प्याब्सनमा तपाइँको नेतृत्व किन ? अध्यक्षका दुई उम्मेद्वारलाई प्रश्न


काठमाडौं - निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) को आसन्न १३ औं महाधिबेशनमा छुट्टा छुट्टै दुई प्यानलबाट उम्मेद्वारी घोषणा शुरु भएको छ । सोमबारबाट शुरु हुने महाधिबेशनका लागि विजय सम्बाहम्फे र टीकाराम पुरी प्यानलनै बनाएर चुनावी जोडघटाउमा लागेका छन् ।

पढ्नुहोस् : प्याब्सनमा दलगत प्रतिस्पर्धा, सत्ता समिकरण अनुसार नै उम्मेद्वारी

राजनीतिक आस्थाका आधारमा बन्दै गरेको प्यानलले शिक्षा सुधारमा परीवर्तन गर्न सक्ला त ? संविधानले शिक्षालाई नि:शुल्क र नैसर्गिक अधिकार भनेको सन्दर्भमा ब्यापारमुखि निजी शिक्षाबाट देशले के अपेक्षा गर्न सक्छ ? शिक्षाको  ब्यापारमा संलग्नहरु राज्यको नीति निर्माण तहमा पुग्न सफल हुँदा निजी शैक्षिक संस्था कसरी नियमन हुन सक्छ ? यस्ता अनगिन्ति प्रश्नको उत्तर आउँदो नेतृत्वले दिन सक्नु पर्ने छ । यहि सन्दर्भमा प्याब्सन अध्यक्षका दुई उम्मेद्वारसँग गरिएको कुराकानी :

विजय सम्बाहम्फे

- तपाइँको उम्मेद्वारी किन ?

म २०५० सालदेखि प्याब्सनको बफादार कार्यकर्ताको रुपमा निरन्तर लागिरहेको छु । गएको राष्ट्रिय महाधिवेशनमै मसँग भएको शैक्षिक दृष्टिकोणहरुलाई साझा एजेण्डा बनाएर राष्ट्रिय रुपमा लानको लागि प्याब्सनको केन्द्रीय तहमा बसेर काम गर्ने इच्छा भएको हो । अहिलेको महाधिवेशनमा त्यसको तयारीको निम्ति मसँग भएको भिजनले परिवर्तन गर्न सघाउँछ । मैले एउटा कार्यकाल वरिष्ठ उपाध्यक्ष भएर काम गर्नुपर्छ र अनुभवहरु अझ पनि लिनुपर्छ भन्ने उद्देश्यले वरिष्ठ उपाध्यक्षको रुपमा उम्मेदवारी दिएँ निर्वाचनमा भाग लिएर, कडा प्रतिस्पर्धाद्वारा निर्वाचित भएको हुँ । अहिले अहिलेको महाधिवेशनमा आउँदा खेरि अहिलेको वर्तमान केन्द्रीय अध्यक्ष हुनुहुन्छ, उहाँ हाम्रो विधानसम्मत एउटा व्यक्तिले अध्यक्ष पदमा दुई कार्यकालसम्म रहन सक्ने प्रावधान छ । त्यसले गर्दा मैले उहाँलाई सोधेँ तपाइँको विधानसम्मत एक कार्यकाल बाँकी छ । तपाँइले त्यसलाई निरन्तरता दिनुहुन्छ कि के गर्नुहुन्छ ? उहाँले स्वास्थ्य र विविध कारणले गर्दा निरन्तरता दिन सक्तिनँ, भन्नुभए पछि म वरिष्ठ उपाध्यक्ष भएको हुनाले स्वतः मेरो एउटा उम्मेदवारी दिने अधिकार पनि छ ।

साथीहरुले त्यही अनुसार बुझेका पनि छन् । त्यही अनुसारले म अघि बढिरहेको छु । केन्द्रीय अध्यक्षभन्दा मेरो अर्को बिकल्प पनि छैन । त्यसले गर्दा मेरो अन्तिम बिकल्पको लागि म लागिरहेको छु ।

- तपाइँ अध्यक्ष भएपछि नेपालको शिक्षामा के परिवर्तन हुन्छ त ?

हैन, धेरै कुराहरु समस्याको रुपमा देखापरेको छ । वास्तवमा नेपालको मात्र नभएर कुनै पनि देशको शिक्षा र स्वास्थ्य भनेको एउटा राष्ट्रको  दायित्व हो, तर राष्ट्र  केही कमजोर भएको बेला त्यहँ भएको जनताले केही सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । हामीले  त्यही काम गरिरहेका छौं । तर, अहिले भइरहेको जुन करिकुलम वेसमा काम गरिरहेका छौं, यो करिकुलमले गर्दा आधारभूत रुपमा तपाइँ हामीले सोचेजस्तो राष्ट्रलाई आवश्यकता भएको जनशक्ति उत्पादन भइरहेको छैन । अब साँच्चिकै जीवनोपयोगी, व्यावहारिक र समय सापेक्ष शिक्षा निति ल्याएर त्यही अनुसारको प्रणाली ल्याएर, यही नै स्वरोजगारीको अवसर सिर्जना गर्ने खालको जनशक्ति चाहिएको छ । त्यसको लागि केन्द्रीय प्याब्सनमा मेरो नेतृत्वमा आइसकेपछि त्यो समस्या समाधान गर्न शिक्षाविद्हरुसँगको अन्तरक्रियाबाट गुणात्मक शिक्षा लागू गर्नको निमित्त सरकारलाई सुझाव दिनेछौं र त्यही अनुसार सरकारले पनि त्यसलाई सकारात्मक रुपमा लिनलाई बाध्य बनाउने छु ।

- त्यो परिकल्पना निजी शिक्षाबाट सम्भव छ त ?

निजी शिक्षाबाट मात्र हैन, निश्चय नै एउटा साझा अवधारणा हो । कुनै पनि मुलुकको संरचना कस्तो खाले हुन्छ, राष्ट्रको संरक्षणको लागि आर्मी फोर्स हुन्छ । शान्ति सुरक्षा कायम गर्नको लागि प्रहरी हुन्छ तर तपाइँ हामी कल्पना गर्न सक्छौं  ? भोलि राष्ट्रलाई अप्ठ्यारो परेको बेला आमी फोर्सले मात्र राष्ट्रको सिमा संरक्षण गर्न सक्छन् त ? सक्तैनन् नि । तर जब त्यो देशको सम्पूर्ण नागरिकले आफ्नो दायित्व, जिम्मेवारी राष्ट्रको लागि भनेर जिम्मेवारी महशुस गर्यो भने त्यो राष्ट्रको अस्तित्व संरक्षणको निम्ति त्यो राष्ट्रको समाजले, नागरिकले मात्र सक्छ । त्यसले गर्दा तपाइँ हामीले आफ्नो दायित्व, यो देशमा गुणस्तरीय शिक्षा प्रणालीको लागि यहाँ रहेका शिक्षाविद्हरुले काम गर्नुपर्छ । अबको दश वर्षपछि यो खालको जनशक्ति आवश्यक हुन्छ भनेर जसको दिमागमा आउँछ,  त्यस्तो व्यक्तिको विचारले नै राष्ट्रको शिक्षा नीति बन्ने हुनाले त्यस्तो खालको विचार हामीले दिनुपर्छ । त्यस्तो विचारलाई नै साझा एजेण्डा बनाउन लाग्नुपर्छ । यस्तो भएपछि राज्यले निित बनाउन बाध्य हुन्छ । त्यही नीतिले अघि बढाउने हो शिक्षालाई ।

- संस्था विद्यालयहरुको, कृयाकलाप राजनीतिक ! संस्थामा राजनीति गरेर तपाइँहरुलाई के फाइदा त ?

