Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

सामुदायिकका शिक्षक, गर्दै छन् आफ्नै सन्तान माथि घात

मंगलबार, १२ पुस २०७३

सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना छोराछोरीलाई सरकारीमा पढाउने कि निजीमा ? विद्यालय शिक्षाका क्षेत्रमा यो राजनीतिक प्रश्न हो । राजनीतिक किन हो भने सामुदायिक शिक्षकहरुको दलीय राजनीतिसँगको नाता शिक्षासँग भन्दा बढी घनिष्ट छ । जगजाहेर कुरा के हो भने अधिकांश शिक्षकहरुले आफ्ना छोराछोरीलाई निजीमै पढाइरहेका छन् । उनीहरु यो आफ्नो अधिकार भएको तर्क पनि गर्छन् ।

आजसम्मका ऐन, नियम सामुदायिक विद्यालयका शिक्षकहरुले कहाँ पढाउने र कहाँ नपढाउने भन्ने बारेमा मौन छ । बहुचर्चित शिक्षा ऐनको आठौं संशोधनको संघारमा सामुदायिक विद्यालयका शिक्षक र निजामती कर्मचारीका छोराछोरीले सरकारी विद्यालयमै पढाउनुपर्ने विषयमा व्यापक बहस भए कानुनी व्यवस्था भने भएन ।  

सामुदायिक विद्यालयका शिक्षकहरु आफ्ना छोराछोरीहरुलाई जुनसुकै ठाउँमा पढाए पनि त्यो आफ्नो स्वतन्त्रता भएको दाबी गर्छन् । तर शिक्षाको कुरा केवल स्वतन्त्रताको कुरा मात्र होइन । यो विषय शिक्षकको वफादारितासँग जोडिएको छ । यदि सामुदायिक शिक्षकहरु आफ्नो कामप्रति वफादार भएका भए यो विषयले त्यति बहस जन्माउने थिएन । उनीहरु वफादार नभएकाले नै उनीहरुका छोराछोरी सरकारी विद्यालयमै पढाउनु पर्ने आवाज उठेको हो ।

शिक्षकले आफ्ना छोराछोरीलाई आफ्नै विद्यालयमा पढाएमा उनीहरु जिम्मेवार हुन्थे की भन्ने अपेक्षा अरु अभिभावकको पनि हुनसक्छ । यसले बढ्दो सामाजिक खाडल पनि कम गथ्र्याे । राज्यको शैक्षिक लगानी पनि बालुवामा पानी सरह हुने थिएन भन्ने अपेक्षा गर्न सकिन्छ । तर आज शिक्षक व्यवासायिक बनिरहेको छ, बाध्यता वा रहरले । ऊ बेफुर्सदिलो छ र उसको अप्रिय शैक्षिक न्वारन भएको छ, ‘हेल्मेट शिक्षक’ भन्ने । (एउटै शिक्षक धेरै विद्यालयमा पढाउने, एउटामा कक्षा सकिना साथ हत्तपत्त हेल्मेट लगाएर मोटरसाईकल चढेर अर्कोमा कुदिहाल्ने क्रम) ऊ हेल्मेट बन्दै गर्दा असल अभिभावकको जिम्मेवारी पनि उसले निर्वाह गर्न सकेको छैन । तैपनि घोप्टो मुण्टो लगाएरै भए पनि शिक्षक आफ्ना छोराछोरीलाई निजीमा भर्ना गर्छ, छोराछोरीको सुरक्षित भविष्यको मिठो कल्पना तथा सपनाका साथ ।  

सामुदायिक विद्यालयका शिक्षकहरु सेवा आयोगको प्रतिष्पर्धामा अब्बल ठहरिएर आएका हुन्छन् । अस्थायी शिक्षकहरुले पनि योग्यता तथा अन्य मापदण्डबिना सरकारी विद्यालयमा प्रवेश पाउँदैनन् । यो कुरा सबैभन्दा बढी तिनै शिक्षकहरुलाई नै थाहा छ, जो आफ्ना छोराछोरी निजीमा पढ्न पठाउँछन् । भौतिक पूर्वाधारका हिसाबले पनि निजीको तुलनामा सरकारी बलियै छन् । पर्याप्त खेल मैदान, फराकिला तथा तुलनात्मक हिसाबले गुणस्तरीय भवन तथा कक्षाकोठा, आवश्यक सामग्रीहरु पनि सामुदायिक विद्यालयमै बढी छन् ।

निजी विद्यालयको सबैभन्दा ठूलो विशेषता भनेकै शिक्षक आफ्नो कामप्रति वफादार हुनु हो । त्यहाँ शैक्षिक योग्यता गौण कुरा हो, उसले प्रर्दशन गर्ने व्यवहार प्रमुख हुन्छ । आफ्नो कामप्रति वफादार भएन भने उसको जागिर रहँदैन । निजी विद्यालयमा अध्यापनरत शिक्षकले दीर्घकालीन रुपमा आफ्नो भविष्य त्यही क्षेत्रमा देखेको हुँदैन तर जति समय गर्दछ, त्यो समय ऊ प्रतिबद्ध हुनैपर्छ । छिटोछिटो शिक्षक परिवर्तन हुनु निजी विद्यालयलाई टाउको दुखाइको विषय बनेको छ । शिक्षक छिटोछिटो परिवर्तन हुँदा विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत नकारात्मक असर पर्दछ । मंहगो फि तिर्नुपर्ने बाध्यताले सरकारी शिक्षकहरुलाई पनि नपिरोल्न होइन । यी कुराहरुका बाबजुद पनि शिक्षकहरु आफ्ना छोराछोरीका लागि निजी विद्यालय नै रोजिरहेका छन् ।  

