Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

सुरसार नै छैन रङ्गीन पाठ्यपुस्तक छाप्ने

विहीबार, २८ पुस २०७३

काठमाडौं २८ पुस/नयाँ शैक्षिक सत्र सुरु हुन झण्डै तीन महिनामात्र बाँकी छ तर सार्वजनिक विद्यालयमा अध्ययन गर्ने कक्षा १ र २ का विद्यार्थीको पाठ्यपुस्तक छाप्ने सुरसार अझै हुन सकेको छैन ।
आगामी शैक्षिक सत्रबाट कक्षा १ र २ मा अध्ययन गर्ने विद्यार्थीका लागि रङ्गीन (फोर कलर) पाठ्यपुस्तक छापेर वितरण व्यवस्थापनका लागि तयारी रहनुपर्ने बेला कुन निकायले ती पाठ्यपुस्तक छाप्ने भन्ने कुराको टुङ्गो लाग्न सकेको छैन ।  सरकारले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन रङ्गीन पाठ्यपुस्तक प्रकाशनमा ल्याउने नीतिगत निर्णय गरेको थियो ।
विद्यालय तहको पाठ्यपुस्तकको प्रकाशन गर्ने निकाय जनक शिक्षा सामग्री केन्द्रले पुस्तक प्रकाशनसम्बन्धी कुनै काम गरेको छैन भने निजी क्षेत्रबाट पनि प्रकाशनका लागि कुनै सुरसार गरिएको छैन ।  कक्षा ५ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मेवारी निजी क्षेत्रलाई समेत दिइएको छ ।  यही अवस्था रहने हो भने आगामी शैक्षिक सत्रको प्रारम्भमै कक्षा १ र २ का पाठ्यपुस्तकको अभाव भयावह हुने अनुमान गरिएको छ ।
यस विषयमा पाठ्यपुस्तक व्यवस्थापन केन्द्रीय अनुगमन समितिको बैठकमा छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन ।  समितिका सदस्य तथा अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले पाठ्यपुस्तक छपाइमा निकै विलम्ब भएको चर्चा गर्दै फास्ट ट्र्याक विधि प्रयोग गरेर प्रकाशनको काम अगाडि नबढाउने हो भने शैक्षिक सत्रको सुरुमै देशभर विद्यार्थीले नयाँ पाठ्यपुस्तक नपाउने बताउनुभयो ।
नयाँ पाठ्यपुस्तक रङ्गीन प्रकाशन गर्नुपर्ने भएकाले गत वर्ष छापिएका कुनै पनि पाठ्यपुस्तक यस वर्ष प्रयोगमा ल्याउन मिल्दैन ।  यो अवस्थामा अबको समय निकै कम हुने विश्लेषण गरिएको छ ।  कक्षा १ र २ मा १५ लाख १३ हजार ५०७ विद्यार्थीका लागि ७५ लाख ६७ हजार ५३५ थान पुस्तक छपाइ गर्नुपर्ने जानकारी अधिकारीहरूले दिएका छन् ।
“निजी क्षेत्रले काम सुरु गरेका छैनन् ।  जनक शिक्षाको प्राथमिकता पनि यसमा देखिँदैन ।  यही अवस्था हुने हो भने पाठ्यपुस्तकको अभाव हुने देखिन्छ,” अभिभावक सङ्घका अध्यक्ष भण्डारीले भन्नुभयो ।  हालैको पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिको बैठकमा यस विषयमा छलफल भएको र अर्को बैठकबाट निष्कर्षमा पुग्ने कुराकानी भएको उहाँको भनाइ छ ।
जनक शिक्षाका निर्देशक कपिल पोख्रेलले आफूहरूसँग कक्षा १ र २ का गत वर्षकै बाँकी रहेको तर यसपटक रङ्गीन पुस्तक छाप्ने काम सुरु नगरिएको बताउनुभयो ।  “कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक छपाइ झण्डै ७० प्रतिशत पु¥याएका छौँ, त्यसपछि तल्लो तहको छाप्ने योजनामा छौँ,” उहाँले बताउनुभयो ।
पोखरेलका अनुसार कक्षा १ र २ का लागि २५ हजार सेट पाठ्यपुस्तक मात्र छपाइ गर्ने योजना जनक शिक्षाको छ ।  निजी क्षेत्रले बिक्रेतालाई धेरै कमिसन दिने र पछि आफ्ना पाठ्यपुस्तक थन्कने समस्याका कारण पाठ्यपुस्तकको छपाइमा हच्कनुपरेको जनक शिक्षाका अधिकारीहरू बताउँछन् ।
तत्काल आफूहरू ‘फोर कलर’ मेसिनको अभावका कारण पुस्तक छाप्न नसक्ने अवस्थामा रहेको उहाँको भनाइ छ तर जनक शिक्षाले आवश्यक परेको अवस्थामा वैशाखभित्र भए पनि पुस्तक छपाइ गरी देशभरका विद्यार्थीसमक्ष पु¥याउनुपर्छ भन्ने योजना अन्तर्गत ‘फोर कलर’को एक थान मेसिन खरिद गर्ने प्रक्रिया भने अगाडि बढाएको छ ।  “हामी छिट्टै ‘फोर कलर’ छाप्ने मेसिन ल्याउँछौँ, निजीले नछापेको अवस्थामा ढिलै भए पनि जनकले कक्षा १ र २ को पाठ्यपुस्तक छापेर अभाव न्यून गर्नुपर्छ भन्ने निर्देशन शिक्षा मन्त्रालयको छ, सोही अनुसार गर्छौं,” निर्देशक पोखरेलले बताउनुभयो ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले कक्षा १ र २ का लागि आवश्यक पर्ने रङ्गीन पाठ्यपुस्तक निजीले छाप्ने बताउँदै निर्धारित समयमा पुस्तक पु¥याउने दाबी गर्नुभयो ।  शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले यस विषयमा आफूले निजी व्यवसायीलाई बोलाएर छलफल गरेको र उनीहरूले पाठ्यपुस्तक छपाइ प्रारम्भ नगरेको उल्लेख गर्दै समस्या आउन सक्नेतर्फ सजग रहेको बताउनुभयो ।
निजीले यसलाई प्राथमिकता नदिएको अवस्थामा जनक शिक्षा या अन्य क–कसले छपाइ गर्न सक्छन्, उनीहरूबाट छपाएर भए पनि निर्धारित समयमै पाठ्यपुस्तक पु¥याउनु पर्छ भन्ने अभियानमा आफूहरू लागेको उहाँले जानकारी दिनुभयो ।  विभागले विद्यालय तहको पाठ्यपुस्तक छपाइको अनुगमन गर्ने जिम्मेवारी भए पनि कक्षा १ र २ को रङ्गीन पाठ्यपुस्तक छपाइ नै प्रारम्भ हुन नसकेका कारण अनुगमन गर्न नपाएको उहाँको भनाइ छ ।
गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया