Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

पियनले चलाउँछिन् कक्षा

आइतबार, ०९ माघ २०७३

काठमाडौं ९ माघ/कावासोती १५ शेरगन्जस्थित माझी प्राविमा शिक्षक अभावले सहयोगी (पियन) ले समेत कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । विद्यालय सहयोगी मनमाया माझी बालबालिकाका लागि दिवा खाजा मात्र तयार पार्दिनन्, शिशु र कक्षा १ लाई पढाउने जिम्मेवारीसमेत वहन गर्छिन् । त्यसै खाली बस्नुभन्दा आफूले जानेका कुरा पढाउने गरेको उनले बताइन् ।

‘राहत दरबन्दी एक जना र बालविकासतर्फको एक जना गरी दुई जना शिक्षिका मात्र विद्यालयमा छौं,’ प्रधानाध्यापक रामकुमारी मर्दनियाले भनिन्, ‘पियनले पनि कक्षा सञ्चालन गर्नुहुन्छ ।’ अहिले विद्यालयमा ६० छात्रछात्रा अध्ययनरत छन् । जसमध्ये तीन जनाबाहेक अन्य सबै विद्यार्थी माझी, मुसहर समुदायका हुन् । शिक्षक दरबन्दी नहुँदा अध्यापनमा निकै समस्या छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तबहादुर माझीका अनुसार गरिब तथा विपन्न अभिभावक भएकाले शुल्क उठाउन नसक्दा निजी स्रोतमा शिक्षक राख्ने अवस्था छैन । सहयोगीले बालविकास कक्षाका विद्यार्थीका लागि खाजा बनाउने समयमा कक्षा खाली रहन्छ । विद्यालयका प्रधानाध्यापक व्यवस्थापकीय कार्यले विद्यालय बाहिर जानुपर्ने वा कुनै शिक्षक बिदामा बस्नुपर्दा पढाइ नै बन्द गर्नुपर्ने अवस्था छ । विद्यालयको भौतिक अवस्था सुधारका लागि शिक्षा कार्यालय, माझी मुसहर बाटो कल्याण सेवा समिति, दिगो गाउँ समितिलगायत संस्थाले सहयोग गरे पनि विद्यालयमा आवश्यक दरबन्दी, भौतिक संरचनासमेत पर्याप्त नहुँदा पढाइमा असर परेको छ ।
विद्यालयको अवस्थाका बारेमा जानकार भए पनि तत्काल थप दरबन्दी पठाउन सक्ने अवस्था नरहेको जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले बताए । उनका अनुसार व्यवस्थापकीय हिसाबले अहिले थप दरबन्दी पठाउन सक्ने अवस्थामा कार्यालय छैन ।
माझी मुसहर समुदायका बालबालिका मात्रै अध्ययन गर्ने उक्त विद्यालयमा स्थानीय समुदायले निजी स्रोतमा शिक्षक थप गर्न सक्ने अवस्था पनि नभएको दुखेसो पोखे । नियमित कक्षा सञ्चालन नहुँदा विद्यार्थीको संख्या घटिरहेको छ ।

नवीन पौडेलले नवलपरासीबाट कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया