Edukhabar
विहीबार, १३ बैशाख २०८१
विचार / विमर्श

किताब

शनिबार, २२ माघ २०७३

विक्रम सुब्बा साहित्यकार त हुन् नै यत्तिले मात्रै उनको परिचय पुरा हुँदैन । विकास सम्बन्धी तालीम र भाषा सम्बन्धी अनुसन्धानमा पनि सम्मिलित सुब्बासँग विदेशीलाई भाषा सिकाएको लामो अनुभव छ । २००९ साल पुस २० गते पाँचथरको फिदिम ६, वोदिनमा नरेन्द्रबहादुर इङ्वाबा र यनहाङ्मा नेम्बाङका एक्ला छोरा डिल्लीविक्रम इङ्वाबा साहित्यमा विक्रम सुब्बाले परिचित भए ।  बेलायतबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका सुब्बाका ‘शान्तिको खोजमा’ (खण्डकाव्य), ‘कविको आँखा कविताको भाका’ (कवितासंग्रह), ‘सगरमाथा नाङ्गै देखिन्छ’ (कवितासंग्रह), ’सुम्निमा पारुहाङ’ (मुन्धुम काव्य), ‘कन्साइस लिम्बू ग्रामर एन्ड डिक्स्नरी’, ‘विक्रम सुब्बाका कविता र गीतहरू’, ‘निरंकुस जुँगाविरुद्ध’ लगायतका कृति प्रकाशित छन् । यो साताको शिक्षा साहित्यमा उनकै कविता : किताब

लेखिँदैछ अब एउटा नयाँ किताब
मानिसहरू भन्दैछन् –
किताबको कुनै पनि अध्यायमा
राजाका जुँगावाला टोपीले शिर उठाउने छैन
रानीका कुटील मुस्कान कतै पोतिने छैन
युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन
युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहि¥याइने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि खण्डमा
पार्टीका अड्डाहरू
भाडाका टाँगन घोडा बाँध्ने अस्तवल हुने छैन
मन्त्रालयका नयाँ कुर्सीमा
पुरानो छाँयाले जागिर खाने छैन
व्यापारीको बगैँचाका हाँगाहरूमा
व्यभिचारका सन्तानजस्तो फल फल्ने छैन
कतैबाट संचालित कुनै सिल्लीहरूले
संसदको माइकबाट विष फुक्ने छैन
गाउँ–घर–टोलको सुरक्षाको निम्ती
कुनै बन्दुकेको राइफल भर्ति हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि दफामा
महिलाका उज्याला आँखा थुन्ने आँशु हुने छैन
रैथाने मानिसको किपटका पर्खालबाट ढुंगाहरू थुतेर
पुराण वाचन गर्नेको आशन निर्माण हुने छैन
स्वदेश गानका ढुकढुकी चल्दा
दलितका छातीको धुनलाई विरहको पहिरोले तान्ने छैन
मधेसका निकुञ्जहरूबाट निस्किरहेका सुगन्धहरूलाई कसैले
देशद्रोही कुर्ता र अनागरिक सुरुवाल पहिर्याउने छैन
कर्णालीको नौरंगे डाँफेलाई फसाउँने इन्द्रजाल हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि हरफमा
लिम्बुवानको कञ्चनजंघामा स्वतन्त्र डुल्ने
ध्वाँसे–थ्याप्चे चितुवालाई धराप थापिने छैन
खम्बुवान–अरुणको हाक्पारालाई फसाउँने ढोडिया हुने छैन
तमुवान र मगरातलाई धसाउँने पाताले छाँगो हुने छैन
थरुहट र तामाङसालिङको निधारमा कालो वादल हुने छैन
झुप्राका छानाहरू जगल्ट्याउँने वतासको तुफान हुने छैन
खलंगातिर झरिरहेको बहुमुल्य जडीबुटी
कथाको केवल असहाय घाइते पात्र हुने छैर्न
तराइका अन्न सिरिफ चण्डालका लोकगीतको गेडा हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि अनुसूचिमा
मानिसका मुटु–कलेजो भेदन गर्ने सुइरो हुने छैन
छोरी–बुहारीको अस्मितालाई मुडाझैँ चिर्ने खञ्जहर हुने छेन
किसानको खेतले विधवा बस्ने मौसम आउने छैन
मजदुरका हातहरू तुरुङ ठोक्ने शान्ति हुने छैन
विद्यार्थीका पठनपाठन रोक्ने घडि घुम्ने छैन
गायकले गीत गाउँदा कुनै हुकुमी ताल बज्ने छैन
कविहरूका अराजक उडानलाई बाँध्ने संहिता हुने छैन
स्वर्गजस्तो यो मेरो मुलुकमा
राक्षस उत्पादन गर्ने कारखाना हुने छैन
अब तिमी नै भन,
के के होला त त्यो किताबमा ?

प्रतिक्रिया