तर सामुदायिक विद्यालयका शिक्षकहरु आफ्नो पेशाप्रति वफादार भएनन् भन्ने गुनासो अभिभावकको छ । उनीहरुमा उत्तरदायित्वबोध तथा जिम्मेवारी त्यति भएन जति हुनुपर्ने थियो । पेशामा डुब्न नसक्नु नेपालीहरुकै कमजोरी शिक्षकहरुमा पनि छ । आफ्नो दायित्वप्रति जिम्मेवार बनाउने कानुनी व्यवस्थालाई उनीहरुले लत्याइदिए । सरकारी काम कहिले जाला घाम भन्ने मानसिकता छ ।

ऐनमै राजनीति गर्न नपाउने व्यवस्था गरियो । राज्यकोषबाट तलब खानेले दल विशेषको भोटको राजनीति गर्न मिल्छ ? त्यसकारण विद्यालयका प्रधानाध्यापकको हातबाट शिक्षक परिचालनको ‘चेन अफ कमाण्ड’ फुत्किएको छ । प्रअको हातबाट फुत्किएको लगाम राजनीतिक दलका हातमा पुगेको छ । आफ्ना राम्रा अरु काम नलाग्ने, आफ्नाले गरे जे पनि कानुन सम्मत अर्काले गरे सबै खराब राजनीतिक दलको मान्यता हो । यही कुरा शिक्षकको हकमा पनि लागू हुन्छ ।  त्यसकारण प्रअले आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने वातावरण छैन । ऊ पनि प्रअको जागिर खाइरहेको छ । वरिष्ठताको मापदण्ड अलिक अमूर्त विषय रहेछ । त्यही अमूर्तताको दुरुपयोग शिक्षकहरुबाट भएको छ । सामुदायिक विद्यालयमा आज पनि एकातिर शिक्षकहरुका बीचमा राजनीतिक छुवाछुतको वातावरण छ भने अर्कोतिर शिक्षकहरु शैक्षिक काममा भन्दा अन्य काममा बढी लाग्छन् । विशेषतः राजनीतिक काममा नै उनीहरुको अधिकांश समय बित्छ ।  

सबैभन्दा ठूलो चुनौती नै अव्यवस्था हो, भद्रगोलको अवस्थाको हो । शिक्षक नै राजनीतिमा लागेपछि भद्रगोल हुनु अस्वभाविक होइन । तसर्थ राजनीति मात्रै छाडिदिने हो भने यो भद्रगोलको अवस्थामा सुधार आउन सक्छ । संगठन मार्फत शिक्षकहरुले विद्यालयहरुमा राजनीति गरिरहेछन्, तसर्थ संगठनहरुको औचित्य माथि नै प्रश्न उठिरहेको छ । निजी विद्यालयमा विद्यार्थी आफ्नो मौलिक सामाजिक चरित्र गुमाइरहेछ ।

निजी विद्यालयको चुनौतीका रुपमा रहेको यो कुरा सरकारी शिक्षकले बुझेका पनि छन् । त्यहाँ शिक्षक विद्यार्थी सम्बन्ध व्यापारी र ग्राहकको जस्तो छ, अघोषित रुपमा । यसले विद्यार्थी र तिनको अभिभावकको पारिवारिक सम्बन्धमा समेत चिसोपना ल्याएको छ । तसर्थ अभिभावक बनेको शिक्षकले निजी विद्यालयमा आफ्ना छोराछोरी पठाउँदा अरुलाई होइन आफ्नै छोराछोरी माथि पनि घात गरिरहेछ । शिक्षकले धेरै सुने पढेको छ, परिवार बालकको पहिलो पाठशाला हो भन्ने कुरा । आमा पहिलो शिक्षिका हुन् र अन्य सदस्यहरु शिक्षक शिक्षिका हुन् भन्ने पनि उसलाई राम्रै थाहा छ । तसर्थ पारिवारिक न्यायोपनाको साथमा शिक्षा दिने अवसर जानेर वा नजानेर उसले गुमाइरहेछ ।

आफ्ना छोराछोरीसँग बढीभन्दा समय बिताउने अवसर गुमेको छ । यसले पारिवारिक सम्बन्ध दरार पैदा गरिरहेको छ । सम्बन्ध भनेको अधिकार तथा स्वतन्त्रताको कुरा होइन न त कानुनको विषय नै हो । आफ्नै विद्यालयमा छोराछोरी लैजाँदा शिक्षकले उनीहरुका लागि थप समय दिन सकिन्थ्यो । आफू राजनीति वा व्यवासायतिर लागेर छोराछोरी अरुको जिम्मामा दिनु शिक्षकको अज्ञानता नै हो । यसको पहिलो आर्थिक तथा सामाजिक क्षति शिक्षकले नै गुमाइरहेको छ ।

तसर्थ आफूले पढाउने विद्यालयमै छोराछोरी पढाउनु नै सबैभन्दा बेस हुन्छ, यो अरुका लागि मात्र नभएर स्वयं शिक्षक र उनीहरुका छोराछोरीहरुको भविष्यका लागि पनि ।

प्रतिक्रिया