Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

७ महिनादेखि बगरमा पढाइ

विहीबार, २८ पुस २०७३

काठमाडौं २८ पुस/लहँ ४ पीपलचौरस्थित जनता प्राविका विद्यार्थी ७ महिनायता खोलाको बगरमा बसेर पढ्न बाध्य छन् । गत असारको बाढीपहिरोले विद्यालय भवन बगाएपछि विद्यार्थी खुला अकाशमुनि आइपुगेका हुन् ।

बाढीले विद्यालयका दुई भवन बगाइदिएको प्रधानाध्यापक बलबहादुर रावलले बताए । खोला किनारमा विद्यार्थी राख्नुको विकल्प नभएकाले चिसो बढदा र पानी पर्दा पठनपाठन बन्द गर्ने गरिएको उनको भनाइ छ । ‘चर्को घाम लाग्दा पनि पढाइ बन्द गर्नुपर्छ,’ उनले भने, ‘पठनपाठन सञ्चालन गर्न अन्यत्र ठाउँ पनि छैन ।’ गाउँलेले बगरछेउ टहरा बनाइदिएका छन् । तर, त्यसमा सबै विद्यार्थी अटाउँदैनन् । सबै विद्यार्थी एकै ठाउँ राखेर पढाउनुपर्ने भएकाले हल्ला हुन्छ । बाढीले चर्पी तथा खानेपानी ट्यांकीसमेत बगाएपछि विद्यार्थीलाई शौच गर्ने स्थान र पिउने पानीको अभाव रहेको प्रअ रावलले जानकारी दिए । ‘बालबालिकाले जथाभावी दिसापिसाब गर्दा वातावरण दुर्गन्धित बनेको छ,’ उनले भने, ‘बगरमा वर्षामा बाढीको त्रास रहिरहन्छ ।’ उक्त विद्यालयमा ५ कक्षासम्म पढाइ हुन्छ ।
बस्ने ठाउँ नभएकाले प्राय: विद्यार्थी पढ्न आउनै छाडेका छन् । भवन अभावमा पीपलचौरका ६ दर्जनभन्दा बढी विद्यार्थी गुणस्तरीय पठनपाठनबाट वञ्चित भएको अभिभावक लक्ष्मी रावलले बताए । ‘बगरको चिसो बालुवामा बस्नुपर्दा बालबालिका बिरामी पर्ने गरेका छन्,’ उनले भने, ‘निमोनियाँ, आउँ, ज्वरो, रुघाखोकीले ग्रस्त हुन्छन् ।’ अहिले ४ र ५ कक्षाका विद्यार्थी मात्र आउने गरेका छन् । उनीहरू पनि घाम नलागे आउँदैनन् । बाढीले बगाएको विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय, अन्य संघसंस्थामा अनुरोध गर्दा कतैबाट सुनुवाइ नभएको स्थानीय बताउँछन् ।

भीमबहादुर सिँहले जाजकोटबाट कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया