Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

प्याब्सनमा दलगत प्रतिस्पर्धा, सत्ता समिकरण अनुसार नै उम्मेद्वारी

शुक्रबार, ०६ फागुन २०७३

काठमाडौं - निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) को आसन्न महाधिबेशनमा सत्ता समिकरण अनुसार नै नयाँ नेतृत्वको रस्साकस्सी शुरु भएको छ । आउँदो सोमबार काठमाडौंमा शुरु हुने १३ औं महाधिबेशनमा चुनावका लागि सत्ताधारी दल काँग्रेस र माओवादीको संयुक्त प्यानल बनेको छ भने एमालेले छुट्टै प्यानल बनाएको छ ।  

जस अनुसार सत्ताधारी दलका तर्फबाट बरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फे र एमालेको तर्फबाट टिका पुरीलाई अध्यक्षको उम्मेद्वार बनाईएको छ ।

कुनै बेला तेह्रथुम काँग्रेसका जिल्ला नेता रहेका सम्बाहाम्फे दोश्रो संविधान सभा चुनावमा पार्टिले टिकट दिने आशामा भएपनि नपाएको झोँकमा माओवादी प्रवेश गरेका हुन् ।

तत्कालिन माले देखि नै विद्यार्थी संगठन मार्फत् राजनीतिमा सकृय पुरी एमालेका प्रतिबद्ध कार्यकर्ताका रुपमा चिनिन्छन् । संखुवासभाका पुरी अहिले एमालेको शुभेच्छुक संस्थाका रुपमा रहेको बुद्धिजिवी परिषद्का मोरङ् अध्यक्ष छन् । उनले एमाले जिल्ला अध्यक्ष विनोद ढकालसँग मिलेर विराटनगरमा विद्यालय सञ्चालन गर्दै आएका छन् ।

प्याब्सनको गत महाधिबेशनमा बरिष्ठ उपाध्यक्षमा यीनै दुई जना भिडेका थिए । एमाले निकट लक्ष्यबहादुर केसी अध्यक्ष हुन सफल भएपनि सम्बाहाम्फेसँग पुरीले हारेका थिए ।

सम्बाहाम्फे समूहका तर्फबाट बरिष्ठ उपाध्यक्षमा आफू र महासचिवमा उपमहासचिव राजेन्द्र बानियाँको नाम टुङ्गिएको महासचिव डिके ढुङ्गानाले बताए ।  

बानियाँ एमाले निकट भएपनि आफ्नो प्यानलको उम्मेद्वार बनाउन सम्बाहाम्फे समुह सफल भएको छ । तर आफूहरु कुनै पनि दलगत प्रभावबाट कृयाशिल नभएको ढुङ्गाना दावी गर्छन् ।

'हामी पेशागत ब्यवसायिक समूह निर्माण गरेर प्याब्सनलाई अझै सुदृढ र समृद्ध बनाउने अभियानमा छौं' उनले भने, 'यसलाई दलगत रुपमा ब्याख्या गर्नु न्यायोचित हुँदैन ।'

यस्तै पुरीको प्यानलबाट काठमाडौंका पूर्व अध्यक्ष गोपाल आचार्य महासचिवको उम्मेद्वार भएका छन् । महासचिवको दावि गरे पनि यो समूहले आफूलाई नदिएपछि बानियाँ अन्तिम समयमा अर्को समूहमा गएका हुन् ।

पुरी समूहले बानियाँलाई बरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेको थियो । तर, बानियाँले प्याब्सनमा लामो राजनीति गर्न अहिले महासचिव ताकेका श्रोतले जनायो । अहिल्यै बरिष्ठ उपाध्यक्ष भए आगामी महाधिबेशनमा अध्यक्ष हुन पर्ने भएपनि त्यो सहज नहुने आँकलन र बरिष्ठ उपाध्यक्ष भएको मान्छे महासचिवमा झर्नु पर्ने अवस्था उचित नहुने निस्कर्ष सहित उनले अन्तिम समयमा आएर कित्ता परिवर्तन गरेको श्रोत बताउँछ ।

पुरी समूहमा बरिष्ठ उपाध्यक्ष कसलाई बनाउने टुङ्गिएको छैन । 'पुरी सरले अन्तिम समय सम्म पनि विजय सरलाई तपाई अध्यक्ष म बरिष्ठ उपाध्यक्ष भन्ने प्रस्ताव गर्नु भएको हामीले पनि थाह पाएका थियौं' आचार्यले भने, 'तर चुनावमा कतिखेर कस्को के प्रभाव पर्दो रहेछ बुझ्नै सकिएन ।'

दुवै समूहले आफूलाई पेशागत ब्यवसायिक समूहको दावी गरे पनि अध्यक्षका उम्मेद्वारको राजनीतिक पृष्ठभूमि र बाँकी उम्मेद्वार चयनमा भईरहेका आन्तरिक जोडघटाउले निजी विद्यालय सञ्चालन गर्न जुटेका दलका कार्यकर्ताहरु प्याब्सनको आवरणमा दलगत राजनीति गर्न मैदानमा उत्रिएको प्रष्ट देखिन्छ ।

शिक्षामा मनपरी ब्यापार गर्ने र राजनीतिक आवरणले त्यसलाई संरक्षण गर्ने भन्दै प्याब्सनका अगुवाहअरुलाई आरोप लाग्दै आएको छ । पछिल्लो पटक निजी विद्यालय सञ्चालकहरु संसदमै प्रतिनिधित्व गर्न पुग्नुलाई यसकै रुपमा ब्याख्या गरिन्छ ।  

राज्यले सार्वजनिक शिक्षालाई महत्व दिने तर नीति निर्माण तहमा निजी विद्यालय सञ्चालकहरुको स्वार्थ समूह पुग्न सफल भईसकेको अवस्था छ । संविधानले शिक्षा नि:शुल्क भनेको सन्दर्भ र नयाँ शिक्षा ऐन जारी भएको अवस्थामा निजी विद्यालय नियमनका लागि बन्ने निर्देशिकाहरुमा आफ्नै पार्टिबाट मन्त्री बनेको अवसरमा खुकुलो गर्न सकिने उनीहरुको ध्याउन्न छ ।

त्यसैले माओवादी निकट सम्बाहाम्फे पूर्व अध्यक्षहरुको रोजाईमा परेका हुन् । प्याब्सनमा पूर्व अध्यक्षहरुको प्रभाव ज्यादा छ । पूर्व अध्यक्ष राजेश खड्काको कार्यसमितिका महासचिव सम्बाहाम्फेलाई आफूहरुले भने अनुसार लैजान सकिने सांसद समेत रहेका पूर्व अध्यक्षहरुले  अड्कल काटेका छन् ।

प्रतिक्रिया