Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

मेरो स्कुल र रगतका अक्षरहरु

शनिबार, १६ पुस २०७३

नेपाल प्रज्ञा प्रतिष्ठान र कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानको सहकार्यमा गत मंसिर २५ गते भएको २६ औं कविता महोत्सव तथा प्रतियोगितामा प्रथम भए – रोल्पाका कवि विष्णु सन्यास  । सन्यासको आन्दोलनमा ईश्वरहरु शिर्षकको कविताले प्रथम पुरस्कार हात पारेपछि उनको चर्चा एकाएक चुलिएको छ । वि.सं. २०४९ जेठ १ गते रोल्पाको जेलवाङ–९, खिवाङमा जन्मिएका सन्यास कविता र निबन्ध विधामा क्रियाशील प्रतिभा हुन् । उनका यात्रामा फेरि (कविता संग्रह–२०६८) र सपना र संकल्प (संयुक्त गजल संग्रह –२०६८) प्रकाशित भइसकेका छन् । यो साताको शिक्षा साहित्यमा उनकै कविता मेरो स्कुल र रगतका अक्षरहरु :

मैले पढ्ने स्कुलका प्रत्येक झ्याल, आँगन
र भित्ताहरुलाई थाहा थियो
कि त्यहाँ दिनहुँजसो
गस्तीमा आउँथे
समयका अपरिभाषित बन्दुकहरु

मुस्कान अपहरण थियो कलमहरुको
वर्जित थिए शब्दहरु पन्नामा
र थिए छटपटीको सिमानामा
बाल मस्तिष्क र हृदयहरु

सधैंजसो फूल चढाउँथे शिक्षकहरु
अफिसमा झुन्ड्याइएको
अराजक पेस्तोलको तस्विरमाथि
र बारबार बिरोधको जुलुस निकाल्थे
दराजका पुराना पुस्तकहरु

गुँड बनाएपछि
स्कुलको दलिनमै मृत्युका चराहरुले
आत्महत्या गरेका हुन् मेरा कलमका मसीहरुले
र कोर्न सिकेको हुँ
जिन्दगीको क, ख रगतका छिटाहरुले

तर अचेल
फेरिएर युग नयाँ जिन्दगी आइपुगेको छ
समयको छातीमा
दुश्मन हराएर
आत्मीयता उडिरहेछ हावामा

स्वयं आकाशले उपहार पठाएको
इन्द्रेणी हातमा बोकेर
दौडिरहेछन् आँगनभरि स्कुले नानीहरु
खै कसले हो रोपेर पनि हुर्काइसकेछ स्कुल छेउ
प्रेमका गुराँसहरु
र त्यही गुराँसका फूल–फूलमा
तथास्तु भन्दै हाँसिरहेछन् बुद्धहरु ।

प्रतिक्रिया