तीन ‘अ’ को दुष्चक्रमा पनि अब्बल सामुदायिक शिक्षा


त्यसबेला मेरा कुनै ठूला सपना थिएनन् न त कुनै महत्वकांक्षा नै थिए । र पनि अक्सर कक्षाकोठामा पढाइ हुँदाहुँदै मेरो दिमागमा जिज्ञासा चाँहि खुबै सल्वलाईरहन्थे ।  

आठ कक्षा पास गरेको सर्टिफिकेट च्यापेर केही जिज्ञासा र केही उत्सुकता सहित नयाँ विद्यालय गएको थिएँ । अर्थात् गाउँको विद्यालयमा केही समस्या, केही असजिला र केही असन्तुष्टिले म कक्षा नौबाट रामेछाप जिल्लाको सदरमुकाम मन्थलीस्थित तत्कालीन ‘महेन्द्रोदय उच्चमावि’ मा अध्ययनको लागि झरेको थिएँ ।

नयाँ परिवेश, नयाँ वातावरण, नयाँ शिक्षक, नयाँ साथीहरू, नयाँ कक्षाकोठा, सब कुरा नयाँ । सबै फरक । यही फरकपनामा मैले आफ्नो जिज्ञासा र उत्सुकताको जवाफ खोज्नु थियो ।
दुर्गम स्थानमा बसेर पढ्नुका केही सीमितता हुन्छन् ।

पहिलो कुरा त दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थीका आफ्नै “अग्र्यानिक” सपना हुँदैनन् । जीवनको खास लक्ष्य र उद्देश्य विना नै धेरै विद्यार्थी विद्यालय पुग्छन् । मेरो जस्तै धेरै जसोको प्लेन उडेको देख्दा पाइलट बन्ने, बिरामी भएर अस्पताल जाँदा डाक्टर बन्ने खालका सपना हुन्छन् ।

धेरैलाई आफ्नो हैसियत, अवस्था तथा सीमितताको ज्ञान हुँदैन । न त आफ्नो खुवी र क्षमताकै बारेमा पूर्ण जानकारी हुन्छ । सपनाविहीन एउटा बालकलाई पढाउन हरेक शिक्षकलाई गाह्रो र असजिलो हुन्छ । उसको अधैर्यता र असंयमतालाई शिक्षकले नियन्त्रण गर्न सक्दैनन् । दुर्गम गाउँमा पढाउने शिक्षकहरुले आफ्ना विद्यार्थीलाई कसरी नियन्त्रण र व्यवस्थापन गरिरहेका होलान् ?   

दोस्रो, दुर्गम गाउँघरका बालबालिका अभिभावकको नियन्त्रण बाहिर हुन्छन् । आफ्नो बच्चा विद्यालय गएपछि हरेक अभिभावकले आफ्नो जिम्मेवारी पूरा भएको भन्ठान्छन् । विद्यालयको ढोकासम्म पु¥याइदिने अनि आवश्यक पर्दा कापी किताब किनिदिँदा नै आफ्नो बच्चाको शिक्षा प्रतिको दायित्व पूरा भएको भन्ठान्छन् । धेरैको घरमा पढ्ने बातावरण नै हुँदैन । वातावरण भएकाको घरका बालबालिका पनि नियमित रेखदेख र नियन्त्रण भन्दा बाहिर हुन्छन् । यस्तो अवस्थामा त्यहि सानो बालकको आत्मसंयमता र आत्मनियन्त्रण सबैभन्दा महत्वपूर्ण सवाल हुन्छ । कतिपय अवस्थामा साना बालबालिका तथा विद्यार्थीले त्यहि आत्मसंयमता र आत्मनियन्त्रण पनि गुमाए भने त्यस्तो विद्यार्थीलाई व्यवस्थापन गर्न शिक्षकलाई कम्ती गाह्रो पर्दैन । दुर्गम गाउँमा रहेर सामुदायिक विद्यालयमा शिक्षण गर्ने शिक्षकहरुले यस्ता विद्यार्थीलाई कसरी व्यवस्थापन गरिरहेका होलान् ?

