राष्ट्रिय योग्यता प्रारुप : विद्यालयमा ५ र उच्च शिक्षामा ४ तह


काठमाडौं – कोही विद्यार्थीले कक्षा १० उत्तीर्ण गर्यो, वा कुनै विषयमा स्नातक सक्यो भने कम्तीमा उसले कति सिकेको हुनुपर्छ ? उसले हासिल गरेको कक्षा १० को वा स्नातक तहको पढाइको औपचारिक मार्कसिट सहितको प्रमाणपत्रपछि ऊ के कस्ता कुराहरुमा सक्षम र योग्य हुन्छ ? माथिका यी प्रश्नहरुको जवाफ अहिलेसम्मको हाम्रो पढाइले दिन सकेको छैन ।

यतिमात्र होइन, एसएसलसीमा विशिष्ट श्रेणीमा उत्तीर्ण विद्यार्थी समेत कक्षा ११ वा १२ मा अनुत्तीर्ण भएको पनि हामीले सुन्दै आएका हौं । यसका साथै विद्यार्थीले सर्टिफिकेट त हातमा पारे तर सर्टिफिकेट हातमा पारेको त्यो विद्यार्थीलाई समेत थाहा हुन्न कि म कुन कुराका लागि योग्य भएँ ? सोही कारण पनि नेपालमा थुप्रै युवाहरु शिक्षित पनि छन् र बेरोजगार पनि ।

यही कारण नेपालको शिक्षा व्यावहारिक भएन, जीवन पद्दतिसँग जोडिएन भन्ने जस्ता अनेकौं अवगालबाट पनि मुक्त हुन सकेको छैन । यस अलावा नेपालमा निश्चित कक्षा वा तह पार गरेर विदेश अध्ययनका लागि गएका कतिपयले त अझ सोही कक्षा र तहमै पनि कक्षा लिनुपरेको अवस्था पनि विद्यमान छ ।

यही अवस्थालाई मध्यनजर गरी शिक्षा मन्त्रालयले झण्डै २ बर्ष अघि शुरु गरेको राष्ट्रिय पाठ्यक्रम प्रारुपको तयारी अझै सकिएको छैन । उक्त प्रारुप निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयले २०७१ चैत्रमा शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेको संयोजकत्वमा समिति बनाएको थियो

पाठ्यक्रम विकास केन्द्र मार्फत् काम गर्ने गरी गठित उक्त समितिले एक शैक्षिक संस्थाबाट अर्को शैक्षिक संस्थामा जान चाहने विद्यार्थीको योग्यता निर्धारणको विधि र प्रकृया निर्धारण गर्ने समेत जिम्मेवारी पाएको थियो ।  केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले औपचारिक/अनौपचारिक जुन रुपमा शिक्षा हासिल गरेको भए पनि हासिल गरेको योग्यताको स्तर निर्धारणको लागि उक्त प्रारुप तयारीको काम थालेको जानकारी दिए ।

‘कुनै बच्चा विद्यालयको परीक्षा पास भएर कक्षा ५ मा पुग्छ, तर कक्षा ५ मा पुगेको विद्यार्थीले कति सिकेको हुनुपर्छ, के के सिकेको हुनुपर्छ भन्ने कुरा न शिक्षकलाई नै थाहा छ, न त अभिभावकलाई नै’, केन्द्रका कार्यकारी निर्देशक काप्रीले भने, ‘ यसैले वर्तमान पढाइले देखाएको त्यस किसिमको अन्यौल वा शून्यता अन्त्य गर्ने उद्देश्यले राष्ट्रिय योग्यता प्रारुप तयारीको लागि छलफल सुरु गरिसकेका छौं ।’

सोही सन्दर्भमा केन्द्रका उपनिर्देशक पुष्पराज ढकालले विकसित देशहरुका पाठ्यक्रमले योग्यता पनि निर्धारण गर्ने गरी प्रारुप तयार गरिसक्दा पनि नेपालले भने त्यसको अभ्यासको क्रममा रहेको बताउँदै वाग्लेको संयोजकत्वमा गठित समितिले प्रारुपको प्रारम्भिक खाका तयार गरिसकेको जनाए ।

केन्द्रले सोही प्रारुप अन्तर्गत कक्षा १ देखि विद्यावारिधिसम्मको पढाइलाई ७ वटा तहमा विभाजन गरिसेकेको र सो विषयमा विज्ञ तथा सरोकारवालासँग छलफलको क्रम पनि सुरु गरिसकेको जनाएको छ । कार्यकारी निर्देशक काप्रीका अनुसार केन्द्रले विद्यालय तह र उच्च शिक्षाका लागि छुट्टाछुट्टै तह प्रस्ताव गरेको छ । प्रस्तावित तहअनुसार विद्यालय तहमा ५ र उच्च शिक्षामा ४ तह बनाइएको छ । विद्यालय तहअन्तर्गत कक्षा १ देखि ३ सम्म, कक्षा ४ र ५, कक्षा ६ र ८, कक्षा ९ र १० कक्षा ११ र १२ तथा उच्च शिक्षातर्फ भने स्नातक तह, स्नातकोत्तर तह, एमफिल तह र विद्यावारिधि तह निर्धारण गरिएको छ ।
उक्त योग्यता प्रारुप आलू आर्थिक वर्षको अन्तिम सम्ममा ल्याउने गरी तयारी थालिएको जनाउँदै केन्द्रले प्रारुप आइसकेपछि कुनै तह पार गरेको विद्यार्थीले यति सिकेको छ भन्ने कुरा निश्चित गर्न सकिने उल्लेख गरेको छ ।

शिक्षा मन्त्रालयले शिक्षाविद् वाग्लेको संयोजकत्वमा गठन गरेको समितिमा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् र उच्च माध्यामिक शिक्षा परिषद्का सदस्य सचिव, पाठ्यक्रम विकास केन्द्रका प्रमुख, विभिन्न विश्वविद्यालयका शिक्षा शास्त्र संकायका प्रमुख सहित नौ जना सदस्य छन् । आफ्नो कार्यविधि आफैं बनाउने र अवधि समेत आफैं तोक्ने गरि समिति गठन गरिएको हो ।

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्मा पढेका वा विद्यालय शिक्षा पढेकालाई एक अर्कामा कसरी समायोजन गर्ने, अनौपचारिक शिक्षा पढेकालाई औपचारिक शिक्षाको प्रणालीले कसरी सम्बोधन गर्ने जस्ता विषयमा समेत समितिले अध्ययन गर्ने जनाईएको थियो । समितिले एक विश्वविद्यालयबाट अर्को विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शिक्षा मन्त्रालयको प्रणालीले कसरी ब्यवस्थापन गर्ने जस्ता विषयलाई नीतिगत रुपमा स्पष्ट पार्ने जिम्मेवारी पाएको छ ।