Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

शैक्षिक यज्ञका नाममा व्यवसाय : बाह्य निर्माण मात्रै की, आन्तरिक पुननिर्माण पनि

मंगलबार, १९ पुस २०७३

शिक्षामा राज्यको प्रशस्त लगानी छैन मात्र होइन, शिक्षा राज्यको मूलाधारमा प्रवेश समेत भएको छैन । मूलधारको पहिलो नम्बरमा राजनीति नै छ भने दोस्रो नम्बरमा कर्मचारी प्रशासन छ । त्यसकारण शिक्षा क्षेत्रका हाम्रा आर्थिक पाइलाहरु बढो मुस्किलले चाल्नुपर्ने अवस्था छ । संविधानतः माध्यमिक तहसम्मको शिक्षा निशुल्क छ तर व्यवाहरतः छैन भने । निजी विद्यालयको त कुरै भएन सामुदायिक भनिएका विद्यालयले पनि ‘आउटडेटेड’ भइसकेको अंग्रेजी माध्यमका नाममा शुल्क लिने मात्रै होइन, राज्यले समेत त्यस्तै विद्यालयलाई नै उत्कृष्ट भनेर पुरस्कृत गर्दछ भने निःशुल्क शिक्षाको नाराको के अर्थ ? राज्यको सीमित लगानी पनि धेरैजसो शिक्षकहरुकै तलबभत्तामा खर्च हुने समाचार निरन्तर आइरहन्छ । भौतिक पूर्वाधार, उच्च तहको शैक्षिक कक्षा, शैक्षिक सामग्री, शिक्षक तालिम, अध्ययन भ्रमण आदिआदिका लागि खर्चको जोहो गर्न समस्यै छ, आजको पैसाको छेलोखेलो भएको समयमा पनि, शिक्षालयहरुलाई ।

२०७२ सालको भूकम्पले पु¥याएको मानवीय र भौतिक क्षति शिक्षा क्षेत्रमा पनि अत्याश लाग्दो छ । कमजोर जगका भीरपाखा, सडक तथा खोलाका छेउछाउमा भएका विद्यालयहरुमा हरेक वर्षजस्तो भौतिक क्षति भइरहेकै हुन्छ । अन्य प्राकृतिक विपत्तिले पनि विद्यालयहरुमा क्षति पुग्दछ । कतिपय विद्यालयहरु बाढी पहिरोको चपेटामा हरेक वर्ष परिरहेकै हुन्छन् । तिनीहरुको पुर्ननिर्माणका लागि राज्यले थोरै धेरै खर्च नव्यहोरि धरै छैन । तर सरकारको लगानी हात्तीको मुखमा जिरा समान छ भौतिक पुर्ननिर्माणको लागि । तसर्थ पुननिर्माणका साथसाथै शिक्षालयहरुमा कक्षा वृद्धि तथा कतिपय उच्च तहका कार्यक्रमहरु नियमित चलाउनका लागि पनि धार्मिक यज्ञहरुको आयोजना गरेर आम जनसमुदायबाट दान लिने प्रचलनले देशमा व्यापकता पाएको छ ।

सम्बन्धित निकायले उच्च तह सुलभ र सस्तो रुपमा दिने नीति अख्तियार गर्न नसक्ने अवस्थाका कारण पनि उच्च शिक्षा दिनकै लागि पनि जनतासँग हारगुहार गर्नुको विकल्प शिक्षालयसँग छैन । हारगुहारको सजिलो माध्यम भएका छन्, महायज्ञहरु । त्यसो त यस्ता धार्मिक यज्ञहरु आफैमा महंगा हुन्छन्, त्यसकारण कुनै प्रावि तहको वा ग्रामिण क्षेत्रको विद्यालयले सजिलै यस्ता यज्ञहरु गर्ने आँट गरेको देखिदैन ।
२०५०÷५२ सालतिर प्लस टुको लहरसँगै महायज्ञ गरेर धेरै विद्यालयहरुले आफ्ना कक्षाहरुलाई १२ सम्म पु¥याए । प्लस टु महायज्ञकै प्रसादका रुपमा आए । महायज्ञबाट उठेको पैसा उच्च तहमा पढाउने शिक्षकका तलबका लागि खर्च गरियो । आज पनि देशले प्लस टु तहमा आवश्यक शिक्षकको व्यवस्था गर्न सकेको छैन । विभिन्न तरिकाबाट खर्च जोहो गरेर शिक्षालयहरु चलिरहेका छन् ।