तेस्रो दुर्गम गाउँका विद्यालयका औषत विद्यार्थीको ध्यान पढाइ भन्दा अन्यत्रै हुन्छ । गाउँमा घाँस दाउरा, मेलापातमा व्यस्त रहन्छन् भने बजारका विद्यालयहरूमा चुलबुल, चकचक, अधैर्य खेलकुद, दौडधूप, अनावश्यक सवालहरूमा सक्रियता व्यापक हुन्छ । सपना विहिन, व्यवस्थापन गर्न कठिन अनि विद्यालयमै शैक्षिक सामानको अभावमा रुमल्लिरहेका विद्यार्थीलाई पढाउनु र उनीहरुको कलिलो मनस्थितीमा रंगिन सपना भरिदिने काम सामान्य होईन ।

दुर्गम स्थानका अधिकांश विद्यालयमा पुस्तकालय छैन । खेलकुद सामाग्री छैन । विद्यार्थीको शैक्षिक, मानसिक तथा शारिरिक विकास गर्ने कुनै सामाग्री नहुँदा नहँुदै पनि कसरी राम्रो विद्यार्र्थी उत्पादन गरिरहेका होलान् ? अस्थिर, अधैर्य, चुलबुले, अनि पढाइमा भन्दा अन्य कुरामै बढी ध्यान दिने बालबच्चालाई ती गुरुहरू र त्यो सामुदायिक विद्यालयहरुले कसरी सही बाटोमा ल्याइरहेका होलान् ?

चौथो, अभाव, अन्योल, र असहजता । दुर्गमका विद्यालयमा पढ्ने विद्यार्थी मात्र होइन शिक्षक, विद्यालयका पदाधिकारीहरू तथा अभिभावकहरू पनि यही तीन ‘अ’ को डरलाग्दो दुष्चक्रमा फसेका हुन्छन् । शिक्षकका आफ्नै किसिमका अभाव छन् । उनीहरूको अन्योलता, र असहजता उत्तिकै छन् । विद्यार्थी तथा अभिभावकहरुका पनि आफ्नै किसिमका समस्या छन् । शिक्षक, विद्यार्थी, पदाधिकारीहरू तथा अभिभावकहरू सबैलाई घुमाउन सक्ने त्यो दुष्चक्रलाई व्यवस्थापन गर्ने काम आफैँमा चानचुने होइन । झन् शिक्षकलाई चाहिँ थप गाह्रो हुन्छ । दुष्चक्रबाट आफूलाई जोगाउँदै विद्यार्थीलाई पनि त्यहाँबाट बाहिर निकाल्ने सामुदायिक विद्यालयका शिक्षकको आँट र कला सम्मान योग्य छ । दुर्गम गाउँमा बसेर स्रोत तथा साधनको पूर्णतः अभावलाई झेल्दै सामुदायिक विद्यालयका शिक्षकहरूले हजारौं विद्यार्थीलाई यो तीन अ को दुष्चक्रबाट कसरी बाहिर ल्याउन सकिरहेका छन् होला ?

यस्ता सीमितताका बाबजुद् पनि सामुदायिक विद्यालयहरुले आफ्ना विद्यार्थीलाई असल या सफल बनाएर निकाल्छन् । विद्यार्थी जस्तो होस् त्यसलाई राम्रो, लगनशील र लक्ष्य निर्धारण गर्न सहयोग गर्ने भनेको विद्यालयले नै हो, शिक्षकहरूले नै हो । शिक्षकको त्याग र विद्यालयको सिर्जनशील वातावरणले बालबालिकालाई आफ्नो लक्ष्य निर्धाारण गर्न सहयोग गर्दछ । सीमित स्रोत र साधनले कुण्ठित पार्ने प्रयास गरिरहेको विद्यार्थीमा तिनै सामुदायिक विद्यालयहरुले रंगीन सपना भरिदिईरहेका छन् ।

हो, सामुदायिक विद्यालयहरुमा स्रोत र साधनको अभाव छ । तर जति सुकै सीमित स्रोत साधन भएपनि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिमा चाहना हुने हो भने त्यहाँ भर्ना हुने विद्यार्थीलाई उनीहरुको चाहेको सपना देख्न र त्यसलाई प्राप्त गर्नको लागि सक्षम बनाउन सक्छन् । म आफैंलाई हेरेर पनि म दावि गर्न सक्छु हाम्रा सामुदायिक विद्यालयमा त्यो ल्याकत छ ।

