Edukhabar
मंगलबार, ११ बैशाख २०८१
अन्तैवाट

२४ विद्यार्थी मारिएपछि विद्यालयलाई कारबाही

शनिबार, ०८ माघ २०७३

काठमाडौं ८ माघ/भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बिहीबार बिहान विद्यालयको बस र बालुवा बोकेको ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा २४ बालबालिकाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

घटनामा परी जेएस पब्लिक स्कुलका केही बालबालिका घाइते भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । मृत्यु हुनेमा बसका चालकसमेत रहेका छन् ।

भारतका विभिन्न राज्यमा शीत लहरका कारण चिसो बढेको छ । सरकारले विद्यार्थी विरामी हुने भन्दै स्कुल बन्द गर्न आदेश दिएको छ । उत्तर प्रदेशमा सरकारले २० तारिखसम्म स्कुल बन्द गर्न सूचना जारी गरेको थियो । सरकारी आदेशको अवज्ञा गर्दै स्कुल खोलेको र दुर्घटनामा विद्यार्थी मारिएपछि प्रहरीले स्कुल सञ्चालकविरुद्ध उजुरी दर्ता गरिएको छ ।

यसैगरी जिल्लाका प्रमुखले शिक्षा विभागसँग यस्ता विद्यालयको मान्यता खारेज गर्नुपर्ने बताएका छन् । उच्च गतिमा रहेको ट्रक बससँग ठोक्किँदा भएको यस घटनामा परी दुई दर्जनभन्दा बढी बालबालिका घाइते भएको राज्यका वरिष्ठ प्रहरी अधिकारी जाभेद अहमेदले जानकारी दिएका छन् ।

प्रहरी अधिकारी दलजित चौधरीका अनुसार जाडोको समयमा बिहानमा निकै बाक्लो कुहिरो लागेकाले दृश्यतामा आएको कमीले गर्दा उक्त दुर्घटना भएको हो । यस दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।

एटा सहरको एक विद्यालयमा अध्ययनरत ती बालबालिका ३ देखि १२ वर्षसम्मका रहेको बताइएको छ । भारतमा गत वर्ष मात्रै झण्डै एक लाख ५० हजार जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । दैनिक चार सयको मृत्यु हुने गरेको सडक यातायात तथा राजमार्ग मन्त्रालयले जनाएको छ ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया