Edukhabar
विहीबार, १५ चैत्र २०८०
विचार / विमर्श

कविको प्रश्न : कसरी अनपढ भयौँ हामी ?

शनिबार, २९ माघ २०७३

केशव सिलवाल प्रगतिवादी कविका रुपमा चिनिन्छन् । शिक्षण पेशामा आवद्ध उनको धारिला मान्छेहरु नामक कविता संग्रह पनि प्रकाशित छ । प्रगतिवादी कवि सिलवाल कवितामा कलाविहिन जबर्जस्ती र विचारविहिनता पनि मन पराउँदैनन् । उनी कवितालाई विचार र कलाको अद्धितिय संगम मान्दछन् र सोअनुरुप नै कवितामा प्राण भर्ने काम गर्दछन् । उनै कविको कविता 'दुःखको वर्णमाला'  सातााको शिक्षा साहित्यमा :

 

 

वर्षौंदेखि घोकिरहेका छौँ
जोसुकैले पढ्न नसक्ने
यो दुःखको वर्णमाला

त्यति सहज हुँदैन
दुःखका अक्षरहरु पढ्न
बाहिरजस्तो देखिए पनि
अर्कै हुन्छन् भित्रका अक्षरहरु
हिमाल र पहाडका अक्षरहरु पढ्न
आफैँ हिमाल र पहाड बन्नुपर्छ
बगर र नदीका अक्षरहरु पढ्न
आफैँ बगर र नदी बन्नुपर्छ

के भन्छन् हँ
घामका यी अक्षरहरु
के अर्थ बोक्छन् हँ
पानीका यी बूँदहरु
कसको स्वतन्त्रताले आत्महत्या गरेको छ
आकाशको विशाल अक्षरको हाँगामा
कस्ता अक्षरहरु खोपिएका छन्
भरियाको ढाडमा
कस्ता अक्षरहरु लेखिएका छन्
आमाको छातीमा

युगौँयुगदेखि पढिरहेका छौँ
हिमालको चिसोले
गालामा खोपिएका चिसा अक्षरहरु
मधेसको समथर फाँटमा
रगत र पसिना एक गरेर
निरन्तर पढिरहेका छौँ
बाढीले थुपारेका घामका काला अक्षरहरु
नाक ठोकिने भीरहरुमा
वर्षौंदेखि पढिरहेका छौँ
अभावका आकाश छुने अक्षरहरु
यी यसरी वर्षौंदेखि पढिरहेका छौँ
भोक र तिर्खाका अक्षरहरु
कसरी अनपढ भयौँ हामी ?

वर्षौंदेखि घोकिरहेका छौँ
जोसुकैले पढ्न नसक्ने
यो दुःखको वर्णमाला
के एक निमेषमा पढ्न सकिन्छ देश ?

 

प्रतिक्रिया