Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
अन्तैवाट

चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा. डा. सिंहको राजीनामा

शनिबार, १८ मंसिर २०७३

काठमाडौं १८ मंसिर / डा. गोविन्द केसी अनशनमा बसेको २०औं दिन शुक्रबार चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा. डा. केपी सिंहले राजीनामा दिएका छन् । डा. सिंहको राजीनामापछि सरकारी पक्ष र डा. केसीका प्रतिनिधिबीच भएको वार्ता ‘सकारात्मक’ भए पनि राति ११ बजेसम्म कुनै टुंगोमा पुग्न सकेन ।

डा. सिंहको राजीनामासँगै उनको स्थानमा नयाँ डिन नियुक्त गरी डा. केसीलाई मनाउन सरकारी पक्ष प्रयासरत रहेको थियो । डा. केसीका प्रतिनिधिले भने उपकुलपति तीर्थ खनियाँको बर्खास्तगीसमेतको अडान नछाडेकाले वार्ता राति अबेरसम्मै लम्बियो । नयाँ डिन नियुक्तिका लागि औपचारिकता पूरा गर्न डा. कुमुद कुमार काफ्लेको संयोजकत्वमा सर्च कमिटीसमेत बनाइएको चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।
डा. केसी सहमत भए तत्कालै नयाँ डिन नियुक्त गर्ने लगायत निर्णयहरू गर्न राति अबेर त्रिवि कार्यकारी परिषद् बैठक बस्ने तयारी चलिरहेको थियो । ‘हामी आएर एउटा कोठामा बसिरहेका छौं । शिक्षा मन्त्रालयबाट बोलाइएपछि आएका हौं’, त्रिविकी रेक्टर सुधा त्रिपाठीले ११ बजे कान्तिपुरसित भनिन् । नियुक्तिको २०औं दिन पद छाड्न बाध्य डा. सिंहले अनशनरत डा. केसीको जीवन रक्षार्थ आफूले राजीनामा दिएको बताएका छन् ।
डा. सिंहको नियुक्तिपछि उनको राजीनामासहितका १० बुँदे माग अघि सार्दै केसीले अनशन थालेका थिए । वरिष्ठताका आधारमा नयाँ डिन नियुक्त गर्नुपर्ने र त्रिविका उपकुलपति खनियाँलाई बर्खास्त गर्नुपर्ने डा. केसीको माग छ । ‘१० वटै सहमतिका बुँदा तयार पारेर साथीहरूले डा. केसी समक्ष लगेका छन्, उहाँले स्वीकार्नु भो भने सहमति हुन सक्छ,’ चिकित्सक संघका अध्यक्ष डा.श्रेष्ठले भने । डा. केसीले भने राति ११ बजेसम्म पनि नयाँ डिन नियुक्तिको पत्र हात परेपछि मात्र उपकुलपतिको बारेमा सोच्न सकिने अडान लिएको स्रोतले जनायो । त्यसअघि तयार पारिएको सहमतिपत्रमा तीन दिनभित्र डिन नियुक्ति गर्ने उल्लेख भए पनि डा. केसीका प्रतिनिधिले यसलाई मानेका थिएनन् । वार्तामा सहभागी केसी प्रतिनिधि डा.राजेन्द्र वाग्लेले शुक्रबार रातिको वार्ता अघिल्ला रातहरूको भन्दा सकारात्मक रहेको संकेत गरे । ‘हामी खेस्रा तयार पार्दै छौं, तर केही बुँदामा अझै छलफल जारी छ ।’
यसअघि अनशनमा सहभागी डा. केसीका एक प्रतिनिधिले भने वार्तामा खासै केही प्रगति नभएकाले सहमति हुने सम्भावना कम रहेको बताए । उनका अनुसार वार्तामा चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्ति र त्रिवि उपकुलपति खनियाँको बर्खास्तगीबारे के गर्ने भन्ने अन्योल कायमै छ ।
राजीनामाका क्रममा डा. सिंहले शुक्रबारै त्रिवि उपकुलपतिलाई लेखेको पत्रमा ‘आफू आफ्नो मित्र डा. केसीको ९ वटै अनशनमा साथ दिँदै अहोरात्र खट्दै आएको’ बताएका छन् । ‘निष्कलंंक रूपमा स्थापित भइसकेका मेरा मित्र अन्ततोगत्वा कुनै अस्वाभाविक समूहको चंगुलमा पर्दै व्यक्तिवादी चिन्तनमा हावी हुन पुग्नु ज्यादै दु:खद् पक्ष हो,’ सिंहले लेखेका छन्, ‘उहाँले हासिल गरेको उचाइ अहिले आएर विवाद र सोचनीय रूपमा परिणत हुन पुगेकाले मलाई ज्यादै दु:ख लागेको छ ।’

कान्तिपुरमा अतुल मिश्रले लेखेको खबर ।

प्रतिक्रिया