Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

अस्थायी शिक्षकको समस्या समाधान हुन्छ : शिक्षामन्त्री

शनिबार, १८ मंसिर २०७३

काठमाडौं १८ मंसिर / शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकहरूको समस्या समाधान गर्न सरकारले कसरत गरिरहेको बताएका छन् । शिक्षण पेसामा जीवन बिताउने शिक्षकहरूलाई विगतका सरकारले उपेक्षा गरे पनि शिक्षकले अब समस्या भोग्न नपर्ने गरी नियमावलीबाट नै समाधानको गृहकार्य भइरहेको उनले बताए ।
बाराका दुई नगरलाई पूर्ण साक्षरता घोषणा गर्न आइपुगेका मन्त्री पौडेलले शैक्षिक विकासका सूचकांकमा प्रदेश–२ का सबै जिल्ला सबैभन्दा पछाडि परेकाले अब शिक्षकहरूले पढाउने भन्दा पनि सिकाउने कुरामा बढी जोड दिन आवश्यक रहेको बताए ।
‘अब सबैले आफ्नो दायित्व बुझ्न आवश्यक छ,’ घर व्यवहार चलाउनकै लागि मात्र शिक्षकलाई सरकारले तलब दिएको होइन भन्दै शिक्षामन्त्री पौडेलले भने, ‘साक्षरता अभियानमा शिक्षक बढी जिम्मेवारी हुन आवश्यक छ ।’ बालबालिकाप्रति जिम्मेवार नबने तलब मात्रै खानुको औचित्य छैन, भन्दै उनले शिक्षकहरूलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बन्न आग्रह गरे ।

बाराको गढिमाई र निजगढ नगरपालिकालाई पूर्ण साक्षर घोषणा गर्दै मन्त्री पौडेलले बाराको शैक्षिक इतिहासलाई अब बदल्नुपर्ने बेला आएको धारणा व्यक्त गरे । मुलुकलाई सन् २०१७ सम्ममा पूर्ण साक्षर बनाउने अभियान देशभरि नै चलिरहेका बेला साक्षरता अभियान घोषणाले मात्र देशमा प्रत्येक नागरिक सुसूचित नहुने जिकिर गर्दै उनले अब बाँकी रहेका निरक्षरहरूलाई समाजका अगुवाहरूले जिम्मा लिनुपर्ने बताए ।

एक फरक प्रसंंगमा मन्त्री पौडेलले डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाएका छन् । चिकित्सा शिक्षाको व्यवस्थापनमा उनको अडान सकारात्मक रहेको भन्दै माग सम्बोधनका लागि पहल भइरहेको र शुक्रबार साँझसम्म निकास निस्कने उनले बताए । ‘चिकित्सा क्षेत्रको अनियमितता छानबिनमा डा. केसीको माग जायज छन्,’ उनले भने ।

सबै चिकित्सा क्षेत्रसँग जोडिएका संघ–संस्थाहरू सञ्चालनमा एकरूपताका लागि ऐनको आवश्यक रहेको बताउँदै उनले डा. केसीको माग सम्बोधनपछि यस क्षेत्रको सबै बेथितिहरूको निराकरण हुन्छ । सो घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व खेलकुदमन्त्री तथा सांसद पुरुषोत्तम पौडेलले बाराका दुई नगर पूर्ण साक्षरको घोषणा हुनु प्रदेश–२ कै नमुना कार्य भएको बताउँदै बारालाई शैक्षिक गन्तव्यको ‘हब’ का रूपमा विकास गर्नु पर्नेमा जोड दिए । नेपालको शिक्षा अझै पनि सन्तोषजनक नरहेको भन्दै उनले शिक्षामा आधुनिक प्रविधि भिœयाउन ढिला भएको बताए ।

घोषणा सभामा क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका निर्देशक दिनेश श्रेष्ठ, बाराका स्थानीय विकास अधिकारी भरत ढुंगाना, जिल्ला शिक्षा कार्यालय बाराका शिक्षा अधिकारी धनप्रसाद पोखरेललगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो । सरकारले पूर्ण साक्षर हुन १० वटा सूचक निर्धारण गरेकोमा बाराको दुई नगरले सो सूचकको मापदण्ड पूरा गर्न सफल भएपछि पूर्ण साक्षर घोषणा गरिएको बाराका जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले बताए । उनका अनुसार हाल बारामा तीन कलेज, नौ सामुदायिक उच्च मावि र २८ माध्यमिक विद्यालय सञ्चालनमा छन् ।

राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया