Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

नीति नमान्ने एजेण्डा सहित उम्मेद्वारी घोषणा, शुल्क आफैं तोक्ने

आइतबार, ०८ फागुन २०७३

काठमाडौं - निजी विद्यालयले लिने शुल्क आफैं तोक्न पाउनु पर्ने सहितका एजेण्डा लिएर निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनको आसन्न महाधिबेशनका लागि टीकाराम पुरी समूहले उम्मेद्वारी घोषणा गरेको छ । राज्यले निर्धारण गरेका शुल्क सहितका नीति खारेज गर्दै आफैं शुल्क निर्धारण गर्न पाउनु पर्ने उक्त समुहले जिकिर गरेको छ ।

'सवल सक्षम र समृद्ध प्याब्सनको लागि प्रतिवद्ध समूह' का नाममा आईतबार आयोजित पत्रकार सम्मेलन मार्फत् विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्दै पुरी समूहले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेको हो ।

'संस्थागत विद्यालय सञ्चालन निर्देशिका २०६९ र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को पूर्ण खारेजीकोे लागि समग्र प्याब्सनलाई परिचालन गर्ने' पुरीद्धारा सार्वजनिक एजेण्डामा भनिएको छ, 'निजी लगानीमा सञ्चालित विद्यालयहरुमा आफूले दिने सेवाको शुल्क आफैं निर्धारण गर्न पाउने मान्यतालाई स्थापित गराउने ।'

राज्य र संगठन समन्वयसँग सम्बन्धित १४ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उक्त समूहले ९—१२ को संरचनामा विद्यालय सञ्चालन गर्ने सम्भावनालाई निर्मूल गरी १— १२ संरचनालाई कायम गर्ने एजेण्डा पनि अघि सारेको छ । यसैगरी उच्च शिक्षामा उपलब्ध गराइने ४५% आरक्षित छात्रवृत्तिमा संस्थागत विद्यालयसँग गरिएको विभेदलाई अन्त्य गराउने, संस्थागत विद्यालयलाई लगाईएको १ प्रतिशत शिक्षा सेवा शुल्कको अन्त्य गर्ने, विद्यालय तहको शिक्षाका लागि बन्ने जिल्ला , प्रदेश , शिक्षा विभाग , राष्ट्रिय परीक्षा बोर्ड र मन्त्रलाय स्तरमा बन्ने विभिन्न समिति र कार्यदलहरुमा प्याब्सनको संस्थागत प्रतिनिधित्व गर्ने ब्यवस्था गराउने एजेण्डा पनि अघि सारेको छ । विद्यालय स्तरीय प्राविधिक शिक्षा कार्यक्रमलाई संस्थागत विद्यालयहरुमा पनि लागू गराउन पहलगर्ने, प्याब्सन केन्द्रिय कार्यसमितिको कार्यालय भवन  निर्माण सहित प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालयहरुको आफ्नै भवन निर्माण पनि पुरी समूहको एजेडा छ ।

सदस्य विद्यायालयहरुमा जग्गा खरिद, भवन निर्माण लगायत पूर्वाधार विकासका निम्ति सफ्ट लोन को व्यवस्थाका लागि बैक तथा वित्तिय सस्थासंग समन्वय गर्ने, दैवी प्रकोप राहत तथा संस्थापक÷प्रिन्सिपलहरु सामू आइपर्ने आपात्कालिन परिस्थितिमा राहतका निम्ति राष्ट्रिय स्तरमा राहत कोष निर्माण गर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्षमा सुमन गोपाल आचार्य, महासचिवमा गोपाल आचार्य र खुल्ला उपाध्यक्षमा हीरा चन्द तथा ईश्वरबहादुर गुरुङ्को उम्मेद्वारी घोषणा गरिएको छ । यसैगरी उपत्यका उपाध्यक्षमा नवराज महत, उपमहासचिवमा कुमार घिमिरे, कोषाध्यक्षमा टंक भट्टराई, महिला सचिवमा संगिता सिलवाल र सह कोषध्यक्षमा चित्रकला सुवेदी र नवराज ओझाको उम्मेद्वारी घोषणा गरिएको छ ।
सचिव लगायत बाँकी रहेका अन्य पदका बारेमा चाँडैनै नाम टुङ्ग्याउने महासचिवका उम्मेद्वार गोपाल आचार्यले बताए ।  

शनिबार पत्रकार सम्मेलन मार्फत् नै विजय सम्बाहाम्फे समूहले पनि उम्मेद्वारी घोषणा गरेको थियो ।

पढ्नुहोस् : प्याब्सनमा चुनावी रन्को, ब्यावसायिक दावि गर्दै उम्मेद्वारी घोषणा

दुवै समूहले छुट्टा छुट्टै उम्मेद्वारी घोषणा गरेसँगै प्याब्सनको महाधिबेशनमा दलगत प्रतिस्पर्धा हुने भएको छ । पुरी समूह एमाले निकटको प्यानल हो भने सम्बाहाम्फेले काँग्रेस र माओवादी निकट प्यानल घोषणा गरेका छन् ।  

पढ्नुहोस् :  प्याब्सनमा दलगत प्रतिस्पर्धा, सत्ता समिकरण अनुसार नै उम्मेद्वारी

तर, पत्रकार सम्मेलनमा पुरीले आफूहरुको उम्मेद्वारी दलगत राजनीति भन्दा माथि रहेको दावि गरे । कुनैपनि ब्यक्तिलाई राजनीतिक सिद्धान्त अवलक्बन गर्न छुट छ, त्यही आधारमा हामी मध्ये कोही पार्टिमा पनि संलग्न हुन सक्छौं उनले भने तर उम्मेद्वारी घोषणामा कुनै पनि राजनीतिक प्रभाव छैन, हामी विद्यालय मैत्री नीति निर्माणको पक्षमा कृयाशिल हुन अघि बढेका हौं ।

संघीय संरचना अनुसार प्याब्सनलाई प्रादेशिक संरचनामा अझ मजबुत बनाउँदै नीतिहरुलाई  निजी विद्यालय मैत्री बनाउने गरी राज्यसँग लविङ् गर्ने आफ्नो प्रतिवद्धता रहेको उनको दावी छ ।

यो पनि पढ्नुहोस् : प्याब्सनमा तपाइँको नेतृत्व किन ? अध्यक्षका दुई उम्मेद्वारलाई प्रश्न

प्रतिक्रिया