Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

भित्र शिक्षक महासंघको कार्यक्रम, बाहिर भने अस्थायीको धर्ना

शुक्रबार, १७ मंसिर २०७३

काठमाडौं - ‘यताको गेटमा यसरी शिक्षकहरु धर्ना दिइरहेका छन्, मन्त्री चाहिँ उताको बाटो भएर पो भागे त ।’ भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबको हलमा नेपाल शिक्षक महासंघको कार्यक्रमलाई बिहीबार सम्बोधन गरे पछि ‘लुसुक्क’ बाहिरिएका शिक्षामन्त्रीलाई बागलुङका शिक्षक केशव रेग्मीले ब्यङ्य गरे ।

‘आउँदा पनि त त्यही बाटोबाट आएका थिए नि, अस्थायी शिक्षकहरुले हातमा प्लेकार्डसहित धर्ना दिएको विषयलाई सम्बोधन गर्नुपर्ला भनेर यताबाट नआएका हुन् ।’ अर्का शिक्षक हिरा कँडेलले थपे ।

बिहीबारदेखी शुरु महासंघको विधान अधिवेशन स्थलमा अस्थायी शिक्षकहरुले शुक्रबार पनि धर्ना दिएका छन् । उनीहरुले बिहीबार कार्यक्रमस्थल छिर्ने दुईटा गेटमध्ये पश्चिमतिरको गेटमा धर्ना दिएका थिए । सोही गेटबाट सर्वसाधारणको आवतजावत हुने गरेको थियो । भने मन्त्री पूर्वतिरको अर्को गेटबाट छिरेका थिए ।

‘मन्त्रीले त वास्ता नगरी चोरबाटोबाट हिँडे, अब त खोइ !’ बिहानैदेखि धर्नामा बसेका एक शिक्षक निराश हुँदै खुइय्य मारे ।

कार्यक्रममा उद्घोषणका क्रममा महासंघका महासचिव तिलक कुँवरले बाहिर गेटमा धर्नामा बसिरहेका अस्थायी शिक्षकहरुलाई इंगित गर्दै भनेका थिए, ‘शिक्षा ऐनमा गरिएको व्यवस्थाका कारण हाम्रा साथीहरु हामीसँग बोल्दैनन्, भित्र आउनुस् भन्दा भित्र आउने हाम्रो हैसियत छैन भनेर धर्ना दिइरहेका छन्, सोही कारण उनीहरुको समस्यालाई मन्त्रीबाट सम्बोधन हुनुपर्छ ।’

उनले सो कुरा बताए पनि मन्त्री धनिराम पौडेलले भने अस्थायी शिक्षकहरुको विषयमा ऐनले नै स्पष्ट पारेको कुरा उल्लेख गर्दै अस्थायी शिक्षकका समस्या सम्बन्धमा अझै पनि राजनीतिक सहमति आवश्यक भएको बताए ।

‘अस्थायी शिक्षकका समस्या समाधान गर्नका लागि बीस वर्ष अघि नै एउटा प्रणालीमा गएको भएदेखि आज समस्या भइरहने थिएन, बिसौं÷तिसौं वर्ष पढाएर रित्तो हात फर्किनुपर्ने नियति अन्त्य गर्नका लागि शिक्षाको आठौं संसोधन ऐनले अब एउटा प्रणाली बसाल्नुपर्छ, विधि निकाल्नुपर्छ भनेर हामी लागेका छौं' उनले भाषणका क्रममा भने, 'अब पनि अस्थायी शिक्षकको मुद्धा बोकिराख्नुपर्ने स्थितिबाट मुक्त भएर अस्थायी शिक्षक समस्या समाधान गर्नका लागि एकपटकका लागि, अन्तिम पटकका लागि पनि केही कानूनी व्यवस्था गरेको थियो । त्यो कानूनी व्यवस्था गरिरहँदा राजनीतिक रुपमा सहमति भएको थियो । यो कुुरालाई बिर्सनु हुँदैन ।’

यसबाहेक उनले अस्थायी शिक्षकहरुको समस्या समाधान नहुनुमा सरकार, शिक्षा मन्त्रालय र मन्त्री भन्दा बढी अस्थायी शिक्षक नै जिम्मेवार बनेको बताए, ‘अस्थायी शिक्षकहरुकै बीचबाट २०४९ सालदेखि रहेका अस्थायी शिक्षकहरुको कुरा र २०६८ मा अस्थायी भएका शिक्षकहरुको स्वार्थ फरक भएका छन् । यी सबै स्वार्थहरुलाई एकीकृत धारणा बनाउन जरुरी छ ।’

अस्थायी शिक्षकहरुको समस्या समाधानको लागि महासंघले केही समय अघि संस्थागत पहल गरेपछि महासंघप्रति केही झिनो आस पालेका अस्थायी शिक्षकहरुले कार्यक्रमस्थलमा सहभागीहरु र आयोजकको ध्यानाकर्षण गर्नका लागि धर्ना दिइरहेका छन् । उनीहरुले बिहीबार कार्यक्रम सुरु हुनुभन्दा अघिदेखि नै धर्ना सुरु गरेका थिए । आज शुक्रबार पनि धर्ना यथावत राख्ने जनाएका छन् ।

अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समिति र धर्ना कार्यक्रम लेखिएको व्यानरसहित गेटमै पलेटी कसेर लस्करै बसिरहेका अस्थायी शिक्षकहरु आफ्नो पक्षमा कोहीले बोलिदिएर आफूमाथि परेको समस्या समाधान गरिदिए हुन्थ्यो भन्ने मनसाय पालेर बसेका थिए ।

कार्यक्रममा आउने सर्वसाधारणदेखि शिक्षक र मन्त्रीसम्मको ध्यानाकर्षण गर्न धर्नामा बसेका शिक्षकहरुको अवस्था बुझ्न मन्त्रीले चासो नदेखाउँदा अझ निराश भएको उनीहरुले बताए । ‘हामीलाई परेको वास्तविक पीडा हामी मन्त्रीलाई नै भन्थ्यौं नि, दुई मिनेट मात्र भए पनि टाइम दिएको भए, तर मन्त्री....’ धर्नामा रहेकी एक शिक्षकले भनिन् ।

धर्नामा बसेकामध्ये अस्थायी शिक्षक कृष्णकुमार चौधरीले आफूलगायत धर्नामा ५५ जना रहेको बताए । उनले आफूहरुमाथि पटकपटक धोका भएको, सरकारले झुक्याउँदा आफूहरुमाथि अन्याय भएको बताउँदै आफूहरुको आधिकारिक संस्थाको रुपमा रहेको महासंघले यथासक्य चाँडो समस्या समाधान गरिदेओस् भनेर धर्ना दिएको बताए ।

महोत्तरीको श्री रामदरश सर्वोदय माविमा २०५७ सालमा अस्थायी नियुक्ती पाएका उनी महासंघको समेत सदस्य रहेको जानकारी दिँदै आफूहरुमाथि शिक्षा ऐनले गरेको अन्यायका विरुद्ध आन्दोलन अनिवार्य भएकोले न्याय नपाएसम्म आन्दोलन गर्ने बताए ।

प्रतिक्रिया