Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

खै ! २५ हजार स्थायी शिक्षक

मंगलबार, १४ मंसिर २०७३

काठमाडौं - देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक मध्ये २५ हजार धेरै शिक्षक हराएका छन् । शिक्षकको विवरण राख्ने निकाय विद्यालय शिक्षक किताबखानाको अभिलेखमा देशभर १ लाख ७ हजार ८ सय ५३ जना स्थायी शिक्षक छन् । तर सोही निकायको पछिल्लो तथ्याङ्क अनुसार शिक्षकको संख्या जम्मा ८२ हजार ६ सय ९८ छ ।

सम्पत्ति विवरण बुझाउने प्रयोजनका लागि संकलित पछिल्लो तथ्याङ्कका अनुसार २५ हजार १ सय ५५ शिक्षक हराएका हुन् । किताव खानाका अनुसार विवरण बुझाउने शिक्षकको संख्या ७२ हजार ५ सय ३९ छ भने नबुझाउने १० हजार १ सय ५९ जना छन् ।

कितावखानाकै अभिलेखमा भएका तर यो तथ्याङ्कमा भने समाबेश नभएका उक्त संख्याका शिक्षक हराएका हुन् । उनीहरुको संख्या उक्त विवरण बुझाउने र नबुझाउने दुवैमा छैन । तर पनि यसलाई शिक्षकहरु हराएको भन्न नमिल्ने तर्क गर्छन् कितावखानाका महानिर्देशक शेर बहादुर ढुङ्गाना ।

'सम्पत्ति विवरण बुझाउने दायित्व सम्बन्धित ब्यक्तिकै हो, कतिपय शिक्षकले आफ्नो विवरण हुलाक वा अन्य माध्यमबाट पठाएका पनि हुन सक्छन्' उनले भने 'कतिपय शिक्षक ठिक्क यही समयमा निवृत्त भएका पनि हुन सक्छन्, कतिपयको निधन भएको पनि हुन सक्छ त्यसैले ती शिक्षक हराएका भन्न मिल्दैन ।'

तर विवरण बुझाउन तोकिएको समयमा तोकिएको निकायमा सबै शिक्षक भने नआएको ढुङ्गाना बताउँछन् । कति शिक्षक पदमै भएर पनि नआएका हुन सक्छन् भने यो संख्या दरबन्दी मात्रै भएको तर ब्यक्ति नभएको पनि हुन सक्ने उनको अड्कल छ ।

किताब खानाले सोमबार शिक्षकको सम्पत्ति विवरण राष्ट्रिय सर्तकता केन्द्रमा बुझाएको छ ।

पढ्नुहोस् : अटेरी शिक्षकबाट झण्डै ६ करोड जरिवाना उठाईदैं

प्रतिक्रिया