Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

एउटै विद्यालयमा ३३ विवाहित

शुक्रबार, १७ मंसिर २०७३

काठमाडौं १७ मंसिर / रकु ४ सेरिज्युलाका १८ वर्षीय नयाँ सार्की र १६ वर्षीया सुशीला स्थानीय शंकर उमाविमा पढ्छन् । उनीहरू पतिपत्नी हुन् । कक्षा १० अध्ययनरत सार्की दम्पतीले छोरी पनि जन्माइसक्यो ।

१० महिने छोरी घर छाडेर विद्यालय आउँछिन् सुशीला । अनि दिउँसो उनलाई दूध खुवाउन एक छिन घर फर्किन्छिन् । एउटै विद्यालय भए पनि दम्पती सँगै आउजाउ गर्दैनन्् । साथीले जिस्क्याउलान् भनेर कक्षामा पनि फरकफरक बेन्चमा बस्छन् । अक्सर विद्यालयमा बोलचाल गर्दैनन् । एउटै कक्षामा पढ्दापढ्दै शारीरिक सम्पर्क भयो उनीहरूबीच । गर्भ छिप्पिएर सात महिनाको भएपछि सबैले उनीहरूको सम्बन्ध चाल पाए । त्यसपछि दुवै अभिभावकको सल्लाहमा बिहे गरिदिएको स्थानीय नमराज सार्कीले बताए ।
५ दाजुभाइ भएका नयाँ साहिला छोरा हुन् । खान–लाउनै मुस्किल पर्ने परिवार हो उनको । त्यसैले दसैं बिदाको मौका छोपेर मजदुरीका लागि भारत गएका छन् । ‘अब विद्यालय खुल्यो, घर आउन लाग्नुभएको छ,’ सुशीलाले लजाउँदै भनिन्, ‘दुवै जना स्कुल भर्ना भएका छौं, एसएलसीसम्म पढ्ने धोको छ ।’
शंकर उमविको एक्लो विवाहित जोडी होइन यो । कक्षा ६ देखि १० सम्म पढ्ने ३३ जनाले बिहे गरिसकेका छन् । तीमध्ये २७ किशोरी छन्, २४ जना दलित समुदायका । विद्यालयको रेकर्डअनुसार ती सबैको उमेर १९ वर्षमुनि छ । विवाहित विद्यार्थी नियमित कक्षा नआउने समस्या रहेको प्रधानाध्यापक टेकबहादुर गिरीले बताए । बिहे गरिसके पनि उनीहरूलाई सानै उमेरमा गर्भाधारण नगर्न प्रेरित गर्ने योजना चलाइँदै छ विद्यालयमा । यसका लागि स्थानीय स्वास्थ्य संस्थामार्फत प्रजनन स्वास्थ्यबारे कक्षा चलाउन लागिएको हो । ‘विवाह गरिसकेकालाई विद्यालयले सम्बन्धविच्छेद गराउन सक्दैन,’ प्रधानाध्यापक गिरीले भने, ‘प्रजनन स्वास्थ्यबारे अभिमुखीकरण सुरु गरेका छांै ।’ बालविवाहले कुपोषण निम्त्याउने तर्क गर्दै उनले पछिल्लो समय अभिभावकको जोडबलमा भन्दा पनि केटाकेटी आफैंले भागी विवाह गर्ने चलन बढेको जानकारी दिए । बालविवाह गर्नेमा पनि अधिकांश दलित बालिका छन् । विद्यालयका अनुसार कक्षा ७ मा १० जना छन् । उनीहरूको उमेर १५ देखि १८ वर्षसम्म छ । कक्षा ६ मा अध्ययनरत ३ बालिका विवाहित छन् । कक्षा ८ का ३, कक्षा ९ का ३ र कक्षा १० का १० जनाको विवाह भइसकेको छ ।
यो समस्या शंकर उमाविमा मात्र सीमित छैन । रकु ५ स्थित मष्टो सरस्वति मावि, बुठिगेमा ७ विद्यार्थीले बिहे गरिसकेको प्रधानाध्यापक टेकबहादुर बटालाले बताए । उनका अनुसार कक्षा ८ का २, कक्षा ९ का ३ र १० का २ जना विवाहित छन् । रकु ८ स्थित विद्याज्योति मावि लुयाटाका ८ जनाको विवाह भइसकेको छ, सबै १८ वर्षमुनिका । ७ जना केटी, एक जना केटा छन् । उचित शिक्षा र संस्कार दिनुपर्ने विद्यालयमै विवाहित बालबालिका भेटिनु दु:खद भएको बताउँछन्, जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारी । बालविवाहलाई सामाजिक र कानुनी अपराधका रूपमा लिनुपर्ने उनको भनाइ छ । जिल्लामै बालविवाह उच्च रहेको गाविसमा दरिएको छ रुकु । सरोकारवालाले बालविवाह नगर्ने नगराउने प्रतिबद्धतासहित ६ महिनाअघि यो गाविसलाई बालविवाह मुक्त घोषणा गरेका थिए ।

तुलाराम पाण्डेले कान्तिपुरमा लेखेको खबर ।
 

प्रतिक्रिया