्रले विभिन्न समूह बनाएर तालिमको पाठ्यक्रम र ढाँचाका सम्बन्धमा अन्तरक्रिया गरिसकेको जनाउँदै तालीमको खाकालाई अन्तिम रुप दिने तयारी भइरहेको पनि उल्लेख गरे ।

तालीमको ढाँचा र पाठ्यक्रम कस्तो बनाउने भन्ने सन्दर्भमा विद्यार्थीका अगुवा संघसंस्थाका प्रतिनीधिहरु, अभिभावक संघ, विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्रोतव्यक्ति, विद्यालय निरीक्षक, शिक्षकका पेशागत संघसंस्थाका प्रतिनीधिसँग केन्द्रले अन्तरक्रिया गरिसकेको छ ।

यसैगरी आगामी दिनमा सामुदायिक विद्यालयका प्रअहरुलाई मात्र नभएर स.स्थागत विद्यालयका प्रअहरुलाई पनि प्रअको क्षमता विकास तालीममा सहभागी गराउने गरी तालीमको मस्यौदा निर्माण कार्य भइरहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया