Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

ताराबाजी लै लै

शनिबार, ०८ माघ २०७३

- आहुति, समाजशास्त्रीय अध्ययन, राजनीति त्यो भन्दा पनि मुख्य कुरा पहिचानको मुद्धामा कृयाशिल छन् । कवि/उपन्यासकार तथा लेखक आहुतिका सृजना परिवर्तन र क्रान्तिको परिचय हुन् । ‘गहुँगोरो अफ्रिका’ कविता संग्रह, नयाँ घर, स्खलन लगायत उपन्यास तथा दलन टेलिशृङ्खला आहुति भन्नासाथ आम पाठक दर्शकको आँखामा आउने चित्र हुन् । यो साताको शिक्षा साहित्यमा उनकै कविता :  

‘ताराबाजी लै लै
मामा आए घोडा
माइजू आइन् डोली
पापा ल्याइन् सोली
बुबुमाम सुप्रुक्क ….।
ताराबाजी लै लै … ।’


नसुनाऊ नानी लय हालेर यो गीत
तिमी गरिब छौ, छाप्रोमा जन्मेका छौ
ठूला महलमा बस्नेका मामा-माइजूहरु
घोडा चढेर आउँछन्
डोली चढेर आउँछन्
कसले सिकायो तिमीलाई यो झूटो गीत ?
कसले गाउन लगायो धनीहरुको गीत ?
तिमी त गरिबको छातीको हीरा
हुनेखानेले भन्छन् ‘नालीको कीरा’
मेरो राजा !
तिमीलाई सुहाउँदैन यो गीत
मेरो प्यारो राजा !
तिमी त फोहोरमा लुटपुटिएका छौ
भोकाएका छौ
नगाऊ यो अघाएकाहरुको गीत
धौले घरलाई सुहाउने गीत ।


तिम्रो मामा गधाझैं जोतिन्छ भारी बोकेर
नभेटेर कतै जिन्दगीको सियाँल
घोडाझैं सुखको खोजीमा दौडिरहन्छ
कहाँ पाउनु उसले घोडा चढेर डुल्न ?
झन् तिमीले ‘मामा आए घोडा’ भन्दा
तिम्रो मामाको मन कसरी दुख्ला ?
तिम्रो मामाको अपमान गर्छ यो गीत
नगाऊ नानी यो झूटो गीत
अघाएकाहरुको गीत धनीहरुको गीत ।
कहाँ तिम्रो माइजू डोलीमा आउनु ?
माइजू सुत्केरी हुँदा
ओखती नपाउँदा
एक गाँस तातो भात पनि खान नपाउँदा
सुत्केरीको पाँच दिनमै दाउराको भारी बोक्नुपर्दा
बेला-बेलामा शरीरबाट रगत बग्छ
पानीको गाग्रो उचाल्दा खुट्टा धर्मराउँछ
रातो पिरो छैन अनुहार पनि, रगत नभएझैँ पहेँलो छ
पापा सोलीमा ल्याउन कहाँ सक्नु ?
कहाँ पाउनु डोलीमा चढेर डुल्न ?
झन् तिमीले ‘माइजू आइन् डोली’ भन्दा
गीतले माइजूको कलोजोमा घोच्ला
माइजूको मन कति रोला ?
तिम्री माइजूको अपमान गर्छ यो गीत
नगाऊ मेरो ज्ञानी नानी यो झूटो गीत
अघाएकोहरुको गीत
धौले घरलाइ सुहाउने गीत ।


तिमी छाप्रोमा जन्मिएका छौ
हुर्किनेछौ धुलोमा
म तिमीलाई बल गरेर दसैंमा मासु खुवाउन खोजौंला
बिरामी पर्दा औषधी खुवाउन सके
म आफूलाई धन्य ठान्नेछु
म सकेको गरौंला तिमीलाई मेरो नानी
तर आमाको काखमा बसेर, ताली ठोकेर
‘बुबुमाम सुप्रुक्क’ भनेर
मेरो यो गरिबीले चाउरिएको मुटुमा नघोच
तिमीले ताली बजाउँदा
यो छाप्रोको खिल्ली उडाएझैं लाग्छ
यो झूटो गीत
धौले घरको गीत
अघाएकाहरुको गीत
किन गाउनु हामी भोकाएकाहरुले ?
किन गाउनु हामी गरिबहरुले ?

प्रतिक्रिया