अर्को कुरा वाचकहरुले पनि जनताले शिक्षामा सजिलै लगानी गर्न सक्छन् भन्ने राम्रै बुझेका छन् । दाताहरुले पैसा खन्याएको देख्दा जनताको शिक्षाप्रतिको मोह कति गहिरो रहेछ भन्ने पनि बुझिन्छ । महायज्ञको आध्यामिक पक्षबाट आनन्द लिने श्रद्धालुहरु धेरै छन् तर पूर्वीय दर्शनको वास्तविकतासँग साक्षात्कार गराउन यस्ता महायज्ञहरु असफल हुँदै गएको आभाष मिल्दै गएको छ । पूर्वीय दर्शन हाम्रो आफ्नै संस्कृति पनि हो । आज अन्य दर्शनको प्रभावमा हाम्रो संस्कृतिमाथि आक्रमण भइरहेको छ, हामीले हामीसँगै भएको कुरा थाहा पाएनौं, कस्तुरीले बिणा थाहा नपाएजस्तै ।

व्यास आसनमा बस्ने वाचकहरुले आम जनतालाई त्यो कुरा बुझाउनुपर्ने हो । उनीहरु स्वयं समेत व्यवासायिक भइदिए । उनीहरुको आँखा पद, पैसा र प्रतिष्ठातिर तानियो । फलतः प्रवचनको जग निकै कमजोर तथा फितलो हुँदै गइरहेको छ । तर आम जनताको आशा भने कमजोर भएको छैन । पद, पैसा र प्रतिष्ठाको दौडमा उनीहरु भेटिदैनन् । शैक्षिक यज्ञका नाममा व्यवासाय हुन थाल्दा हाम्रो आध्यामिक तथा दार्शनिक जगको बारेमा प्रचार प्रसार कम भएको छ । यसको अभावमा एकातिर हाम्रा संस्कृतिहरु पतनन्मुख बन्दै गएका छन् भने अर्कोतिर महायज्ञको प्रवचन स्वयंमा आफैमा विधि तथा निषेधका नियमको शिक्षा हो भन्ने कुरा पनि हराएको छ ।

तथापि पूर्वीय दर्शनलाई थोरै धेरै प्रर्वद्धन गर्नुका साथै राम्रो आर्थिक जोहो गर्ने काम यस्ता यज्ञहरुबाट भएको कुरा नस्वीकारी सुखै छैन । एकल संस्कृतिले आजित हुन थालिसकेका मानिसहरु पनि एक छिन वा केही दिन भए पनि आत्मिक शान्तिको छहारीमा रमाएकै देखिन्छन् ।

श्रद्धाले दान दिनेहरुमा दायाँ हातले दिएको बाँया हातले थाहा पाउनु हुँदैन भन्ने मान्यता आज पनि उत्तिकै गहिरो छ । आलोचकहरु यस्ता दानहरुलाई एकातिर ‘आयको स्वयं घोषणा’सँग तुलना गर्दछन् भने अर्कोतिर स्वयं महायज्ञ धनयज्ञ बन्यो भन्ने गुनासो पनि गर्दछन् । भलै, पुँजीलाई नै सर्वोपरि देख्ने बानी विकास भइरहेको बेला अमूल्य आध्यामिक पक्षलाई नदेख्नु स्वभाविक नै हो । तर दान लिने यो प्रचलन नयाँ पनि होइन, स्वरुप मात्र परिवर्तन भएको हो । इतिहासमा धेरै शिक्षालयहरु जनताले नै निर्माण गरेका थिए, शैक्षिक र भौतिक रुपमा नै । त्यतिबेला श्रमदान पनि उत्तिकै महत्वपूर्ण थियो तर त्यो आज श्रमदान गर्न सक्ने वातावरण छ्रैन । श्रमदान पनि पैसामै हिसाब हुन थालिसकेको छ । शैक्षिक श्रमदानको परिपाटी बसाल्न सक्ने हो भने शायद शिक्षाको गुणस्तरमै परिवर्तन पो आउँथ्यो कि ?

हिजो शिक्षालयहरुको जग देउसी भैलो खेलेर बसालिन्थ्यो । देउसी भैलो आज पनि सामाजिक कार्य गर्नका लागि आय आर्जनको राम्रो स्रोत बन्न सक्छ, त्यसको नेपालीपन र विविधतालाई बचाउन सक्ने हो भने ।
आज सामुदायिक शिक्षा र समुदाय स्वयंका बीचको सम्बन्ध टुटेको मात्रै छैन, विश्वसनीयता पनि नराम्ररी खस्किएको छ । खस्किएको विश्वास कसरी उकास्ने भन्ने चुनौती व्यवस्थापन तथा शिक्षकहरुमा रहेको छ । सम्बन्ध सुधार र विस्तारको एउटा कडी यज्ञहरु बन्दा रहेछन् । समुदाय स्वयंले शिक्षालयका लागि सक्रिय हुने अवसर यही बेला प्राप्त गर्दोरहेछ । थोरै भए पनि समुदायको चिन्ता र चासो जोडिदै अन्ततः त्यो गएर विद्यार्थीको शिक्षामै केन्द्रित हुँदोरहेछ । यस्तो अवसरमा सम्बन्ध सुधार र विस्तार मात्र होइन आम समुदायले थोरैदेखि धेरैधेरै दान विद्यालयका लागि दिएको पाइन्छ ।

आफ्नो मेहनत र पसिनाबाट आर्जित सम्पति सुम्पिनु सजिलो छैन । तथापि उनीहरुले दिएकै छन् । तर बुझ्नुपर्ने कुरा के भने भौतिक पूर्वाधार मात्र शिक्षाको गुणस्तरीयताको आधार होइन । आज सामुदायिक विद्यालयमा अधिकांश सीमान्तकृत समुदायका बालबालिकाहरु अध्ययनरत छन् । सीमान्तकृत आफैमा आवाजविहीन छन् । तसर्थ आवाज हुनेहरु सामुदायिक विद्यालय जानुपर्ने बेला आएको छ । एउटा निजी विद्यालयमा लगानी गरेको लगानीकर्ता आफ्नो लगानी खेर जाने हो कि भनेर निकै सचेत रहन्छ । व्यवस्थापनलाई चुस्त दुरुस्त र गतिशील राख्नमा उसको सर्वाधिक भूमिका रहेको हुन्छ । त्यस्तै सामुदायिक विद्यालयमा लगानी गर्नेहरुले आफ्नो लगानी गुणस्तरीय शिक्षाको माध्यमबाट नै उठाउने हो ।

हाम्रो देशमा अझै पनि आफ्नो काममा डुब्ने र रमाउने चलनको विकास हुने वातावरण छैन । तसर्थ दाताहरुले आफ्ना सन्ततिहरुलाई आफ्नै लगानी परेको शिक्षालयमै पढाउने तर्फ चासो दिनुपर्ने देखिन्छ । त्यसो भयो भने अवश्य पनि महायज्ञको दायरा केवल भौतिक पूर्वाधारको पुननिर्माणमा मात्र सीमित हुने छैन, शैक्षिक गुणस्तरमा पनि विस्तार हुनेछ ।  

नामै महायज्ञ छ । शिक्षकहरु शिक्षाको महायज्ञमा सधै छन् । पर्याप्त तालिमको अभाव, सुविधाको अभाव, अध्ययनको अभाव आदिआदि कारण सोचेजति गर्न नसकेको तिक्तता छ नै तर समुदायसँग अनुरोध गर्दै गर्दा अबको आफ्नो पेशा अझ बढी जिम्मेवारपूर्ण नभई सुख हुनेछैन । आलोचनाका बाणहरु अझ बढी तिखा भएर तेर्सिने निश्चित छ ।  शिक्षा दिने कार्य सधै महायज्ञ जस्तै त हो तर शारीरिक कार्यका तुलनामा बौद्धिक कार्य धेरै जटिल पनि हो । हाम्रो समाज शक्तिपूजक छ, आज शक्ति शिक्षकबाट फुत्किएर दल अनि कर्मचारीमा पुगेको छ । बाटोमा हिड्दा डराएर हिड्ने प्रशासक भन्दा छाती खोलेर हिड्ने क्षमता भएको शिक्षक पनि हीनताबोधले ग्रस्त छ । त्यसबाट मुक्त नभई सुखै छैन । तसर्थ धार्मिक यज्ञमा जस्तै उत्साहित र उत्प्रेरित भएर लाग्नुको शिक्षकहरुसँग विकल्प छैन ।

किशोरवयका विद्यार्थीलाई शारीरिक श्रमको पनि उत्तिकै खाँचो छ । आज पाँच मिनेटको बाटो पनि हिड्न अल्छी मानेर गाडी चढ्दा त्यसको नकारात्मक असरले विद्यार्थीको भावी जीवन कुण्ठित नहोला भन्न सकिन्न । बिना श्रमको शिक्षा कोरा सिद्धान्तमा सीमित हुने देखिन्छ । भोलि खाली दिमाग सैतानको घर बन्ने खतरा पनि उत्तिकै छ । स्वयंसेवी विद्यार्थीको शारीरिक श्रम देख्दा उनीहरुलाई शिक्षाका साथै दिनहुँ क्षमता अनुसारको श्रमको पनि आवश्यकता भएको देखाउँछ । त्यतापट्टि कसले सोच्ने ? श्रमको सिर्जना शिक्षालयहरु कसरी गर्ने ?

तसर्थ अब शैक्षिक महायज्ञहरु शिक्षालयको बाह्य निर्माणमा मात्रै होइन, आन्तरिक पुननिर्माणमा पनि केन्द्रित हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया