Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

शिक्षा मन्त्रीको चाहना विपरित प्रधानमन्त्रीले गरे नियुक्ति

शुक्रबार, ०७ माघ २०७३

काठमाडौं - शिक्षा मन्त्री धनिराम पौडेलको चाहना विपरित काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा फेरी रामकण्ठ मकाजु नै नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहालले यस अघिका उपकुलपति माकाजुलाई नै पुनः नियुक्त गरेका हुन् ।

'मन्त्रीले त जनार्दन लामिछानेलाई बनाउन चाहनु भएको थियो, तर प्रधानमन्त्रीबाट फेरी मकाजुलाईनै नियुक्ति गरिएको जानकारी पायौं' नियुक्ति प्रति मन्त्रीको आपत्ति नरहेको दावि गर्दै मन्त्री निकट श्रोतले  भन्यो, 'माथिबाटै भएपछि आपत्ति गर्नुको अर्थ पनि भएन गर्नु उचित पनि भएन ।'

मन्त्रीको रोजाईमा रहेका लामिछाने बायोटेक्नोलोजी विभागका प्रमुख हुन् ।

लामो विवाद र रस्साकस्सि पछि खाली भएको ४० औं दिनमा शुक्रबार काठमाडौं विश्वविद्यालयले बल्ल उपकुलपति पाएको छ ।

माकाजुको चारवर्षे कार्यकाल गत मंसिर २६ मा सकिएको थियो । उनको अवधि सकिनुअघि नै उपकुलपति नियुक्त गरिसक्नु पर्ने भएपनि प्रधानमन्त्री एवं कुलपति दाहालले आफू अनुकूल व्यक्तिको खोजि गर्दा ढिलाई भएको भन्दै आलोचना हुँदै आएको थियो ।

उपकुलपति चयन गर्न शिक्षामन्त्री धनिराम पौडेल, पूर्व उपकुलपति समेत रहेका सिनेट सदस्य सुरेशराज शर्मा र दमननाथ ढुंगानालाई जिम्मेवारी तोकिए पनि सिफारिसमा एक मत हुन नसक्दा पाँच जनाको नाम सिफारिस गरिएको थियो । समितिले पूर्व उपकुलपति मकाजूसहित पूर्व रजिष्ट्रार भक्तमान तुलाधर, रजिष्ट्रार एवं कार्यवाहक उपकुलपति भोला थापा, पूर्व डिन मनप्रसाद वाग्ले र लामिछानेको नाम सिफारिस गरेको थियो ।

विश्वविद्यालय ऐनमा उपकुलपतिका लागि एक जना मात्रै नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, मन्त्री पौडेलले लामिछानेको नाममा अड्डि लिएपछि शर्मा र ढुंगानाले पनि आआफ्ना निकटका ब्यक्तिको नाम थप्दा ५ जना पुगेका थिए ।

प्रतिक्रिया