Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

नियमावली नआएपछि काम टार्दै मन्त्रालय, शिक्षकको बरिष्ठताबारे परिपत्र

मंगलबार, ०४ माघ २०७३

काठमाडौं - शिक्षा ऐन लागू भएको ८ महिना भईसक्दा पनि नियमावली जारी गर्न नसकेको शिक्षा मन्त्रालयले परिपत्रले काम टार्दै आएको छ । नियमावलीमा भएको ढिलाईले शैक्षिक क्षेत्रमा अन्यौल बढ्दै गएको छ ।

पछिल्लो पटक शिक्षकको बरिष्ठताका सम्बन्धमा यस्तै अन्यौल भएको छ । उक्त अन्यौलका कारण विद्यालयहरुमा शिक्षक शिक्षक बिच को बरिष्ठ भन्ने विवाद बढ्न थालेपछि मन्त्रालयले विभाग मार्फत् जिल्ला शिक्षा कार्यालयहरुलाई परिपत्र गरेको  हो । शिक्षकको बरिष्ठताका बारेमा नियमावलीमा ब्यवस्था गरिएपनि नियमावली नै जारी हुन नसक्दा अन्यौल भएको छ । उक्त अन्यौललाई ब्यवस्थापन गर्न मन्त्रालयले प्रस्तावित नियमावलीमै गरिएको ब्यवस्थालाई परिपत्र मार्फत् कार्यान्वयन गर्न लागेको हो ।

स्विकृतिको लागि अर्थ मन्त्रालय पुगेको शिक्षा नियमावलीमा सम्वन्धित तह र श्रेणीको स्थायी नियुक्ति मितिलाई वरिष्ठता मान्ने उल्लेख गरिएको छ । यदी उक्त प्रावधान अनुसार वरिष्ठता नछुट्टिए सो भन्दा तल्लो तह वा श्रेणीको स्थायी नियुक्ति मितिका आधारमा वरिष्ठता मानिने छ । यदी यी दुवै प्रावधान अनुसार पनि वरिष्ठता नछुट्टिएमा सम्वन्धित तह र श्रेणीको अस्थायी नियुक्ति मितिलाई मान्ने र यसबाट पनि नछुट्टिएमा सम्बन्धित तह र श्रेणीको स्थायी नियुक्ति मितिको प्रावधानमा सिफारिसको योग्यताक्रम तर खुला, कार्यक्षमता मूल्याकन आन्तरिक वढुवा एउटै मितिमा भए क्रमसः कार्यदक्षता, आन्तरिक प्रतियोगिता र खुलाको क्रमका आधारमा वरिष्ठता मान्ने उल्लेख छ ।

नियमावलीमा उल्लेख भएको वरिष्ठता शब्दको साटो जेष्ठता बाहेक विभागले अहिले गरेको परिपत्रमा अरु प्रावधान जस्ताको ल्यस्तै उल्लेख गरिएको छ ।

'केही जिल्ला शिक्षा कार्यालयबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको बरिष्ठता सम्बन्धमा निर्देशन माग भई आएकोमा शिक्षा मन्त्रालयको पुष १८ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार प्रधानाध्यापक र शिक्षकहरुको बरिष्ठता कायम गरी सोही बमेजिम निमित्त भई कार्य गर्न सक्ने गरी परिपत्र गर्न निर्णय भएकोले' भन्दै विभागले सबै जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गरेको हो ।

प्रतिक्रिया