Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

सामुदायिक विद्यालयको भौतिक सुधारका लागि पौने दश करोड

विहीबार, १६ मंसिर २०७३

भक्तपुर - देशभरका सामुदायिक विद्यालयहरुको भौतिक सुधारका लागि शिक्षा विभागले यो वर्ष पौने दश करोड रुपैंया खर्च गर्ने भएको छ । जस अन्तर्गत विभागले देशभरका विद्यालयहरुमध्ये ५ हजार १ सय ५० र ३ हजार ३ सय ६ वटा कक्षाकोठा बनाउने भएको छ ।

विभागले चालू आर्थिक वर्ष २०७३/७४ को भौतिक सुधार अन्तर्गत उक्त संख्यामा विद्यालय तथा कक्षाकोठा बनाउने भएको हो । यसका लागि ९ करोड ७५ लाख ५० हजारको कार्यक्रम र बजेट तय भएको छ ।
विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) अन्तर्गत जिल्ला शिक्षा कार्यालय मार्फत् विद्यालय र कक्षाकोठाहरुको भौतिक पूर्वाधार सुधार गर्नका लागि सिफारिश गरेका थिए ।

विभागले देशभरका विभिन्न सामुदायिक विद्यालयहरुको भौतिक सुधारअन्तर्गत चार प्रकारका कार्यक्रम जिल्ला शिक्षा कार्यालयहरुलाई उपलब्ध गराएको छ । जसअन्तर्गत ४ कोठे भवनसहित फर्निचर निर्माण, २ कोठे नयाँ कक्षाकोठासहित फर्निचर निर्माण, वास (साबुनपानीले हात धुने) सुविधा सहितको शौचालय निर्माण, र विद्यालय मर्मत सम्भार रहेका छन् ।

विभागले देशभरका विद्यालयहरुमध्ये २ सय ७४ विद्यालययमा ४ कोठे भवनसहित फर्निचर निर्माण, ३ हजार ३ सय ३ वटा नयाँ कक्षाकोठासहित फर्निचर निर्माण, ५ सय ४२ विद्यालयमा वास सुविधा सहितको शौचालय निर्माण र ४ हजार ३४ विद्यालयको मर्मत सम्भार गर्ने गरी बजेट तथा कार्यक्रम बनाइएको विभागको प्राविधिक शाखाले जनाएको छ ।

शाखाका इञ्जिनियर रेवतीरमण दाहालका अनुसार चारकोठे  र २ कोठे भवनका लागि प्रति भवन रु. ८ लाख, प्रति शौचालयको लागि रु.६ लाख र विद्यालय मर्मतका लागि प्रति विद्यालय रु. २५ हजारका दरले बजेट विनियोजन गरिएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्ष अन्तर्गत ४ कोठे भवनका लागि कूल १ करोड ९२ लाख, २ कोठेका लागि रु. ४ करोड ४८ लाख शौचालयको लागि रु. २ करोड ५२ लाख र विद्यालय मर्मत सम्भारका लागि रु. ८३ लाख ५० हजार गरी कूल रु. ९ करोड ७५ लाख ५० हजारको कार्यक्रम र बजेट बनेको हो ।

प्रतिक्रिया