Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

एकै दिन दुर्ई नगरपालिका पूर्ण साक्षर घोषित

शनिबार, १८ मंसिर २०७३

बारा - जिल्लका दुई नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । शुक्रबार शिक्षा मन्त्री धनिराम पौडेलले निजगढ र गढिमाई नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गरेका हुन् । दुवै नगरपालिकाका १५ देखि ६० बर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी जनसंख्याले लेखपढ गर्न जानेकाले ती नगरलाई साक्षर घोषित गरिएको हो ।

साक्षर नगरपालिका घोषणाको लागि निजगढ र सिमरामा छुट्टाछुट्टै कार्यक्रम गरिएका थिए । गढिमाई र निजगढ २ नम्बर प्रदेशका साक्षर घोषणा हुने दोश्रो र तेश्रो नगर भएका छन् । यस अघि गएको असारमा महोत्तरीको बर्दिबास २ नम्बर प्रदेशकै पहिलो साक्षर नगर घोषित भैसकेको छ ।

घोषणा सभामा शिक्षा मन्त्री पौडेलले संविधानले शिक्षालाई नागरिकको मौलिक अधिकारको रुपमा स्वीकारेको चर्चा गर्दै अब कुनै पनि नेपाली नागरिक शिक्षाको उज्यालोबाट बञ्चित हुनु नहुनेमा जोड दिए । तराईका ८ जिल्ला शिक्षा र चेतनाको दृष्टिले पछि परेको अबस्थामा पनि बाराका दुई नगरपालिका पूर्ण साक्षर घोषित हुनु सुखद् भएको मन्त्री पौडेलको भनाई थियो ।

यो आर्थिक बर्षमा देशभरीका थप २८ वटा जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने तयारीमा सरकार रहेको जानकारी दिंदै उनले साक्षरता अभियानमा सहभागि हुन सम्पूर्ण नागरिकलाई आह्वान समेत गरे । मुलुकको विकास र सम्बृद्धिको लागि प्रत्येक नागरिक शिक्षित बन्नु जरुरी रहेको उनको भनाई थियो ।

कार्यक्रममा बारा क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद् तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलले सामुदायिक विद्यालय विद्यार्थी विहिन हुँदै जाँदा साक्षरता अभियान प्रभावकारी हुन नसक्ने बताए । उनले साक्षरता घोषणासँगै प्रत्येक नागरिकलाई शिक्षित बनाउने दायित्व सरकारको भएको बताए ।

कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका प्रमुख दिनेश श्रेष्ठले प्रत्येक शिक्षितले निरक्षरलाई साक्षर बनाउन सहयोग गर्नु पर्ने बताए । जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जिल्लालाई पूर्ण साक्षण बनाउन चुनौतिपूर्ण भए पनि आफूले त्यसलाई सफल पारिछाड्ने प्रतिवद्धता जनाए ।  

कार्यक्रममा गढिमाई नगरपालिकाका कार्यकारी अघिकृत डिल्लीराज बेल्बासे र निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमलप्रसाद पोखरेलले आ आफ्ना नगरपालिकाको शैक्षिक अबस्थाको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले देशभक्तिपूर्ण गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम शुरु हुनु अघि पञ्चेबाजा र झाँकी सहित हजारौं स्थानीयले नगर परिक्रमा गरेका थिए ।

प्रतिक्रिया