Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

झोलुङ्गे पुल नहुँदा सयौं थुङ्गा...को साटो जन, गण, मन...

बुधबार, २७ पुस २०७३

हौसलपुर (कैलाली) - एक ठाउँमा जम्मा भएका बालबालिकाहरु सामूहिक रुपमा राष्ट्रिय गान गुनगुनाए । ‘जन, गण, मन अधिनायक जय हे, ...।’ भारतको यो राष्ट्रिय गान भारतीय बालबालिकाले गाएका होईनन् । न त, भारतमा गाइएको हो । जिल्लाको विकट गाविस रतनपुर–९, हौसलपुरका बालबालिका यो गीत गुनगुनाउँछन् ।

आफ्नो गाउँमा विद्यालय नहुँदा ‘सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली...’ राष्ट्रिय गान गाउन त के, उनीहरुले सुनेका पनि छैनन् । नेपाली, बोल्न र बुझ्न सक्दैनन् । बालबालिकाहरुसंग भलाकुसारी गर्न खोजेका कैलालीका सञ्चारकर्मी त्यति बेला छक्क परे – जब नेपाली नबुझेको भन्दै बालबालिकाले हिन्दी भाषामा कुरा गर्न आग्रह गरे ।

गाउँमै भेटिएकी दुर्गा चौधरी भारतको सरस्वती शिक्षा मन्दिर कक्षा ५ मा अध्ययनरत छिन् । कुराकानी गर्न खोज्दा उनले नेपाली बोल्न र बुझ्न नसकेको इसारा गरिन् । राष्ट्रिय गान सुनाउन भनिएपछि उनले भारतको राष्ट्रिय गान गाइन् ।

आफ्नै मुलुकको भाषामा शिक्षा लिनबाट वञ्चित हौसलपुरका बालबालिका नेपाली भाषामा शिक्षा नपाएकै कारण हिन्दी सिक्न र बोल्न बाध्य भएका हुन । गाउँ तथा पायक पर्ने स्थानमा विद्यालय नहुँदा यो गाउँका अभिभावकहरुले भारतको विद्यालयमा बालबालिका पढाइरहेका छन् ।

नजिकै रहेको भारतको लखिमपुर खिरी स्थित बेलापरसुवा गाउँको विद्यालय तथा कलेजमा हौसलपुरका बालबालिका पढिरहेका छन् । गाउँमा विद्यालय नभएका कारण बाध्य भएर भारतको विद्यालयमा बालबालिका पठाएको शोभा चौधरीले बताइन् । ‘भारतमा बालबालिका पढाउनु हाम्रो रहर नभइ बाध्यता हो’, उनले भनिन्–‘हाम्रो यहाँ विद्यालय छैन । नभएपछि भारतको विद्यालय पठाएका हौं ।’

मुलुकमा ठूला–ठूला परिवर्तन भइसकेको छ । गणतन्त्र, लोकतन्त्र हुँदै नयाँ संविधान समेत आइसकेको छ । तर, हौसलपुरबासी परिवर्तनको अनुभूति गर्न सकेका छैनन् । पञ्चायतकालिन अवस्थामा गाउँको जे अवस्था थियो । अहिले पनि सोही अवस्थाबाट उनीहरु गुज्रिरहेकन छन् ।  

नेपाली भाषाको माया लागे पनि भारतमै पढेका र हिन्दी बोलेका कारण हिन्दीमात्रै बुझ्ने र बोल्ने गरेको शिक्षक समेत रहेका श्याम नारायण चौधरीले बताए । ‘नेपाली भाषा सिक्ने र बोल्ने रहर छ’ उनले भने ‘ भारतमा पढेकाले नेपाली बुझ्न सकिन्न ।’

गाउँमा विद्यालय र नेपाली भाषाको शिक्षक भएमा सजिलो हुने उनको भनाइ छ ।  गाउँका बालबालिकाहरु सरस्वति शिक्षा मन्दिर तथा राजकीय आश्रम कलेजमा पढ्न जान्छन् । सरस्वति शिक्षा मन्दिरमा प्राथमिक र राजकीय आश्रममा इन्टरसम्मको पढाई हुने गरेको छ । इन्टरभन्दा माथि पढ्न चाहेकाहरु बिलरायाँ, लखिमपुर पुग्ने गरेको जुगराम चौधरीले बताए । ‘गाउँमै विद्यालय भएमा हाम्रो बालबालिकालाई समेत सजिलो हुने थियो’, उनले भने–‘मेरो जेठो छोरा निरुन पनि राजकीय आश्रममा पढिरहेको छ ।’ पाँच कक्षा पढिसकेपछि विद्यार्थीले विद्यालय छोड्ने क्रम पनि रहेको चौधरीले जानकारी दिए ।

२३ घरधुरी रहेको हौसलपुरमा ५० भन्दा बढी बालबालिका रहेका छन् । ती सबैको शिक्षादीक्षा भारतीय विद्यालयमा निर्भर छ । मोहना नदीको पारीका बस्ती भएकाले उताका बालबालिका अध्ययनका लागि यता आउन सकेका छैनन् ।

वर्षायाममा नदीमा आवतजावत बन्द हुने र बाटोको समेत समस्या रहेकाले हौसलपुरका बालबालिका आफ्नो मुलुकका विद्यालयमा पढ्न नपाएका हुन् । रतनपुर गाविसका सचिव सन्तोषकुमार चौधरीले मोहना नदीमा झोलुङ्गे पुल बनाउन सकिएमा हौसलपुरका बालबालिकाहरुलाई अध्ययनका लागि यता ल्याउन सकिने बताए ।

‘एउटा झोलुङ्गे पुलमात्रै बनाउन सकिए पनि धेरै सजिलो हुन्छ’, उनले भने–‘हाम्रो गाविसको बजेटले पुल सम्भव नरहेकाले पहल गरि दिनका लागि म जिल्ला प्रमुखहरुलाई आग्रह गर्दछु ।’

पहिलो पटक हौसलपुर पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले गाउँको अवस्था कहाली लाग्दो रहेको बताए । उनले कम विद्यार्थी रहेका कारण गाउँमा विद्यालय सञ्चालन गर्न तथा विद्यार्थीलाई अन्य विद्यालयमा लान सक्ने अवस्था नरहेको बताए । यद्यपि, मोहना नदीमा झोलुङ्गे पुल बनेमा केहि हद्सम्म सजिलो हुन सक्ने उनको भनाइ थियो । ‘विद्यालय, खानेपानी, सडक, झोलुङ्गे पुल, बत्ती लगायतको समस्या छ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने–‘सरोकारवाला निकायको ध्यानाकार्षणका लागि म पहल गर्नेछु । तपाई गाउँबासीले पनि झक्झक्याउनु होला ।’

फोटो : भारतको विद्यालयमा अध्ययनरत हौसलपुरका बालबालिका ।  

प्रतिक्रिया