Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

शिक्षक भन्छन् : ढाँट्नु भएन, पाठयोजना चैं बनाएको छैन

सोमबार, २४ माघ २०७३

मैले माध्यमिक तह विशेष कक्षा ९ र १० लाई मात्र १७ वर्ष पढाएँ । २०६६ सालबाट उच्च मावि तहको कक्षा सुरु भएपछि कक्षा ११ लाई पनि अंग्रेजी पढाउँदै आएको छु । समयसँगै गरेको अनुभवका आधारमा मैले पाठयोजना बनाएर कक्षाकोठामा पढाएको अनुभव छैन । तर, कक्षाकोठामा जानु अघि म ‘आज कुन टपिक पढाउने, कसरी पढाउने, उनीहरुलाई कस्तो क्रियाकलाप दिने भन्ने मानसिक रुपमा भने तयार भएर जान्छु । त्यही मान्यताले मैले कक्षाकोठामा अंग्रेजी पठनपाठन गराउँदै आएको छु ।

अझ नढाँटी भन्नुपर्दा मैले पाठयोजना बनाउने गरेको छैन । यसको कारण समयको अभाव हो । दैनिक ६ वटा पिरीयड लिनुपर्छ, ती सबैको पाठयोजना बनाएर पढाउन अझ गाह्रो छ । पाठयोजना भन्ने कुरो एउटा कक्षाको मात्र बनाउने कुरा भएन । त्यही भएर पाठयोजना बनाउने गरेको छैन । तर कक्षामा छिर्नुभन्दा अघि मानसिक रुपमा तयारी गर्ने कुराहरु भने गरेको छु ।

प्रत्येक दिन कुनै पनि विषयवस्तु कसलाई, कहिले, कुन र कति समयमा किन, कसरी पढाउने, कसरी मूल्यांकन गर्ने भन्ने सुनियोजित रुपरेखालाई दैनिक पाठयोजना भन्ने गरिएको छ । यो योजना बनाउने वातावरण बनाउने हो भने, पाठयोजना सहित कक्षामा जाने हो भने ज्यादै राम्रो हुन्थ्यो, तर बनाउन भने सकेको छैन । पाठयोजना बनाउन कम्तीमा डेढ देखि दुई घण्टा समय त लाग्छ । शिक्षणलाई सिस्टमेटिक तरिकाले अघि लग्न, क्रियाककलाप गराउन पाठयोजना बनाउनुपर्छ भन्ने थाहा नभएको होइन, तर त्यही डेढ–दुई घण्टाको समय पनि नभएर पाठयोजना बनाएको भने छैन । त्यो बनाउन भने आवश्यक हो, बनाउनु पर्छ । मैले मात्र होइन, अन्य सरहरुले पनि बनाइरहनु भएको छैन ।

यसो हुनुमा समयको अभाव, झण्झट, जाँगर नहुनु जस्ता कारण हो । हाम्रो स्कुलमा चाहिने पूर्वाधार, एजुकेशनल मटेरियल्स भएर पनि हामीले पाठयोजना बनाएर पढाउन सकेका छैनौं । अनिवार्य रुपमा पाठयोजना बनाउने र त्यो लागू गर्न सके हुन्छ । यो विषयमा हामी बेलाबेलामा कुराकानी गर्छौं तर कुरैमा मात्र सीमित भइरहेको छ । पाठयोजनामा स्टुडेण्ट र टिचर एक्टिभिटिज् भनेर खुलाएको हुन्छ । पाठयोजना बनाएर पठनपाठन गराउन पाए अझ राम्रो हुन्छ । पाठयोजना नबनाउँदा टिचर अलमलिन सक्छ । टिचर नै अलमलिएपछि विद्यार्थी अलमलिनु स्वभाविकै भो । अहिलेको अवस्था यस्तै छ ।

(काभ्रेको चक्रेश्वर माविका अंग्रेजी विषय शिक्षक दाहालसँग हरिसुन्दर छुकांले गरेको कुराकानीमा आधारित ।)

प्रतिक्रिया