अहिले यही राजनीति छिर्यो भनेर नै मैले नेतृत्व गर्न खोजेको हुँ । मेरो पहिलो एजेण्डा नै यो छ कि कुनै पनि राजनीतिक पार्टीको सेवा गर्ने संगठन भन्दा बढी राजनीति गर्ने थलोजस्तै गरी हुन गइरहेको भन्ने जुन आम बुझाइ छ । त्यसकै विरुद्धमा मेरो उम्मेदवारी हो । कुनै पार्टी विशेषको प्याब्सन हुनुहुँदैन । किनभने यो शैक्षिक क्षेत्रको विशुद्ध एउटा पेशागत संगठन भएकोले यसलाई सोही रुपमै राख्नुपर्छ ।

म कुनै पार्टीको बफादार कार्यकर्ताका हैसियतले हैन । भोलि मैले नेतृत्व त पाउँला तर मैले पढाएको, स्थापना गरेको विद्यालयमा एउटामात्र राजनीतिक पार्टीको विचार भएको विद्यालय बन्न सक्छ त ? सक्तैन नि । त्यो पार्टीको विचार भएको विद्यार्थी मात्रै रहन सक्छ ? सक्तैन । यसैले सबै खाले विचार बोकेको मानिसहरुको साझा फूलबारीको रुपमा, मन्दिरको रुपमा अघि बढाउनुपर्छ, संस्थालाई । यो पेशाको प्रकृति नै राजनीतिभन्दा बाहिर रहेकोले यसलाई विशुद्ध पेशागत रुपमा लानुपर्छ । यो संस्थालाई एउटा पवित्र शिक्षाको मन्दिरको रुपमा लग्नुपर्छ । त्यहाँ विशुद्ध रुपले, शैक्षिक विकासको लागि राज्यलाई सहयोग हुने खालको काम गर्नुपर्छ । भन्ने हिसाबले मेरो नेतृत्व अगाडि आइरहेको छ ।

- तपाई यस्तो कुरा गर्नु हुन्छ, उम्मेद्वारी घोषणा देखिनै प्यानल बनाउन लाग्नु भयो, महाधिवेशनमा त राजनीति छिरिसक्यो, अब प्याब्सनमा राजनीतिले दह्रै प्रभाव पार्छ भन्ने पनि छ नि ?

अहिले मैले नी त्यस्तो खालको गन्ध आइरहेको पाएको छु । हिजोसम्म मैले त्यस्तो छनक पाइँन । राष्ट्रिय नेृतृत्व गर्ने बेलामा मलाई त्यस्तो लाग्यो । यसमा कुनै साथीहरु राजनीतिक आड भरोसा, विचारमा नेतृत्वमा आएको जस्तो देखिन थाल्यो । तर बुझ्नु पर्छ प्याब्सन त ७२ जिल्लामा छ । विभिन्न विचार भएका ब्यक्तिहरु आवद्ध छन् । उनीहरुको विचारलाई त सम्मान गर्नुपर्छ ।

(महाधिवेशन प्रतिनीधि हुँदै एक कार्यकाल सदस्य, सचिव, उपाध्यक्ष र दुईपटक जिल्ला कार्यसमिति अध्यक्ष हुँदै केन्द्रीय कार्यसमितिको महासचिव र अहिले वरिष्ठ उपाध्यक्ष सम्वाहाम्फे लोयल्टी एकेडेमी मण्डिखाटार, काठमाडौंका सञ्चालक हुन् ।)

टीकाराम पुरी 

- तपाइँको उम्मेद्वारी किन ?

निजी विद्यालय मैत्री शिक्षा नीति, सबल, सुदृढ र गतिशील, समृद्ध प्याब्सनको लागि हो । यो अन्तर्गत खास गरेर स्थापनाकाल देखि उब्जेका मुद्धाहरु, पछि उब्जेका शैक्षिक मुद्धाहरु र भोलि अथवा संघीय संरचनामा जाने बेलामा वा प्रादेशिक संरचनामा जाँदाखेरीका शैक्षिक मुद्धाहरुलाई सम्बोधन गर्ने मसँग कार्यक्रमहरु छन् । ती कार्यक्रमहरुलाई लिएर म अघि बढेको परिस्थिति छ ।