सामुदायिक विद्यालय किताब मात्र पढाउदैन, हामी बाँचेको समाज बुझ्न सघाउँछ । नेपाली समाजको वास्तविक चित्र सामुदायिक विद्यालयमा पढ्नेले जति नजिकबाट भोग्छन् त्यो अवसर निजी विद्यालयका विद्यार्थीले पाउँदैनन् भन्दा फरक पर्दैन । अभावको बीचमा रमाउन सक्ने, अन्यौलतालाई चिर्दै अगाडी बढ्न सिक्ने, आवश्यकतालाई संघर्षपूर्ण तरिकाबाट प्राप्त गर्न सक्ने बन्ने काम सामुदायिक विद्यालयका विद्यार्थीले सिक्छन् । निजी विद्यालयका भन्दा सामुदायिक विद्यालयका उत्पादन यो समाजलाई नजिकबाट बुझ्ने, समाजका समस्या तथा अप्ठ्याराहरुलाई समाधान गर्नको लागि संघर्ष गर्न सक्ने हुन्छन् ।

एसएलसीको उत्तिर्ण प्रतिशत हेरेर सामुदायिक विद्यालयको गुणस्तरको बारेमा गरिरहेको बहस आफैमा उपयुक्त छ भन्ने मलाई लाग्दैन । सामुदायिक विद्यालयको गुणस्तर लोकसेवा आयोगको परिक्षामा उत्तिर्णको संख्यामा हेर्नुपर्छ । नेपाल प्रहरी, नेपाली सेनाले मागेका दरखास्तमा उत्तिर्णको संख्यालाई हेरेर पनि विश्लेषण गर्नुपर्छ । कक्षाको परिक्षामा धेरै अंक ल्याउने सफल हो या हरेक दिन दिने जीवनको परिक्षामा उत्तिर्ण वा विशिष्ट अंक ल्याउने सफल हो ? बाह्र कक्षा पास गरिसकेर पनि वानेश्वरबाट रत्नपार्क एक्लै सार्वजनिक बस चढेर जान नसक्ने गुणस्तरीय शिक्षा हो या हुम्लाबाट एसएलसी पास गरेर उच्च शिक्षा अध्ययनको लागि एक्लै ५ दिन हिँडेर सुर्खेत झर्ने शिक्षा गुणस्तरीय हो ? अब बहस हुनैपर्छ ।

मैले जीवनमा कहिल्यै पनि निजी विद्यालय पढ्न पाईन । तर म आज ती निजी विद्यालयमा पढेकाहरूसँग दिन दिनै हर पाइलामा प्रतिष्पर्धा गर्नुपरिरहेको छ । म जस्तै सामुदायिक विद्यालयमा अध्ययन गरेकाहरुको अवस्था उस्तै छ । अधिकाँशले निजीमै पढेका, सबै सुख सयल भोगेका, तीनवटा अ को दुष्चक्रबाट जोगिएर पढेकाहरुसँग प्रतिष्पर्धा गरिरहेका छन् । त्यहि सामुदायिक विद्यालयमा पढेकाहरु अपवाद् बाहेक सफल भईरहका छन् । सामुदायिक विद्यालयले नै धेरै विद्यार्थीलाई यस्ता दुष्चक्रबाट जोगिने वाटो सिकाएका छन् । त्यसबाट जोगिदै अघि बढ्न सकिन्छ भन्ने आँट भरिदिएका छन् । विश्वास दिएका छन् अनि ज्ञान र प्रतिष्पर्धात्मक क्षमता पनि दिएका छन् ।

वास्तवमा सामुदायिक विद्यालयमा निजी भन्दा निकै कुरामा अगाडी छन् । स्रोत तथा साधनको केहि कुरालाई छाडेर भन्ने हो भने निजी भन्दा सामुदायिक विद्यालय हरेक कुरामा अब्बल छन् । तर यहि अब्बल विद्यालयहरुलाई दलीय राजनीतिकरणले विगारेको छ । क्षमता युक्त शिक्षक छन् । तर ति शिक्षकहरु आफ्नो अब्बल क्षमता अध्ययन अध्यापनमा नभई राजनीतिमा प्रयोग गरिरहेका छन् । विद्यालयलाई दलीय राजनीतिकरणबाट बाहिर ल्याउने हो र विद्यालयलाई विद्यालयकै रुपमा व्यवहार गर्ने हो अनि स्रोत साधनको वृद्धि गर्ने हो भने सामुदायिक विद्यालय निजी भन्दा निकै अब्बल छन् ।

(घिमिरे समाजशास्त्री हुन्)

dipesh.ghimire33@gmail.com