Edukhabar
विहीबार, १३ बैशाख २०८१
विचार / विमर्श

नत्र भने, विद्यालय भुत घर र शिक्षकहरु भुत भईरहन्छन्

शुक्रबार, २१ माघ २०७३

तीन महिना अघि एडुखबरमा प्रकाशित देवीराम आचार्यको, विद्यालयहरु भुत घर र शिक्षक भुत शिर्षकको आलेखले बहसका लागि गम्भिर मुद्धा सृजना गरेको छ । उक्त लेख अधिकाँश बालबालिका विद्यालय आउन मान्दैनन् र यसो हुनुको कारणका बारेमा केन्द्रित छ ।

यो सन्दर्भ सँगै प्रश्न उब्जिएको छ – के शिक्षक उनीहरुलाई डर देखाउने भुत हो ? विद्यालय भुत  घर हो ?

यो आलेख सोही सन्दर्भमा केन्द्रित भएर तयार गरिएको छ ।

हिजोआज विद्यालय आउन नमान्ने त्यही बालक हो, जो अघिल्लो वर्ष देखि दाजु दिदीसँग विद्यालय जान पाइन भनेर रुने कराउने गथ्र्यो । उ पहिलो दिन विद्यालय जान पाउँदा लङ्का जितेको जस्तो फुर्ती देखाउँथ्यो  । उसलाई त्यति बेला सम्म विद्यालय मनपर्छ, जति बेलासम्म शिक्षकले कक्षामा पढाउँदैनन् । उसलाई केही पनि सोध्दैनन् । गृहकार्य दिदैनन् । पढ, लेख भन्दैनन् ।

जब शिक्षकले पढाएको बेलामा निस्क्रिय स्रोता बनेर सुनिराख्न पर्छ, तब उसलाई बिस्तारै पछुतो लाग्न थाल्छ ।

थुक्क किन स्कुल आएँ होला !

घरमा कति रमाइलो हुन्थ्यो ? साथीहरुसँग बगैचामा, बाटोमा खेल्दा कति रमाइलो हुन्थ्यो ? भोक लागेको बेलामा खाजा पाहिन्थ्यो । काम पनि केही गर्न पर्दैनथ्यो ।
उसको दिमागमा नजानेर यी र यस्ता कुराहरु खेल्न थाल्छन् । अर्थात् क्रमशः स्कुल तर्फ उ demotivated हुन्छ ।

कसरी लोभ्याउने विद्यार्थीलाई ?  

फलामलाई तातेकै बखत हान्नु पर्छ भने जस्तै नानी स्कुल आएको पहिलो दिनमा उसलाई कक्षाकोठामा स्वागत गर्नु पर्यो शिक्षक साथीहरुले । टीका लगाएर, फूल दिएर स्वागत गर्नुपर्यो । साथीहरु र शिक्षकसँग परिचय गराउन पर्यो । कक्षामा खेल खेलाउन पर्यो, गीत नाच गराउन पर्यो, कथा सुनाउन पर्यो ।

चर्पी जानु अघि सबै साथीहरुसँग लाइनमा बसेर जानुपर्छ भन्ने सिकाउनु पर्यो, शिक्षक आफैंले दिसापिसाब गराउन पर्यो । धारामा लगेर साबुन पानीले हात धुन सिकाउनु पर्यो, नजाने सघाउनु पर्यो ।

विद्यालको वरिपरी घुमाएर विद्यालयको वातावरणसित परिचय गराउन पर्यो । कक्षामा आफुसँगै वरिपरी राखेर वैठक गराउन पर्यो । र नानीहरुसँग अनौपचारिक रुपमा कुराकानी गर्नुपर्यो । शैक्षिक सत्रको शुरुमै उनीहरुलाई हामी सुरक्षित छौं भन्ने अनुभुत गराउन पर्यो शिक्षकले । 

शैक्षिकसत्र शुरुको हप्ता दस दिनसम्म बालबालिकाहरुलाई मनपर्ने यस्तै गतिविधिहरु सञ्चालन गरेर राम्रो छाप पार्नुपर्यो । यही समयमा शिक्षक विद्यार्थीले पालना गर्नुपर्ने नियम बनाउन पर्यो । जस्तै : सधै स्कुल आउने, शिक्षक विद्यार्थी मिलेर पढ्ने, खेल्ने आदि । यस्ता कुराले उनीहरुलाई जिम्मेवार बनाउँछ । शिक्षक प्रतिको उनीहरुको हेराइ सकारात्मक रहन्छ । यही अवधिमा यिनै कक्षाका अभिभावकहरुलाई बोलाएर कक्षाकोठामा बैठक बसाल्नु पर्यो । शिक्षकले अपेक्षा गर्नुभएका कुराहरु सोझै अभिभावसँग राख्नुपर्यो ।

शिक्षकले बोलाएको बखत पत्येक महिना कक्षामा आउने । शिक्षकले भने अनुसार नानीहरुलाई घरमा सहयोग गर्ने । नानीहरुको प्रगती समिक्षा गर्ने आदि जस्ता कुराहरुमा अभिभावहरुको प्रतिवद्धता गराउन पर्यो ।
यि त भए सबै बाह्य वातावरण । शिक्षकका यस्ता क्रियाकलापहरुले विद्यार्थीलाई विद्यालय पनि आफूलाई मन पर्ने ठाउँ जस्तै हो रैछ भन्ने अनुभुत गराउँछ । शिक्षकहरु पनि आफूलाई मन पर्ने आफन्त जस्तै पो हुँदा रहेछन् भन्ने लाग्छ ।

शिक्षकले हामीलाई मायाँ गर्नुहुन्छ, नजिकै बोलाएर सिकाउनुहुन्छ, कस्तो मिठो गरी सुस्तरी बोल्नुहुन्छ भन्ने भाव पर्ने वित्तिकै धेरै समस्या समाधान भै हाल्छ । यि र यस्ता व्यबहार र क्रियाकलापहरुलाई निरन्तरता दिन सकेमा विद्यार्थी स्कुल जान नमान्ने हुँदैनन् भन्ने मेरो ठम्याइ रहेको छ ।

अब, पठन र सिकाइका कुरा

एक्लै पढ््ने र लेख्ने कुरा बालबालिकाहरुका लागि बोझिलो हुन्छ । उनीहरुलाई चुनौतिपूर्ण क्रियाकलापहरुमा सहभागी गराउनुपर्छ । जस्तै : विद्यार्थीलाई गोलो घेरामा बसाएर एउटा अक्षर वा शब्द पत्ती सबैले हातमा लिएर देखाउँदै भन्न लगाउने । यसो गर्दा सबैले गरेको क्रियाकलाप उसलाई पनि गर्न कुनै अप्ठ्यारो लाग्दैन । कुनै अक्षरमा रङ्ग भर्ने । हातको औंलाले हावामा अक्षर लेख्ने । खुट्टाले भुइँमा अक्षर लेख्ने ।  पत्तीमा उनीहरुले रङग लगाएका अक्षरहरु धागोमा उनेर कक्षामा टङ्ग्याउने । सबैलाई लाइनमा हिँडाएर पढ्न लगाउने । यस्ता थुप्रै क्रियाकलापहरु छन् । जसले विद्यार्थीलाई रमाइ रमाइ सिक्ने अवसर दिन्छ । यस्ता क्रियाकलापमा सहभागी भएर उनी थाक्दैनन् । बरु फेरी फेरी गर्न मनपराउँछन् ।

साना कक्षाहरुमा कक्षा शिक्षक अनिवार्य हुन्छ । बरु विद्यार्थी थोरै भएका स्कुलहरुमा दुइओटा कक्षाका विद्यार्थीलाई एउटा कक्षामा राखेर क्रियाकलाप गराउन सकिन्छ । कक्षा शिक्षकले हप्तामा एकपटक कक्षा बैठक गराउन जरुरी हुन्छ । बैठक बालबालिकाका लागि अनौपचारिक कुराकानी हो । यो बैठकमा शिक्षकले विद्यार्थीले प्रतिबद्धता गरेका व्यबहारहरु पुन स्मरण गराउने हो । विद्यार्थीलाई आफुले गरेका कुराहरु निर्धक्क भन्ने अवसर दिनु हो । अनौपचारिक बसाइले बालबालिकालाई सुरक्षित महशुश गराउँछ । आफ्ना कुरा निर्धक्क राख्न सक्ने बनाउँछ ।

आफ्नै घरका नानीहरुलाई सम्झनुस त । उनीहरुले तपाइसँग कसरी घुर्की लगाउँछन् । किन मलाइ यस्तो गर्नुभाको त ? भन्छन् नि, होइन र ?

किन भन्न सके त्यसरी ? तपाइसँग नजिक भएर । अनौपचारिक वातावरण भएर । तपाइसँग उ सुरक्षित भएर । यो कुरा हामी शिक्षक र शिक्षाकर्मीहरुले सम्झनै पर्ने कुरा हो । त्यसैले कक्षामा तपाइ सबै बालबालिकाहरुसँग नजिक हुनुस् । सबैलाइ समान व्यबहार गराउनुस् । सबैलाई कक्षा क्रियाकलापमा सहभागी गराउनुस् । प्रत्येक बालबालिकालाई म शिक्षकसँग सुरक्षित छु भन्ने महशुश गराउनै पर्छ । जबसम्म बालबालिकाले विद्यालय र शिक्षकसँग आफु सुरक्षित भएको महशुस गर्दैन तबसम्म उसका लागि विद्यालय भुत घर हुन्छ, शिक्षकहरु भुत जस्तै हुन्छन् ।

अस्तु  !

[email protected]
लौडारी, तालिम तथा सामाग्री विकास विषेशज्ञका रुपमा कार्यरत छन् ।

प्रतिक्रिया