सबैभन्दा पहिलो कुरो के हुन्छ भने अहिले निजी विद्यालयलाई चल्नै नसक्ने गरी संस्थागत विद्यालय सञ्चालन सम्बन्धी निर्देशिका २०६९, संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका २०७२ खारेजी गर्नुपर्छ भन्ने मेरो मुद्धा हो । अर्को ४५ प्रतिशत आरक्षित छात्रवृत्तिमा जुन विभेद गरिएको छ, । सामुदायिक विद्यालय र निजी विद्यालयका विद्यार्थीबीच एसएलसीपछिका विद्यार्थीलाई त्यसको म समान अवसर पाउनुपर्छ भन्ने विषयमा म लड्नेछु । सँगसँगै प्राविधिक शिक्षामा कक्षा ९ देखि प्राविधिक शिक्षा सामुदायिक विद्यालयमा मात्र दिएको विषयका सन्दर्भमा नीति बनाउने कार्यक्रम मसँग छ । १ प्रतिशत शिक्षा सेवा कर खारेज गराउने मेरो मुद्धा छ । त्यस्तै प्याब्सनको भवन निर्माण, विद्यालयका सञ्चालक, प्रिन्सिपल र शिक्षक कर्मचारीहरुको राहत कोषको स्थापना पनि मेरो मुद्धा हो । सँगसँगै प्याब्सनका प्रादेशिक कार्यालयहरु पनि बन्नुपर्छ भन्ने कार्यक्रम रहेको छ । प्याब्सनलाई अझ सुदृढ र सक्षम बनाउनका लागि संगठन सञ्चालन सम्बन्धी निर्देशिका बनाउने र आचारसंहिता बनाएर संगठन सुदृढ गर्ने हो । संगठनमा मेरो प्याब्सन, मेरो संगठन हो भनेर अनुभूति गराउने मेरो कार्यक्रम रहेको छ ।

- तपाइँ अध्यक्ष भइसकेपछि नेपालको शिक्षामा के कस्ता परिवर्तन हुन्छन् त ?

नोपलको  शिक्षा अहिले पनि अव्यवहारिक, अवैज्ञानिक छ , त्यसले गर्दा वैज्ञानिक र प्रयोगात्मक शिक्षा बनाउनका लागि पाठ्यक्रममा पनि सुधार गर्न प्याब्सनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ र त्यो किसिमको पाठ्यक्रम निर्माण गर्ने कार्ययोजना छ । सँगसँगै निजी विद्यालयलाई समाजमा जिम्मेवार, राष्ट्रमा सेवा दिएको छ भन्ने अनुभस्ति गराउँलै शिक्षाजस्तो पवित्र कुरा दिएको भन्ने कुराको अनुभूत गराउने कुरा पनि निजी विद्यालयहरुलाई त्यो किसिमको मूल्यांकन गराउन सरकारलाई बाध्य बनाउने पनि योजना छ ।

- तपाई कुरा शैक्षिक गर्नु हुन्छ तर, महाधिबेशनमा त राजनीति छिर्यो नी ।

राजनीति केही पनि छैन, सबै हाम्रो विद्यालयका सञ्चालकहरु छन् । राजनीतिक आस्थाका कुराहरु हुन सक्छन् । त्यो भनेको समाजमा सबै वर्गले राजनीतिक पार्टीप्रति आस्था राख्नु सामान्य हो । प्याब्सनमा कोहीले राजनीतिक पार्टीको विचार र सिद्धान्तमा समर्थन गरेर झुकाव हुन सक्छ । जति पनि प्याब्सनमा संलग्न विद्यालय सञ्चालकहरु छन्, राजनीतिक रुपमा कुनै पार्टीको झण्डा बोकेर संस्थामा आएका छैनन् । त्यो अफवाह फैलाउन गरिएको झुटो कुरा हो । प्याब्सनमा बौद्धिक व्यक्तित्वहरु छन् । राजनीतिक आक्षेप लगाएर कसैलाई पनि मुछ्नुहुन्न भन्ने मेरो मान्यता छ ।

- तपाइँहरु शिक्षामा ब्यापार गर्नु हुन्छ, अनी राज्यले नीयमन गर्न बनाएका नीति, नियम, निर्देशिकाहरु मान्दैनौ खारेज गर्छु भन्नु हुन्छ ! कस्तो प्याब्सन बनाउने ध्येय हो तपाइँको ?

सरकारले निजी विद्यालयमैत्री शैक्षिक नीति बनाउनुपर्छ । अहिलेको परिप्रेक्ष्यमा प्याब्सनले पनि मुख्य राजनीतिक दलहरुलाई कन्भिन्स गर्न सकेको अवस्था छैन, सरकारलाई पनि कन्भिन्स गर्न सकेको छैन । आफ्नो अधिकारका लागि उच्च मनोबलका साथ कार्यदिशा र कार्यक्रमका साथ प्याब्सनको लिडरसीपले त्यो कार्यक्रम लिएर अघि बढ्न नसकेको परिस्थिति भएकोले त्यो कुराको सम्बोधन नभएको हो, मेरो कार्यकालमा म सबै राजनीतिक शक्ति, पार्टी र सरकारसँग लबिङ् गरेर, निजी विद्यालयमैत्री शिक्षा नीति बनाउने मेरो दृढ संकल्प छ । वैज्ञानिक, व्यवहारिक र प्रयोगात्मक शिक्षाको लागि, २१ औं शताब्दी सुहाउँदो, विश्व परिवेशमा मेल खाने किसिमको शिक्षा नीति अवलम्बन गर्ने किसिमको कार्यक्रम सरकारलाई दिएर सरकारलाई बाध्य पारेर हामी अघि बढ्न सक्छौं ।

- संविधानले शिक्षा निशुल्क र नागरिकको नैसर्गिक अधिकार भनेर ब्यवस्था गरेको छ । यस्तो बेला निजी शिक्षालाई सरकारले प्राथमिकता दिनुपर्ने कारण चाहिँ के ?

सरकारले सञ्चालन गरेका विद्यालयले गुणस्तरीय शिक्षा नदिएको, सरकारको मात्रै ठाउँले सबैलाई शिक्षा दिन नसकेको परिपे्रक्ष्यमा निजी विद्यालयहरु खोल्नका लागि निजी स्तरका लगानीको आवश्यकता सरकारले गरेको हुनाले कानूनतः संविधानतः विद्यालयहरु स्थापना गरिएका हुन् । हाम्रा विद्यालयहरु नेपाल सरकारको अनुमति प्राप्त छन् । त्यसो भएको हुनाले संविधान, विद्यमान कानुन, ऐन, नियमावली अनुसार गरेको हुनाले हाम्रा विद्यालयहरु पनि समाजप्रति, राष्ट्रप्रति सर्मपित छन् । राष्ट्रमा शिक्षाजस्तो पवित्र कुरामा सेवा  गरिरहेका छन् । त्यसो भएको हुनाले सामुदायिक र निजीको कुरा नगारौं । जसले समाजमा सेवा दिनसक्छ, त्यसको उचित मूल्यांकन हुनुपर्छ, सम्मान हुनुपर्छ । त्यसो भएको हुनाले सामुदायिकमात्र नभएर सामुदायिक स्तरमा अथवा नेपाल सरकारले सबैलाई शिक्षा दिन नसकेको अवस्थामा हामीलाई आह्वान गरेकोेले हामीले विद्यालय सञ्चालन गरेका हौं । यो सरकारकै कार्यक्रम भएकोले यसमा दुविधाको परिस्थिति छैन ।

(प्याब्सन मोरङको सदस्य, दुईपटक सम्म निर्विरोध सचिव, दुईपटक निर्विरोध अध्यक्ष, दुई पटक प्याब्सनको पूर्वाञ्चलबाट केन्द्रीय उपाध्यक्ष पूरी एभरेष्ट उमावि, विराटनगरका  सञ्चालक हुन् ।)